सिपमुलक तालिमबाट महिलाहरु आयआर्जन जुटे

वीरेन्द्रनगर नगरपालिका–१२ की सविता सुनार । उनी अहिले ३४ वर्षकी भइन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाई छोडेर सानै उमेरमा विहे गरिन् । विवाहपछि श्रीमान् भारतमा नोकरी गर्दै घर खर्च चलाउने गरेका छन् । घरको अवस्था नाजुक भएकाले श्रीमान भारतमा नोकरी गर्न गएका छन् । गाउँमै रोजगारी नपाएपछि श्रीमान् भारतमा नोकरी गर्न गएको सुनारले बताईन् ।

सुनारका बुबाआमा पनि भारतमै रहेका छन् । बुबाआमा भारतमा भएकाले उनको जन्म पनि भारतमा भएको उनले बताईन् । २०७५ सालमा नेपालमा आएकी हुन् । उनले सम्झिन्, ‘विहे गरेको नै १६ वर्ष भएको पो रहेछ । घरको आर्थिक स्थिति पनि नाजुक थियो । मैले पनि लेवर काम गर्थे । कहिले खजुरा, कहिले देउतीवज्यै त कहिले कहाँ कहाँ । यसरी नै दिन वितेको थियो ।’

उनलाई सिप सिकेर आत्मनिर्भर बन्न त मन थियो तर पैसा तिरेर सिक्नलाई उनको आर्थिकले भ्याउदैनथ्यो । सविता एक दिन लेवरकै काम गर्न गएकी थिईन् । काम गर्दै गर्दा एक जना दाईले घरेलुमा सिलाई–कटाईको तालिम खुलेको छ । सिक्ने भए सिक्न जाउँ है भनेका थिए ।

सविता मात्र होईन लेवर काम गर्ने ३÷४ जना महिलाले फर्म लगाएका थिए । तर तालिम सिक्नको लागि आफुहरुमध्ये २ जनाको नाम आएको उनले बताईन् । उनले भनिन्, ‘अन्तर्वार्तामा धेरै डर लागेको थियो । म पढेलेखेको त होईन् । अन्तर्वार्तामा के गर्नुहुन्छ भनेर सोध्नुभयो म लेवरको काम गर्छु सर भनेकी थिए ।’

नाम आएपछि निरन्तर तालिम सिक्ने गरेको उनले बताईन् । सिप सिकेपछि पहिले घरको ऋण तिर्ने र टेलर सञ्चालन गर्ने उनको सोच रहेको छ । उनले भनिन्, ‘गाउँमै सिप सिकेर आत्मनिर्भर बन्दै व्यवसायिक बन्ने गरी सिलाई कटाई तालिम सिक्न आएकी छु ।’ सिप सिकेर व्यवसायिक बनेपछि गाउँमै रोजगारीको अवसर पाइने उनले विश्वास व्यक्त गरिन् ।

सुनार जस्तै वीरेन्द्रनगर नगरपालिका–७ की राधा कंडेल पनि सिलाई कटाई तालिममा सहभागी छन् । तालिमपछि सिलाई कटाईको व्यापार व्यवसाय गरे गाउँमै रोगजारी सिर्जना हुनेमा विश्वस्त रहेकी छन् । तालिम सञ्चालन भएपनि मेसिनमा हात बसाल्न सारै कठिनाई भएको कंडेलको भनाई रहेको छ ।

सिप सिकेपछि कुनै खेर नजाने भएकाले व्यवसायी र स्वरोजगार बन्नका लागि मेहनत र परिश्रम गर्नुपर्नेमा कंडलले जोड दिएकी छन् । सिप सिकेर व्यवसायीक रुपमा काम गर्दा मनग्य रुपमा आम्दानी हुने कंडलको भनाई रहेको छ । सुनार र कंडेल जस्तै वीरेन्द्रनगर नगरपालिका–९ की सन्तोसि मल्ल पनि सिलाई कटाई तालिममा सहभागी छन् ।

