गाउँ–गाउँमा सिंहदरबार गएपछि जुम्लाका गाउँहरू भरिन थालेका छन्, भने सदरमुकाम खलंगाबजार खाली हुँदै जान थालेको छ । संघीयताको कार्यान्वयसँगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम खलंगाबजारमा चहलपहल घट्दै गएको हो ।

मानिसको चहलपहल घट्न थालेपछि खलंगा बजारमा सञ्चालित व्यवसाय ओरालो झर्दो क्रममा रहेको छ । व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार गरेकोमा अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम अहिले सुनसानजस्तै देखिन थालेको छ । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको छ । कुनै समय थियो १० रुपैयाँको रायोको साग र बन्दा काउली र धनियाको बीउ लिन सदरमुकाम खलंगा पुग्नु पर्थ्यो । अहिले गाउँमै पाइन्छ । ५० मिटर पाइपको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ’ जुम्लाको पातारासी –३ का वडा अध्यक्ष गोविन्द रावत भने, ‘अब स्थानीय तह नै बलिया भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ । मेरो गाउँ चौरबाट आउन साढे ३ घण्टा जान ४ घण्टा लाग्थ्यो, एक दिन बजारमै बस्नु पर्थ्यो अहिले हट्यो ।’

अध्यक्ष रावतले भने,’सदरमुकाम छाडेर गाउँ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन्, संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमंग छाएको पाइन्छ । गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसाय मात्रै होइन सरकारी अड्डामासमेत सेवाग्राहीको चाप कम हुँदै गएको देखिन्छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिल्ला विकास समिति (जिविस) समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।

संघीयताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवतजावतमा निकै पातलिएको सदरमुकामबासी टीका नगरकोटीले बताइन् । व्यापार व्यावसायमा निक्कै कमी आएको उनी बताउँछिन् । यसअघि ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो ।

जुम्लाको कनकासुन्दरी–५ लुड्कु गाउँका लक्ष्मीशरण उपाध्याय उनी पहिले एक दिन पैदल लगाए सदरमुकाम पुगेको स्मरण गर्छन् । उनले सानो लुगाफाटो सिचाउने १ रुपैयाँ दुईवटा सियो किन्न पुगेको बताए । अरु त खाद्यान्न लत्ताकपडा ठुलो सामान किन अनिवार्य पुग्नुपर्ने थियो, अहिले टरेको उनको भनाई छ ।

यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध बस्तु सोही मूल्यमा आफ्नै घरपायकमा पाइने भएपछि सदरमुकाम शून्य प्रायः जस्तै बन्दै गएका छन् । यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता संघीयता कार्यान्वयनसँगै टरेको छ । स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन् । सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हुँदा सदरमुकामको व्यापार खुम्चिने र गाउँबस्तीमा चहलपहल देखिन थालेका हुन् ।

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थन्किएका थिए । निर्वाचनपछि स्थानीय तहका कामकाज चुस्तसमेत देखिन थालेका छन् । सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आजभोलि सबै गाउँपालिका तथा वडातिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन् ।

सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, खाद्यान्न,किराना पसल, स्टेशनरी, होटलजस्ता व्यवसाय भने संकटमा परेका छन् । अहिले जिल्लाका स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन् । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताउँदा स्थानीय तहको सदरमुकाम क्षेत्रका जग्गाको भाउँ भने आकाशिएको छ । जुम्लाका नराकोट, गुठिज्युला, लासी, कुडारीजस्ता स्थानीय बजार अहिले चम्किएका छन् ।

यस्तै, जुम्लाको सदरमुकाम खलंगामा २०५२ सालदेखि व्यावसाय गर्दै आउनु भएका हिमचुली जनरल स्टोरका संचालक बिर्खबहादुर कठायतले पहिला सिंगो जुम्लाको जनसंख्या सदरमुकाम आउने गरेको बताए । ‘अहिले ८ स्थानीय तहमै बाडिएको छ । निकै व्यापार घट्दो छ । अहिले जुम्लाका ८ वटै स्थानीय तह र ६० वटै वडामा सडक पुगेको छ,’ उनले भने,‘संघीयता अघि एक केजी चामल र नुन लिन सदरमुकाम आउँथे । अहिले घरमै पाउँछ ।’

कठायतका अनुसार पहिले व्यापार व्यावसाय गर्दै पसिना आउँथे, अहिले घाम ताप्दै पसिना आउँछन् । सदरमुकाममा चहलपहल घटेपछि लामो समयदेखि आफ्नो थालथलो छाडेर जिल्ला सदरमुकाम छिरेका धेरै व्यापारी अहिले स्थानीय केन्द्रतर्फ आकर्षित हुन् थालेका छन् । सदरमुकाम केन्द्रीत राजनीति व्यापार वा जागिरमा लागेका अधिकांश मानिससमेत अहिले आआफ्ना स्थानीय तहमा स्पेस बनाउन खोजिरहेका छन् ।

जुम्लाको व्यापार दसैं तिहारमा केही मात्रै बढ्छ । जुम्लाको सदरमुकाममा अवस्थित कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएकाले बाह्य पर्यटकहरु आउने गरेका छन् ।