निजि हवाई सेवा प्रदायक संस्था तारा एअरले कर्णालीका तीन जिल्लामा हप्तामा दुई उडान भर्न सुरु गरेको छ । कर्णाली प्रदेश स्थापनापछि नेपालगञ्ज स्थानान्तरण भएको कर्णालीको आन्तरिक हवाई सेवा सुर्खेतबाट पुनः सुचारु भएपछि कर्णालीवासीलाई साविक कर्णालीका नागरिकलाई जहाज चढ्न नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
गएको बुधबारदेखि सुर्खेत विमानस्थलबाट जुम्ला, हुम्ला र मगुमा तारा एअरले उडान भर्न सुरु गरेको हो । हिमाली टुर्स एण्ड ट्राभल्सले तारा एअरको टुइनेटर विमानमार्फत उडान सुरु गरेको हो । यात्रुका कारण तत्काललाई हप्तामा दुई उडान नियमित भर्ने गरी सेवा प्रारम्भ गरेको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक मिनबहादुर रावलले बताए । यात्रुको सुनिश्चितता भएपछि दैनिक उडान भर्नेगरी तयारी रहेको रावलले बताए । हाल भइरहेको उडानमा यात्रु नहुँदा घाटा खाएर भएपनि सेवा सञ्चालन भइरहेको उनले बताए ।
प्रवन्ध निर्देशक रावलका अनुसार हाल प्रति उडान जुम्ला र मुगुमा एक लाख ७५ हजार र हुम्लामा दुई लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको छ । यात्रु नहुँदा यो रकम कम्पनी आफैले व्यहोर्दै आएको छ । तीन जिल्लामा हुने साताको दुई उडानका लागि भाडा दरसमेत तय गरिएको छ । जसमा सुर्खेत–मुगु–सुर्खेत ६ हजार पाँच सय, सुर्खेत–जुम्ला–सुर्खेत ६ हजार पाँच सय र सुर्खेत–सिमकोट–सुर्खेत रुटमा आठ हजार भाडा दर तोकिएको छ । यो भाडा दर नेपालगन्जको भन्दा सस्तो हो । अहिले मुगु–नेपालगन्ज सात हजार पाँच सय भाडा दर रहेको रावल बताउँछन् । आउने बुधबारदेखि बाजुरा र डोल्पामा पनि उडान सुरु गर्ने तयारी रहेको निर्देशक रावलले बताए ।
झण्डै ६ वर्षपछि आफूहरुले कर्णालीवासीलाई जहाज चढ्न नेपालगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य गरेको भएपनि यात्रुको अभावले चुनौती झेल्नु परिरहेको उनले बताए । कर्णालीको आन्तरिक आकाशमा जहाज उडाउन निजि क्षेत्रको एकल प्रयासले मात्रै नहुँने उल्लेख गर्दै रावलले इन्धन र हवाई शुल्कमा सहुलियतको अबिलम्ब व्यवस्था गर्नुपर्ने बताए । प्रदेश सरकारले हवाई सेवामा प्रदान गर्ने भनिएको सहुलियत कार्यविधि नबन्दा अघि बढ्न नसकेको उनले बताए ।
कार्यविधिमै अल्झियो प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भनेका थिए, ‘कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थनमा हुने यात्रु हवाई उडान संख्याका आधारमा हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गर्न रकम विनियोजन गरेको छु ।’
सुर्खेत केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने एयरलाइन्सहरुलाई ईन्धनमा सहुलियत दिने उद्देश्यले कर्णाली प्रदेश सरकारले उक्त आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ समेत विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि यहीँ शिर्षकमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ ।
