मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकाको बड्डिचौरदेखि खम्बागाडे सडकको १३.१ किलोमिटरमा जग्गा भोगाधिकार र रुख कटानको प्रक्रिया अघि बढ्ने भएको छ ।लामो समयदेखि राष्ट्रिय प्राथमिकता प्राप्त सडकलाईकर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएपछि सिर्जना भएको अवरोध अन्तत हट्ने भएको हो ।
राष्ट्रिय योजना आयोगले वन तथा वातावरण मन्त्रालयलाईउक्त सडक खण्ड पुनः राष्ट्रिय प्राथमिकतामा राखिएको पत्र लेखेसँगै लामो समयदेखिको भोगाधिकार र रुख कटानको अल्झन सुल्झिने संकेत देखा परेको छ । राष्ट्रिय प्राथमिकताप्राप्त सडकमा हात हालेको प्रदेश सरकारलेसंघीय सरकारलाई जग्गा भोगाधिकारको अनुमति नपाइने छाँट देखा परेपछि पुनः मदन भण्डारी राजमार्गकै स्वामित्वमा रहने गरी प्रक्रिया अगाडि बढाइ दिन अनुरोध गरेको थियो ।
२ पौष २०८१ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बड्डीचौर–बिउरेनी–बाबियाचौर–विद्यापुर सडक खण्ड (१३.१ किमि) लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरिदिन पत्र लेखेको थियो ।प्रदेश सरकारको अनुरोधपछिसंघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २१ पुष २०८१ मा बड्डिचौर–खम्बागाडे सडकलाई राष्ट्रिय प्राथमिकतामा समावेश गरिदिन राष्ट्रिय योजना आयोगलाई पत्र लेखेको थियो ।
बुधबार आयोगले संघीय वन तथा वातावरण मन्त्रालयलाईपत्र लेख्दै मदन भण्डारी लोकमार्ग अन्तर्गत बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडक खण्ड (१३.१ कि.मि.) स्तरोन्नति गर्ने कार्यका लागि आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १० बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकिएको जनाएको छ । आयोगले वन मन्त्रालयलाई पत्र लेखेसँगै बड्डिचौर–खम्बागाडे सडक खण्डमा पर्ने जग्गा भोगाधिकार र रुख कटानको प्रक्रिया अघि बढ्ने पूर्वाधार निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवम् इन्जिनियर वीरेन्द्रजंग शाहीले जानकारी दिए । उनका अनुसार अब वन मन्त्रालयले स्वीकृती प्रदान गरेपछिवातावरणीय प्रभाव मूल्यांकन (इआईए) बमोजिम उक्त सडक खण्डमा पर्ने रुख कटान र जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइने छ ।
निर्माण कम्पनीले थाल्यो काम
बड्डिचौर–खम्बागाडे सडक स्तरोन्तीको जिम्मा पाएको अनक जयदेवी जेभी बाँकेले पुनः निर्माणको काम थालेको छ । पूर्वाधार निर्देशानलय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रजंग शाहीका अनुसार अनक जयदेवीले विवाद नभएका ठाउँमा सडक चौडा पार्नेदेखि संरचना निर्माणको काम सुरु गरेको छ ।
गत पुसमा उक्त सडक निर्माणको काम सुरु नभएकानूनी प्रक्रिया थाल्ने प्रदेश सरकारकोचेतावनीपछि अनक जयदेवीले फिल्डस्तरमा काम सुरु गरेको शाहीले बताए । ५ साउन २०७९ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे सडकको पहिलोखण्ड बराहताल गाउँपालिका– ५ स्थित बड्डीचौरमा डोजर चलाएर निर्माण व्यवसायी एवं संघीय सांसद दिक्पालकुमार शाहीले स्तरोन्नतिको जिम्मा लिएका थिए ।
