लागत बढी भएकाले तत्काल सुरुङ मार्ग निर्माणमा चुनौती

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम भारी लागतका कारण तत्काल अगाडि बढ्न समस्य देखिएको छ । दूरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम तत्काल अघि बढन नसक्ने भएको हो । यसअघि सुरुङ मार्गको प्रि–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ ।

जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको १० किलोमिटर दूरी छ । दूरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको गुणस्तर तथा अनुसन्धान केन्द्रले जनाएको छ । तत्काल थप प्रक्रिया अघि नबढाइने केन्द्रका इन्जिनियर प्रदिप भण्डारीले बताए । उनका अनुसार गरिएको प्रि–फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ ।

सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढाइने उनले जानकारी दिए । उनले भने, ‘सुरुकै प्रि–फिजिविलिटी अध्ययनले काम गर्न उपयुक्त छैन भन्ने अन्तिम रिपोर्ट दिएको छ, त्यसैलाई आधार मानेर अहिलेलाई थप काम अघि बढाइने छैन, पछि केही निर्णय भए सोच्न सकिन्छ ।’ १० किलोमिटर दूरी हुँदा काम अघि बढाउन थप समस्या भएको उनको भनाइ छ ।

सरकारले नै लामो दूरीमा रहेका सुरुङमार्ग निर्माणको काम अघि नबढाउन भनेको छ । लागत धेरै र न्यून प्रतिफल हुनेभएपछि अध्ययनको काम अघि नबढ्ने भएको हो । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रि–फिजिविलिटी’ अध्ययन गरिएको थियो । उक्त अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो ।

सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । विभागले २०८० जेठमा इटीको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको प्रि–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । अहिले उक्त अध्ययनको अन्तिम रिपोर्ट आएको छ । उक्त रिपोर्टले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम अघि बढ्ने छैनन् । सरकारले कुनै विकल्प देखाएर काम अघि बढाउन सक्नेछ । तत्काल भने काम अघि नबढ्ने भएको हो ।

करिब २९ अर्ब लागत अनुमान
जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारी सम्मको लम्बाइ करिब १० किलोमिटर छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको थियो । प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको छ । अध्ययनको अन्तिम रिर्पोटअनुसार करिब २९ अर्ब लागत अनुमान छ । अब सुरुङमार्ग निर्माणको बाँकी काम अघि बढ्ने छैन ।

प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने लक्ष्य राखिएको थियो । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट अपेक्षा राखिएको थियो । गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको भएपछि अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ ।

दूरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको बताउने गरिएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उक्त सुरुङमार्ग निर्माण थालिएपनि लामो दूरीका कारण काम अघि नबढ्ने भएको हो । सडकको दुरी छोट्याई इन्धन बचत गर्ने, भौगोलिक रूपमा कठिनाइ र पहिरोको जोखिम भएका ठाउँमा सुरक्षित हुने भएकाले जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण थालिएको थियो । तर सुरुकै अध्ययनले उपयुक्त नभएको देखाएको छ ।

सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको पूर्वमन्त्री तथा माओवादी नेता गणेश सिंह बताउँछन् । दूरी लामो भए पनि खण्ड–खण्डमा गरेर उक्त काम अघि बढाउनुपर्ने उनको भनाइ छ । यसबारेमा सरकारलाई पुनः अवगत गराउने उनले बताए । रिपोर्टअनुसार दूरी लामो भएर समस्या भएको भए पनि दूरी घटाएर काम गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘कर्णाली बासीको आशाको दियो हो, निभ्न दिनु हुँदैन, हामी फेरि खबरदारी गर्छाैं ।’

तपाईको प्रतिक्रिया