तर, हवाई इन्धनमा सहुलियत दिने घोषणा भएर बजेट विनियोजनसमेत भईसकेको अवस्थामा भएपनि घोषणा कार्यान्वयनका लागि हालसम्म आवश्यक कार्यविधि पनि बनिसकेको छैन । सडक यातायात कठिन रहेका कर्णालीका पहाडी र दुर्गम जिल्लाका नागरिकहरुलाई नियमित रुपमा सहज, सुलभ हवाई सेवा निरन्तर रुपमा गराउने उद्देश्यले प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको थियो । एयरलायन्सहरुलाई इन्धनमा सुविधा दिने घोषणा गर्नुअघि प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकहरुका लागि विमान टिकटमा एक हजार रुपैयाँ सहुलियत दिदै आएको थियो ।
प्रदेश सरकारले सुर्खेत केन्द्र हुँदै हवाईजहाजबाट कर्णालीका अन्य जिल्ला जाने र आउने ज्येष्ठ नागरिकका लागि प्रत्येक टिकटमा एक हजार रुपैयाँ सहुलियत दिने गरेको थियो । कर्णालीका दुर्गम भेगका नागरिकको विमान टिकटमा सहुलियत कार्यक्रममा पहुँच नै कम हुन थालेपछि कर्णाली प्रदेश सरकारले सुर्खेत केन्द्र बनाई विमान उडान भर्ने एयरलाईन्सलाई नै इन्धनमा सहुलियत दिने कार्यक्रमको घोषणा गरिएको थियो । तर, त्यो घोषणामै सिमित भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले इन्धन सहुलियतको विषय मन्त्रालयले अपनत्व लिएसँगै कार्यविधि निर्माणको प्रक्रिया अघि बढ्न लागेको बताए । कर्णाली प्रदेश सरकारले कर्णालीमा हवाई उडानलाई निरन्तरता दिनका लागि एयरलाइन्सहरुलाई आकर्षित गर्ने घोषणा गरेपनि पहाडी जिल्लामा नियमित हवाई उडान नहुँदा यात्रीहरुको समस्या ज्यूँका त्यूँ नै रहेको छ ।
सडक सञ्जालले नछोएका कर्णालीका उच्च पहाडी र हिमाली जिल्लाहरुमा यातायातको एक मात्र साधन भनेकै हवाई मात्र हो । तरपनि महंगोमा टिकट किन्नुपर्ने, किन्न खोजेपनि समयमा टिकट नपाइने र पाएपनि जहाज निर्धारित दिन र समयमा नउड्ने, कर्णालीवासीले वर्षौदेखि यिनै समस्या झेल्दै र खेप्दै आउनु परिरहेको छ ।
त्यसपछि उड्न छाडे जहाज
संघीयतापछि कुनै न कुनै कारणले चर्चामा आइरहन्छ सुर्खेत विमानस्थल । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई हवाई सेवामा जोडेको यो विमानस्थल कहिले विस्तारको योजनाले चर्चामा आउँछ भने, कहिले शक्तिमा रहेका नेताहरूले विमानस्थलमा आउने बजेटमा अपनत्व लिन गरिने होडबाजीले ।
देश संघीयतामा गएसँगै सिंहदरबारका अधिकारहरू नागरिकका घरदैलोमा पुगेको बताउने गरिए पनि संघीयता कार्यान्वयनपश्चात् भने सुर्खेत विमानस्थल छायाँमा परेको छ । यसले दुर्गमका नागरिकलाई प्रदेश राजधानीसँगको हवाई सेवामा अलग बनाइदिएको छ ।
हाल यो विमानस्थल संघीय राजधानी काठमाडौं आउजाउ गर्न, नेताहरूको चार्टर्ड तथा विपद्लगायत अन्य काममा नेपाली सेनाले प्रयोग गर्ने एयर लिफ्ट बनेको छ । संघीयताअघि सुर्खेत विमानस्थलमा सीता, तारा, यतीलगायतका निजी हवाई सेवाप्रदायक कम्पनीका ट्वीनअटर विमानहरू दैनिक सुर्खेती आकाश भएर कर्णालीका माथिल्ला जिल्लाहरूमा उडान भर्थे ।
यात्रुवाहक तथा कार्गो बोकेका विमान तथा हेलिकोप्टरले खाली नहुने विमानस्थलमा अहिले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत दैनिक चार उडान मात्र हुने गरेका छन् । देश संघीयतामा गएसँगै साविक कर्णालीका चार जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँचबाहिर छन् ।
२०७४ अघि साविक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित रूपमा हुँदै आएका उडानहरू त्यसयता भने नेपालगञ्जबाट हुँदै आएका छन् । जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यतामा नागरिकहरू छन् ।
प्रदेश राजधानी भएसँगै सुर्खेत राजनीतिक, प्रशासनिक, आर्थिक तथा शैक्षिक हब बनेको वीरेन्द्रनगर दशवटै जिल्लाका नागरिकको रोजाइ बन्दै गएको छ । सुर्खेत विमानस्थलबाट नियमित रूपमा हिमाली र पहाडी जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा अध्ययन, रोजगारी, औषधि उपचार प्रशासनिक कामकाजका लागि वीरेन्द्रनगर आउजाउ गर्ने नागरिकले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ ।
काठमाडौं–सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन । अझ नेपाल वायुसेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको अवस्था छैन । उतिबेला सुर्खेतबाट माथिल्ला जिल्लाहरूमा यात्रु तथा कार्गो उडान हुँदा सरकारले लगाउने हवाई शुल्क महँगो पर्ने भन्दै निजी हवाई कम्पनीहरूले आफ्ना उडानहरू नेपालगञ्ज स्थानान्तरण गरेका थिए ।
त्यसयता कर्णालीको आन्तरिक आकाशमा न सरकारले आफ्ना जहाज उडाउने प्रयास गरेको छ, न त निजी सेवाप्रदायक कम्पनीलाई नै जहाज उडाउन प्रोत्साहन गरेको छ । सञ्चालन खर्चका कारण सरकारी स्वामित्वको वायुसेवा निगम नै कर्णालीमा आन्तरिक उडान भर्न नसकिने जवाफ दिँदै आएको छ ।
जहाज पर्खिदै सुनथराली विमानस्थल
कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडामा निर्माण गरिएको सुनथराली विमानस्थल जहाजको पर्खाइमा छ । वि.सं. २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षमा पुरा भएको यो विमानस्थल परीक्षण उडानमा मै सिमित भएको छ ।
विमानस्थल निर्माण थालिएको झण्डै चार दशक मात्रै बितेको छैन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ २९ माघ २०७३ मा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान सफल भएको थियो । त्यसयता १४ फागुन २०८० मा पूर्व उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।
विमानस्थलको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितीका बाबजुद विमानस्थलको उद्घाटन भएको बताएका थिए । यात्रुको माग हेरेर हप्ताको एक पटक उडान भर्ने प्रतिवद्धतासमेत उनको थियो । त्यसयता यसतर्फ भने कसैको चासो नजाँदा अहिले कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ ।
पाँच वर्षदेखि प्रयोगविहिन चौरजहारी विमानस्थल
रुकुम पश्चिमको चौरजहारी विमानस्थल पाँच वर्षदेखि बन्द छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट बञ्चित छन् । २०७५ देखि बन्द विमानस्थल सञ्चालन हुन नसक्दा नागरिक मर्कामा पर्दै आएका छन् ।
पहिले सातामा दुई दिन नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले सेवा दिने गरे पनि अहिले सो सेवा बन्द छ । पाँच करोड ५९ लाख ४९ हजार रुपैयाँ लागतमा २०७२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । विमानस्थलमा जहाज नआउने भएपछि अहिले यो विमानस्थल घाँसे मैदान जस्तो बनेको छ ।
डोल्पाको मसिनेचौर विमानस्थलको हालत पनि उस्तै
निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।
त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।
ओम शाही । सुर्खेत । २३ मंसिर २०८१, आईतवार ०९:५३