राष्ट्रिय प्राथमिकताप्राप्त उक्त खण्डमा पर्ने १३.१ किलोमिटर सडक २०८१ असार मसान्तसम्म सम्पन गर्ने कार्यादेशसहित सांसद शाहीले जिम्मा लिएका थिए ।शाही सांसदमा निर्वाचित भएपछि उक्त कम्पनी उनका छोराले सञ्चालन गर्दै आएका छन् ।दुई वर्षभित्र सक्ने गरी कुल ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा अनक जयदेवी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच १४ असार २०७९ मा सम्झौता भई काम अघि बढेको थियो । तर, निर्धारित समय सकिएको ६ महिनासम्म उक्त सडकले २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ ।
रुख कटान र जग्गा भोगाधिकारलाई देखाउँदै आएको निर्माण कम्पनीले पाएको थप एक वर्षमा पाँच महिना बित्दासमेत फिल्डमा काम अघि नबढेपछि प्रदेश सरकार एक्सनमा उत्रिएको थियो ।विवाद नभएका ठाउँमा यथासिंघ्र काम नथाले कालोसूचिमा राख्ने प्रदेश सरकारको चेतावनीपछि निर्माण व्यवसायीले काम थालेको पूर्वाधार निर्देशनालयले जनाएको छ ।
अन्य क्षेत्रमा धमाधम अघि बढ्दै मदन भण्डारी राजमार्ग
संघीय सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर तीव्र रूपमा अगाडि बढाइरहेको आयोजना हो मदन भण्डारी राजमार्ग । पश्चिमी खण्डअन्तर्गत पर्ने यो राजमार्गको सुर्खेत खण्डमा अहिले धमाधम सडक निर्माणको काम चलिरहेको छ । सुर्खेतको पूर्वी खण्डको ३५ किलोमिटर सडक निर्माणको प्रगति झण्डै ८० प्रतिशत पूरा भइसकेको छ भने पश्चिम खण्डको ८५ किलोमिटरको अधिकांश खण्डमा ठेक्का लागिसकेको छ ।
तर, संघीय सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको आयोजनामा भाजो हाल्दै प्रदेशले आफ्नो मातहतमा ल्याएर अगाडि बढाएको बड्डीचौर–खम्बागाडे १३ किलोमिटर सडक भने भोगाधिकारको गोलचक्करमा अघि बढ्न सकेको छैन । मदन भण्डारी राजमार्ग सुर्खेतमा मात्रै झण्डै एक सय ५८ किलोमिटर पर्छ । योमध्ये भेडाबारी–बोटेचौर–रैकर (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिब १२, धुलियाविट–बाङ्गेसिमल (फोरलेन) सडक आठ र बाङ्गेसिमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डमा मदन भण्डारीले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउँदै छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले पूर्वी सूर्खेतबाट २८ असार २०७८ बाट काम थालेको थियो ।
अन्तिम चरणमा पुग्यो मंगलगढी–काँक्रेविहार सडक
सुर्खेतको प्रमुख धार्मिक एवम् पर्यटकीय क्षेत्र काँक्रेविहार जोड्ने मंगलगढी–काँक्रेविहार सडक स्तरोन्तीको काम अन्तिम चरणमा पुगेको छ । २०७८ बाट निर्माण सुरु भइ अलपत्र परेको सडक कर्णाली प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिएपछि निर्माण कम्पनीले पुनः काम थालेको थियो ।दुई महिना अघि सुरु भएको स्तरोन्तीको कामअन्तिम चरणमा पुगेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।
बिहिवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले उक्त निर्माणाधिन सडकको स्थलगत अनुगमनसमेत गरेका थिए ।अम्मर सिस्ने मेगा जेबिले १४ मंसिर २०७८ मा निर्माणकोजिम्मा लिएरविभिन्नबहानामा अलपत्र पार्दै आएको थियो । २.५ किलोमिटर सडक स्तरोन्ती गर्नकुल १२ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको थियो । सडक स्तरोन्ती अन्तिम चरणमा पुगेसँगै लामो समयदेखि नागरिकले भोग्दै आएको सास्तीको अन्त्य हुने भएको छ ।