दुईमहिने शिशुसहित कर्णालीमा ६० जनाले जिते कोरोना

सुर्खेत, ३० जेष्ठ ।
कर्णालीमा कोरोना संक्रमण बढ्दै जाँदा निको हुनेहरुको संख्या पनि बढ्न थालेको छ । पछिल्लो समय आइसोलेसनमा रहेका सक्रमितहरु निको भएर घर फर्किन थालेका हुन् । भरपर्दो औषधि र खोप पत्ता नलागिरहेका बेला त्रसित बनाएको कोरोनालाई जित्ने कर्णालीबासीको संख्या बढेपछि चिकित्सकहरु पनि उत्साहित बनेका छन् ।

कर्णाली प्रदेशमा बिहीवारसम्म दुई महिने शिशुसहित ६० जनाले कोरोनालाई जितेको हुन् । प्रदेश अस्पतालका अनुसार वीरेन्द्रनगरकी एक दुईमहिने शिशुले पनि कोरोनालाई जितेकी छन् । नाबालकले पनि कोरोनालाई जितेपछि थप उत्साह पैदा भएको अस्पतालले जनाएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका सबैभन्दा धेरै ३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलका अनुसार कोरोनालाई जित्नेहरुमा जुम्लाका १८ जना, दैलेखका ६ जना, सल्यानमा दुईजना र बझाङका एकजना रहेका छन् । उनीहरुमध्ये प्रदेश अस्पताल सुर्खेतमा ३८ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा १८ जना, दुल्लु अस्पतालमा तीन जना र जिल्ला अस्पताल दैलेखमा एकजना उपचारपछि घर फर्किएका हुन् ।

संक्रमणमुक्त हुनेहरुमध्ये जेठ २३ गते सुर्खेतबाट सात जना, जेठ २६ गते दैलेखबाट चार जना, जेठ २७ गते जुम्लाबाट १८ जना र बिहीबार सुर्खेतबाट एकैपटक ३१ जनाले कोरोना जितेर घर गएका हुन् । बिहीबार संक्रमणमुक्त भएकाहरु मध्ये सुर्खेतका २७ जना, सल्यानका दुई जना, दैलेख र बझाङका एकएक जना छन् ।  संक्रमणमुक्त हुनेहरुमा दुई महिने नाबालकदेखि ४९ वर्षे बृद्धसम्म छन् । कोरोनालाई जित्नेहरुको संख्या बढेको भन्दै प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काले कोरोनाविरुद्धको लडाइँ जित्न आत्मविस्वास चाहिने बताए । आत्मविस्वास र सबैको प्रयासमा कोरोनालाई जितिने उनको भनाइ छ ।

चिङ्गगाडमा खैलैबैला
कोरोना संक्रमितको विषयलाई लिएर सुर्खेतको चिङ्गाड गाउँपालिकामा खैलाबैला मच्चिएको छ । करिव तीन महिनाअघि काठमाडौंबाट ससुराली आएका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि चिङ्गाडमा खैलाबैला मच्चिएको हो । गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दकाअनुसार पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि गाउँमा त्रास छाएको छ ।

‘काठमाडौंबाट ससुराली आएका व्यक्तिमा कोरोना देखिएपछि गाउँमा खैलाबैला भएको छ, गाउँभरी नै कोरोना फैलियो कि भन्ने आशंका गरिएको छ’ चन्दले भने, ‘उनी कोरोना परीक्षण गरेर घर काठमाडौं जान खोजेका थिए, तर उनमा कोरोना देखियो ।’ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काठमाडौं २९ वर्षे ति व्यक्ति लकडाउन हुनुभन्दा अघि नै चिङ्गाड गाउँपालिका–५ मा रहेको ससुराली आएका थिए । उनी विदेशबाट आएका व्यक्ति हुन् वा संक्रमितको सम्पर्कमा थिए भनेर खोजीनीति भइरहेको गाउँपालिकाले जनाएको छ ।

कर्णालीका पहिलो संक्रमित पनि डिस्चार्ज
कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमितले पनि कोरोनालाई जितेका छन् । दैलेख घर भएका उनी बिहीबार डिस्चार्ज भएको प्रदेश अस्पतालले जनाएको छ । दैलेख आठबीसकोट नगरपालिकाका–१ सात्तलाका ३५ वर्षीय डम्मरबहादुर नेपालीलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । झण्डै २४ दिनको उपचारपछि उनी संक्रमणमुक्त भएका हुन् ।

प्रदेशका पहिलो संक्रमित उनी भारतबाट गाउँ फर्किका थिए । सिमानामा ४५ दिन रोकिएको पाइएको छ । चैत १४ गते नेपालको सिमाना (भारतको बनबासा) आइपुगेका उनी ४५ दिनसम्म त्यही रोकिएका थिए । बैशाख ३१ गतेमात्रै गाउँ फर्किएको करिव पाँच दिनपछि मात्रै उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

भारतबाट आएकाहरुको अब वर्गिकरण गरेर परीक्षण
यसबैबीच अब भारतबाट आएका नागरिकहरुको वर्गिकरण गरेर कोरोना परीक्षण गर्ने गरिने भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार भारतका संक्रमित र अन्य क्षेत्रबाट आएका नागरिकको पहिचान गरी कोरोना परीक्षण गरिने भएको हो । निर्देशक रीता भण्डारीकाअनुसार भारतका नासी, गुजरात, मुम्बई, दिल्ली, लखनउ लगायत स्थानबाट आएकाहरुको अनिवार्य पीसीआर परीक्षण गरिनेछ । तर संक्रमण नभएका ठाउँबाट आएकाहरुलाई आरडीटी रिपोर्ट पोजेटिभ आएमात्रै पीसीआर परीक्षण गरिने उनको भनाइ छ ।

त्यस्तै स्थानीय तहसँगको सहकार्यमा संक्रमणको जोखिममा हुन सक्ने दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, बालबालिकाको कोरोना परीक्षणमा विशेष सावधानी अपनाइनेछ । क्वारेन्टाइनमा बसेकाहरुलाई तनावमुक्त गराउन मनोपरामर्श दिने निर्देशनालयले जनाएको छ । कर्णालीका हाल ३० हजार ८६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

चौरजहारी अस्पतालले थाल्यो संक्रमितको उपचार
कोरोना संक्रमितलाई भर्ना लिन आनाकानी गरेको रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताल अन्नतः संक्रतिको उपचार गर्न बाध्य भएको छ । प्रदेश सरकारबाट डेढ करोड बजेट लिएर पनि संक्रमितको भर्ना नलिएपछि अस्पतालको चौतर्फी विरोध भएपछि बुधबारदेखि संक्रमितलाई उपचार गर्न बाध्य भएको हो ।
अस्पतालले बुधबार सल्यानका ११ जना कोरोना संक्रमितको उपचार सुरु गरेको अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।

प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा घोषणा गरेको अस्पतालले रुकुमका जनप्रतिनिधिको दवावमा सल्यानका कोरोना संक्रमतिलाई भर्ना लिन मानेको थिएन । जनप्रतिनिधिहरुले नै अस्पतालमा कोरोना संक्रमितको भर्ना नलिन दवाव दिएपछि युगआव्हानले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । अस्पताललाई रुकुमपश्चिम, सल्यान र जाजरकोटका कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले कोरोना विशेष अस्पतालका रुपमा तोकेको छ ।

तपाईको प्रतिक्रिया