सम्पादकीय : कर्णालीको क्षमता माथि प्रश्न नउठाइयोस्

खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ । पहिलो पटक तय भएको प्रतियोगिता पूर्वाधारका कारण सञ्चालन हुन नसकेपछि आगामी चैत २३ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो पटक मिति तय भएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवसर पाउनु कर्णालीका लागि आफैमा गौरवको विषय हो । राष्ट्रियस्तरका ठुला खेलकुद गतिविधि सञ्चालन गर्ने अवसर नपाएको कर्णालीका लागि प्रतियोगिता क्षमता प्रदर्शन गर्ने अवसर पनि हो । यो प्रतियोगिता आयोजना गरेर विकासमा पछाडी पारिएको कर्णालीले पनि राष्ट्रलाई योगदान दिन सक्छ भन्ने तथ्यको उजागर गर्ने अवसरका रुपमा यसलाई लिन सकिन्छ । तर ठुला खेल पूर्वाधार अभाव रहेको कर्णालीका लागि यो विषय अवसरसँगै ठुलो चुनौतीको विषय भने हो । पूर्वाधार अभावकै कारण मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता सञ्चालन सकेन । निर्धारित समयमा प्रतियोगिता सञ्चालन नभएको अवस्थामा संघीय सरकारले नयाँ मिति तय भएपछि भने प्रतियोगिता हुनेमा आश जगाएको छ ।

दशौं राष्ट्रिय खेलकुद उद्घाटन र अधिकांश खेल सञ्चालन हुने प्रादेशिक रंगशाला निर्माण समयमै नभएको भन्दै पछाडी धकेलिएको प्रतियोगिता अब भने सञ्चालन हुने निश्चित जस्तै बनेको छ । दशौंका लागि तय भएको २ मंसिर अगावै रंगशाला निर्माण सम्पन्न हुने छाँट नदेखिएपछि मुख्य आयोजक र व्यवस्थापक रहेका संघीय र प्रदेश सरकारले प्रतियोगिता सञ्चालनमा हतारो नगर्ने दावी गर्दै आएका छन् । निर्धारित मितिमा सम्पन्न हुन नसकेको रंगशालाको काम अब भने लगभग अन्तिम चरणमा पुगेको छ । कर्णाली खेलकुद परिषद्का अनुसार रंगशालाको काम ९९ प्रतिशत पुरा भएको छ भने बाँकी काम केही सातामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अब रंगशालाको मुख्य प्याराफिटको छाना र एथेलेक्टिसको ट्याक विछ्याउने बाहेक अन्य काम पुरा भएको जनाइएको छ ।

निर्माण कम्पनीसँगको सम्झौतामा प्रदेश रंगशाला निर्माणको काम २०८१ असार भित्रै सम्पन्न भइसक्नुपर्ने थियो । सो समयमा रंगशालाको पूर्ण काम सम्पन्न नहुने भएपछि असोज महिनासम्म समय थपिएको थियो । यद्यपी यो मितिमा पनि रंगशाला निर्माण सम्पन्न हुन सकेन । दुई बर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएको थियो । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णालीको क्षमता माथि प्रश्न उठाइरहेका छन् । प्रतियोगितामा सहभागिता जनाउन आउने खेलाडी तथा पाहुनालाई राख्नका लागि आवासको अभाव छ भन्नु आफैमा हल्ला फैलाउने काम हो । उती बेला कर्णालीले दशौं राष्ट्रिय प्रतियोगितामा दुई अंकको पदक लिने गरी तयारी गरिरहेको थियो ।

कर्णालीको खेलकुद विकासको जिम्मेवारी पाएको खेलकुद विकास परिषद्ले प्रतियोगिता आयोजना गर्न कुनै पनि समस्या नभएको बताइरहदा प्रदेश सरकार र मुख्य आयोजक संघीय सरकारको अग्रसरता नदेखिएको भन्दै चौतर्फी आलोचना भएका थियो । त्यो अरु नभई विशुद्ध राजनीतिक खेल हो । पहिलो पटक तय भएको मितिमा सरकारले चाहेको भए प्रदेश रंगशालाको कामलाई युद्धस्तरमा अगाडि बढाएर सम्पन्न गराउन सक्थ्यो । प्रतियोगिता सञ्चालनको जस अरुलाई नै जान्छ भनेर लगभग तयारी पुरा भएको अवस्थामा प्रदेश र संघ सरकार जिम्मेवारीबाट पन्छिन खोजेका हुन् भन्दा फरक नपर्ला । यसले सिङ्गो कर्णालीको खेल क्षेत्रमा निराशा बढाएको छ । लामो समयदेखि तयारीमा रहेका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न नपाइने हो कि भन्ने चिन्तामा पारेर गरिने कुनै पनि निर्णय स्वीकार्य हुँदैनन् । कर्णालीका लागि पहिलो पटक जुरेको अवसरलाई गुम्न नदिएर दोस्रो पटक तय भएको मितिमा प्रतियोगिता सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिन आवश्यक छ । अर्को कुरा कर्णालीको क्षमतामाथी हुँदै नभएको प्रश्न उठाएर प्रतियोगितालाई गिजोल्ने राजनीति यस पटक नगरियोस् । संघीय सरकारले प्रतियोगिता सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाहरु अबिलम्ब तयार पारी खेलकुद गतिविधिमा बढवा दिन बजेटरी पाटोलाई व्यवस्थित बनाउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया