प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

सुर्खेत, ६ बैशाख ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यसम्पादन र भूमिकाप्रति चौतर्फी विरोध भएको छ । दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएको समय, अलपत्र नागरिकको उद्धार र पास वितरणका सम्बन्धमा विरोध भएको हो । दैनिक उपभोग्य अत्यावश्यक पसलहरु खोल्न तोकिएको समय अनुपयुक्त भएको भन्दै सामाजिक सञ्चालमार्फत चौतर्फी विरोध सुरु भएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई नै उलंघन हुने गरी गतिविधिहरु भएको भन्दै विभिन्न क्षेत्रका अगुवाहरुले विरोध जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतसंगको समन्वयमा सुर्खेत उद्योग वाणिज्य संघले शुक्रबारदेखि लागु हुने गरी दैनिक ४ घण्टा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसलहरु खोल्न सूचना जारी गरेको थियो । कोरोना भाईरसको नियन्त्रण, रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउननै उलंघन हुने गरी दैनिक उपभोग्य वस्तुका पसल खोल्न तोकिएको समयको विरोध भएको छ । विभिन्न क्षेत्रका अगुवाहरुले आ–आफ्नो सामाजिक सञ्जालमा लेख्दै विरोध जनाएका छन् । देशमा कोरोना संक्रमण बढ्दै जानु, बाहिरबाट आउने जाने नागरिकको चापले समेत वीरेन्द्रनगर बजार कोरोना संक्रमणको उच्च जोखिममा परेको भन्दै विरोध जनाइएको छ ।

अव्यवहारिक निर्णय गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यक्षमता माथी प्रश्न उठाईएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव सुदिप पुरीले फेसबुकमा लेखेका छन् ‘अवस्था जटिल बन्दै गईरहेको बेला हाम्रो सुर्खेतका अत्यावश्यकको नामममा दैनिक ५ घण्टा नो लकडाउन धन्य छ हाम्रा प्रमुख जिल्ला अधिकारी ज्यूलाई ।’ नेकपा सुर्खेतका नेता डम्मर तिवारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘थुक्क निकम्मा सरकार, सुत्केरी बेथा लागेकालाई गाडीको व्यवस्था छैन, बाटोमा अलपत्र परेकालाई खाना र वस्नको व्यवस्था छैन तर व्यानरको नाममा ४–५ घण्टा व्यापारको अनुमति । के हो यस्तो ?’ भन्दै प्रश्नचिन्न खडा गरेका छन् ।

त्यसैगरी सामाजिक अभियान्ता, सामाजसेवी बखत शाहीले आफनो फेसबुक पेजमा लेखेका छन् ‘हेल्लो सरकार ।।।।। बार बर्दिया नगरपालिकाका महेश चौधरीसमेत २ जना जुम्लाबाट मजुदरी गरी ७ दिन लगाई अहिले वीरेन्द्रनर नगरपालिका वडा नं. ५ गणेश चोक नजिक थकानमारी बसिरहेका छन् भन्छन अझै कति दिन लाग्ने हो । जंगलको बाटो हिडेर पुग्ने ….।’ उनीहरुको उद्धारका लागि साथीहरुसंग समन्वय भएर जिल्ला प्रशासन कार्यालयमा पासका लागि पटक पटक अनुरोध गर्दा सिडिओको फोन नउठेको गुनासो गरेका छन् ।
त्यसैगरी रेडियो भेरीमा कार्यरत पत्रकार केशव कोइराला लेख्छन ‘सुर्खेतमा लकडाउनको कुनै अर्थ छैन । सुर्खेत उद्योग वाणिज्य संघले बैशाख ५ देखि ११ देखि ३ बजेसम्म खाद्यान्न पसल खुल्ने निर्णय । यस्तो रिमिक्स लकडाउनको कुनै औचित्य छैन । अवस्था जटिल बन्दै गईरहेका बेला हाम्रो सुर्खेतमा नो लकडाउन धन्य छन् हाम्रा प्रमुख जिल्ला अधिकारी ज्यूलाई ।’

अनेरास्ववियु सुर्खेतका विद्यार्थी नेता प्रेम खडकाले समेत आफनो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उद्योग वाणिज्य संघ र प्रमुख जिल्ला अधिकारीको भूमिका प्रति प्रश्न चिन्ह खडा गरेका छन् । प्रशासन र वाणिज्य संघको यो निर्णयबाट भोली वीरेन्द्रनगरमा कोरोना संक्रमण फैलियो भने यसको जिम्मेवार को हुने ? भन्दै लेखेका छन् । सामाजिक अभियान्ता कविराज खत्रीले पनि विहान ११ देखि ३ बजे सम्म बजार खोल्न दिँदा लकडाउन हटेको जस्तो देखिएको ।

सरकारको लकडाउन उल्टयाउने निर्णय सुर्खेत प्रशासनले गरेको भन्दै आश्चर्य प्रकट गरेका छन् । नेपाल सरकारका सेवानिवृत्त अधिकृत केशरसिं माझीले गर्मीको समय भएकाले घर व्यवहारका अत्यावश्यकिय कार्यहरु ताजा तरकारी, दुध, खाद्यान्न, औषधी उपचार लगायतका दैनिक उपभोग्यका पसलहरु विहानकै समयमा खोल्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले पहिले एकै पटक विहान अत्यावश्यक वस्तुका पसलहरु खोल्ने गरिएको बताए । विहान एकै पटक हुँदा भिडभाँड भएको गुनासो आएपछि व्यवसायीहरु आफु सुरक्षित रहन सकुन भनेर यो निर्णय भएको बताए । महासचिव कँडेलले भने ‘स्वस्थ रहन र कोरोना भाईरसबाट बाँच्न सबै जरुरी छ । प्रशासन कार्यालयले दिएको सुविधालाई अनावश्यक गलत अर्थ नलगाउँ, व्यवसायीहरुबाट कालोबजारी भयो, भएका सामान लुकाइयो भनेर गुनासो आएपछि आफनो ज्यानको बाजी राखेर जिल्ला प्रशासनले तोकेका अत्यावश्यक सामानका वस्तु मात्रै खोलेर विक्रिमा सहता ल्याइएको छ ।’ आक्रोशित हुँदै महासचिव कँडेलले भने ‘हामीलाई अत्यावश्यक वस्तु आवश्यकता छैन भन्ने नै हो भने सबै बन्द गर्न पनि व्यवसायीहरुलाई हामी आग्रह गर्न सक्छौं ।’ ‘जिल्ला प्रशासन कार्यालयले नै अनुरोध गरेर हामीले अत्यावश्यक पसल खोलेका हौं । फेसबुकमा अनावश्यक कुरा लेखेर भ्रम फैलाउनेलाई नै कारवाहीको भागिदार बनाउनु आग्रह गर्दछु ।’

तपाईको प्रतिक्रिया