सिप सिकेर दक्षतासंगै क्षमता अभिवृद्धी गरी आत्मनिर्भर बन्न सके अरुको मुख ताकेर बस्न नहुनेमा आफु विश्वस्त रहेको मल्लको बुझाई रहेको छ । महिलाहरुले पुरुषले मात्र कमाई गर्नुपर्छ, महिलाले कुनै पनि काम गर्नु हुँदैन भन्ने सोचको अन्त्य गर्दै समाजको विकाससंगै परिवर्तन महिलाले गर्न सक्ने उदाहरणीय बन्न प्रयास गर्ने मल्लको अठोट रहेको छ ।

उनले सिप सिकेर महिलाले आर्थिक कारोबारमा दक्ष भएर लाग्न सक्ने भएको मल्लको टिप्पणी रहेको छ । महिलाहरुले समाज परिवर्तन र विकास निर्माणका कार्यमा समेत सक्रियता बढ्दै आएको प्रति मल्लले खुसी व्यक्त गरेकी छन् ।

सन्तोसि मल्लले आफुसँग ४ वर्ष संघ संस्थामा काम गरेको अनुभव रहेको समेत बताईन् । काम गरेको बानी घरमा खाली बस्न उनलाई मन लाग्थेन् । केहि सिप सिक्न पाए हुन्थ्यो जस्तो उनलाई लाग्थ्यो । घरेलुमा सिलाई–कटाई तालिम खुलेपछि र्फम भरेकी थिईन् । उनले भनिन्, ‘कहिले नगरेको भएर गाह्रो लागेको थियो । मेसिनमा धाँगो, सियो हाल्न पनि गाह्रो भएको थियो तर अहिले भने सहज भएको छ ।’

‘श्रीमानको पैसा आवश्यक नै भएन्’
वीरेन्द्रनगर नगरपालिका–६ की सिमीला खड्का ६० वर्षको भईन् । उनले २०४५ सालमा काठमाडौंमा सिलाई–कटाई तालिम लिएकी थिईन् । उलने २०४६ सालदेखि सिलाई–कटाई तालिम दिन थालेको बताईन् । साथीहरुको लहैलहैमा तालिम सिकेको उनको भनाई छ ।

जुन सिपले आफुलाई आत्मनिर्भर बनाएको उनको भनाई छ । उनले सुर्खेतका सबै पालिका र दैलेख, कालिकोट, डोटी लगायतका ठाउँमा प्रशिक्षको रुपमा रहेर तालिम दिएको उनले जानकारी दिईन् ।

सिमीलाले महिलाहरुलाई सिप मात्र होईन्, विभिन्न खालका आईडिया समेत दिएर सिकाउँने गरेको उनले बताईन् । उनले भनीन्, ‘सिलाई–कटाईको सिपबाट धेरै पैसा पनि कमाए । अहिले ६० वर्षको भए । तालिम दिएर नै महिनामा ३० हजार रुपैयाँ भन्दा बढि हुन्छ । मलाई त श्रीमानको पैसा कहिल्यै आवश्यक नै भएन् ।’

सिमीलाले उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेशको कार्यालयमा फागुण २१ गतेदेखि संचालित ३ महिने सिलाई–कटाई तालिमका २० जना महिलाहरुलाई तालिम दिईरहेको बताईन् । जसमा काने टोपी, बाबा सुरुवाल, फ्रक, पेटीकोट, मेक्सी, पाईजामा, बाबाहाफ पाईन्ट, बाबासर्ट, कुर्तासुरुवाल, ब्लाउज, पाईन्टसर्ट, चौबन्दी चोली लगायतका आईटमहरु सिकाउँने गरेको सिलाई–कटाई तालिमका प्रशिक्षक सिमीरा खड्काले जानकारी दिईन् ।

महिलाहरुको क्षमता अभिवृद्धीसंगै व्यवसायिक बनाएर परनिर्भरताको अन्त्य गर्नका लागि विभिन्न सिपमुलक तालिम दिँदै आएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेशको कार्यालयले जनाएको छ । विपन्न, गरिव तथा पिछडीएका क्षेत्रको आर्थिक अवस्थामाथी मजबुत बनाउने गरी सिपमुलक तालिम सञ्चालन गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया