लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा उद्योगमा २ अर्ब ८० करोड ६८ लाख रुपैयाँ लगानी भएको छ । प्रदेशका १२ जिल्लामा घरेलु तथा साना उद्योगमा यो लगानी थप भएको हो । रुपन्देहीमा ८५ करोड ४३ लाख ९३ हजार, बाँकेमा ५३ करोड ८८ लाख, नवलपरासी पश्चिममा २५ करोड ५० लाख, कपिलवस्तुमा ३१ करोड ९७ लाख, दाङमा २५ करोड ७८ लाख रुपैयाँ लगानी भएको उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए ।
बर्दियामा १८ करोड ६ लाख, पाल्पामा ६ करोड ७४ लाख, गुल्मीमा ७ करोड ५१ लाख, अर्घाखाँचीमा १८ करोड ९२ लाख, प्युठानमा १ करोड ६८ लाख, रोल्पामा दुई करोड ५४ लाख र रुकुम पूर्वमा दुई करोड ६५ लाख रुपैयाँ लगानी भएको मन्त्रालयले जनाएको छ । पहिलो चौमासिकसम्ममा प्रदेशमा एक हजार १ सय नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा उद्योगबाट एक करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
रुपन्देहीमा ४८ लाख ७१ हजार, बाँकेमा २६ लाख ८८ हजार, नवलपरासी पश्चिममा १० लाख १४ हजार, कपिलवस्तुमा १५ लाख १ हजार, दाङमा २४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी बर्दियामा १८ लाख ३५ हजार, पाल्पामा ९ लाख १३ हजार, गुल्मीमा ८ लाख ८१ हजार, अर्घाखाँचीमा दुई लाख ६९ हजार, प्युठानमा ४ लाख ८ हजार, रोल्पामा ६ लाख ९४ हजार र पूर्व रुकुममा एक लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए ।
प्रदेशमा चार महिनामा पाँच सय १९ महिला र नौ सय ३३ पुरुष उद्यमी भएका छन् । यसैगरी एक हजार ६ सय ४७ महिला र ३ हजार ३५ जना पुरुषले रोजगारी प्राप्त गरेका छन् । पहिलो चौमासिकसम्ममा रुपन्देहीमा दुई सय ९१, बाँकेमा दुई सय ४२, नवलपरासी पश्चिममा १ सय १२, कपिलवस्तुमा १ सय ३०, दाङमा एक सय ४२ दर्ता भएका छन् । यसैगरी बर्दियामा ८९, पाल्पामा ३०, गुल्मीमा १५, अर्घाखाँचीमा २८, प्युठानमा ८, रोल्पामा २४ र पूर्व रुकुममा १७ नयाँ उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा चार हजार ४८ वटा उद्योग नवीकरण भएका छन् । रुपन्देहीमा नौ सय ८२, बाँकेमा चार सय ५८, नवलपरासी पश्चिममा दुई सय १०, कपिलवस्तुमा पाँच सय १०, दाङमा पाँच सय ६४ वटा उद्योग नवीकरण भएका छन् । त्यसैगरी बर्दियामा तीन सय ६४, पाल्पामा तीन सय ४०, गुल्मीमा दुई सय ४१, अर्घाखाँचीमा ३४, प्युठानमा ८६, रोल्पामा दुई सय ३२ र पूर्व रुकुममा १६ वटा उद्योग नवीकरण भएका छन् ।
पहिलो चौमासिकसम्ममा रुपन्देहीमा एक सय १७, बाँकेमा ७३, नवलपरासी पश्चिममा ४३, कपिलवस्तुमा ६२, दाङमा एक सय नौ वटा उद्योग बन्द भएका छन् । बर्दियामा ६४ वटा, पाल्पामा ९१, गुल्मीमा एक सय ३१, अर्घाखाँचीमा चार, प्युठानमा २१, रोल्पामा २१ र पूर्व रुकुममा ६ वटा उद्योग बन्द भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए । कात्तिक मसान्तसम्ममा एक हजार ५ सय १२ उद्योगले संशोधन गरेका छन् ।
वाणिज्यतर्फ दुई अर्ब ४३ करोड थप
पहिलो चौमासिकसम्म वाणिज्यतर्फ दुई अर्ब ४३ करोड रुपैयाँ लगानी थपिएको छ । यस अवधिमा एक हजार पाँच सय २४ वटा वाणिज्य फर्ममार्फत लगानी थप भएको हो । प्रदेशका १२ जिल्लामा यो संख्यामा वाणिज्य फर्म थपिएका हुन् । यस अवधिमा साढे चार हजार फर्म नवीकरण भएका छन् । सात सय ८२ वटा वाणिज्य फर्म बन्द भएको मन्त्रालयको पहिलो चौमासिक तथ्यांकले देखाएको छ । यसैगरी एक हजार ६ सय ७६ वटाको संशोधन गरिएको छ । वाणिज्य फर्मबाट चार महिनाको अवधिमा दुई करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
युग संवाददाता । दाङ । २४ मंसिर २०८१, सोमबार १६:२४