रुकुमपश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । शुक्रबार बिहान आठविसकोट नगरपालिका वडा नम्बर ९ स्थित खहरेपिपलमा रा१ह ४८०२ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो ।
आठविसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा अटोमा सवार सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई आठविसकोट नगर अस्पतालमा ल्याइएको छ ।
घाइते हुनेहरुमा अटो चालक आठविसकोट नगरपालिका १० निवासी १९ वर्षीय दिपक खत्री, बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ४९ वर्षीय नन्दराम पुन, ४२ वर्षीय मदन कुसारी, १८ वर्षीया करुणा कुसारी र उनका ११ महिनाको छोरा तेज बिक्रम कुसारी रहेका छन् । त्यसैगरी, आठविसकोट नगरपालिका १२ निवासी १८ वर्षीया कल्पना बिक र उनकी एक वर्षीया छोरी दुर्घटनामा परेर घाइते भएका छन् ।
घाइतेहरु मध्य अटो चालक खत्री र बाँफिकोटका नन्दराम पुनको टाउको र खुट्टामा चोट लागेको छ । उनीहरुको अहिले नगर अस्पतालमा उपचार भइरहेको छ । अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ । ब्रेक फेल भएका कारण दुर्घटना भएको बताइएको छ ।
युग संवाददाता । रुकुमपश्चिम । २१ बैशाख २०८१, शुक्रबार ११:४८