अक्षरको छातिमा बाँचेको देश
देश ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने कुराको महत्व माथीको सुन्दर वाणीले उजागर गरेको छ । देश कुनै पनि नागरिकको पहिचान हो । देश घर हो । देश आमा र देश राष्ट्र र राष्ट्रियता हो ।
देशको माया हरेक नागरिकको छातिमा गडेको हुन्छ । देशको एक मुठी माटोमा कसैले कुदृष्टि लगाउँछ भने देशको लागि कुर्वानी दिन कुनै पनि नागरिक पछि पर्दैन ।
त्यसैले हरेक मान्छेको मुटु भित्र राष्ट्रियताको ढुकढुकी चलि रहको हुन्छ । आम रुपले भन्नु पर्दा आफू जन्मेको माटो र देशप्रति राष्ट्रियताको माया नागरिकको मुटुमा जन्मजात नश्लवादी राष्ट्रियताको रुपमा बिकास भएर आएको हुन्छ ।
जातिय नश्लबादको कुरा समाजको लागि हानिकारक होला तर देशको माया, ममतासंग जोडिएको देशीय नश्लवादको नाता रगतको नाता भन्दा पनि गाढा हुन्छ ।
प्रति आम जनताको रगत रगतमा देशभक्ति माया प्रेम ब्लडकै रुपमा बिकास भएर आएको हुन्छ । देश प्रति सबै नागरिकको माया त हुन्छ नै तर अक्षर–अक्षरलाई शब्दमा उनेर देश प्रति बफादार भएर गर्ने प्रेम सबैको बसको कुरा होइन । साहित्यकार दीपक समीपका सबै मुक्तकहरु ओझिला र रसिला त छन् नै ।
मुक्तकका बाँकीहरुमा देखिएको माटो सुगन्धले उहाँको साहित्यिक चेत संसारकै गहिरो महासागा मरियानाट्रेन्च भन्दा कम गहिरो नभएको अनुमान गर्न सकिन्छ ।दीपक समीप पोखराका साहित्यकार हुन् । सामाजिक सञ्जालमा साथी भएर पनि उहाँसंग नजिक हुने अवसर मलाई जुरेको थिएन ।
सामाजिक सञ्जालमा उहाँले पोस्टाउने तस्बिर र साहित्यिक क्रियाकलापको माध्यमले नै हामी परिचित थियौँ । म्यासेन्जरमा त्यति साह्रो कुराकानी पनि हुँदैन थियोे । अक्सर साहित्यिक कार्यक्रम भनेर उहाँको दौडधुप टाढा टाढासम्म गएको पनि देख्दैन । सायद पेशाको गहन जिम्मेवारीको भारी काँधमा परेर पनि होला । नजिक भएर साक्षतकार हुने अवसर भने हाम्रो पहिलोपटक पोखरामै जु¥यो ।उहाँको सौम्य र भद्र स्वभाव प्रति म निकै प्रभावित छु ।
आफ्नो कर्ममा ब्यस्त भएर पनि व्यस्तताका बाबजुद साहित्य लेखनीलाई निरन्तरता दिईरहनु उहाँको अनुपम उदाहरणहो । मान्छेलाई हतार र व्यस्तताले कहिल्यै छोड्दैन । पंतिकारले पनि घर छोडेको दश दिन भएको थियोे । फर्किनु थियोे घर उहाँलाई पनि घर फर्किने हतार थियोेहोला ।
कार्यक्रम सकिएपछि हतार हतारकै बिचबाट साहित्यकार दीपक समीपले एकथान “अक्षर अक्षरमा देश” उपहार स्वरुप हातमा थमाउनु भयो । पहिलो मुक्तक हातमै पढे मुक्तकले मन हल्लायो दिमाग हल्लायो । उपहारलाई संगाल्दै विदाबारी भयौं हामी पोखराबाट ।
अक्षर अरक्षमा देश मुक्तक संग्रह भित्र एक सय एक मुक्तक छन्। सबै अब्बल र एकसे एक छन् । धेरै सुन्दर चिजको पनि तारिफ खुलेर गर्न नसकिने रहेछ । तारिफ गर्दा चिपलिने डर उत्तिकै हुने रहेछ । त्यहीँ डरदेखी म पनि अछुतो रहन सकेन । अनेक प्रयास स्वरुप सहास गरेर लेख्ने हिम्मत जुटाए । यस्तो छ समीप सरको मुक्तसंग्रहमा संग्रहित मुक्तक ।
उनले आरिसको बेलुन बेसरी फुलाएछन्
भुइँको टिप्न खोज्दा पोल्टाको गुमाएछन्
मेरो अगेनोबाट उनले आगो चोरेर लगेथे
थाह भयो लगेर आफ्नै धुरीमा लुकाएछन्
मुक्तकको बारेमा लेख्नु भन्दा पनि मुक्तकले धेरै कुराको भाब बोली सकेको छ । महत्वकांक्षाको हद हुन्छ महत्वकांक्षाले सिमा पार ग¥यो भने मान्छे खारानी हुनुको बिकल्प हुँदैन । त्यसैले अरुको रिस, डाह र आरिस नगरौं । सुनको लंका बनाउने नाउमा गोजी भित्र रहेको सम्पत्तिलाई नसकौं । सन्तोषम् परणम् सुखम् भन्ने अभिव्यक्तिको प्रवाह मुक्तकारले उठान गरेको कुरा सहजै अनुमान गर्न सकिन्छ । सुख भन्दा अर्को सन्तोष संसारमा छैन । यहि कुराको सार मुक्तले बोलेको छ ।
शिक्षाप्रेमीले शिक्षाका लागि गाउँ, सहरहरुमा विद्यालय बनाए
पुस्तकप्रेमीहरुले ज्ञानका लागि ठाउँ, ठाउँमा पुस्तकालय बनाए
लिनेले थोरै शिक्षा र ज्ञान लिएछन्, ज्यादा अहम लिएछन्
परिणाम नेताहरु जन्मिए र तिनैले देशलाई शौचालय बनाए ।
भनिन्छ जस्तो गुरु उस्तै चेला । जस्ता आमाबुवा उस्तै छोराछोरी । आमा बुवा राम्रो हुँदा हुँदै पनि छोराछोरीले गलत गरे भने सबै अपजस समाजले आमा र बा को थाप्लोमा थोपर्ने गर्छ । त्यसकारण शिक्षकको काम असल शिक्षा दिएर विद्यार्थीहरुलाई दिक्षित गर्ने हो । पुस्तकालय ज्ञान र विबेकको भण्डारहो ।
पुस्तक अध्ययनबाट ज्ञानको दायरा फराकिलो हुन्छ सबैलाई थाहा भएको कुराहो । विद्याकुटीरबाट प्राप्त गरेको ज्ञान, सीपलाई शिष्यले अहम र घमण्डको रुपमा लिनुहुँदैन । कार्तवीर अर्जनु शिवका भक्त थिए उनले भगवान शिवबाट युद्धकलामा प्रयोग हुने अस्त्र भगवान शिवको कठोर आरधना पश्चात प्राप्त गरेका थिए । उनलाई यति सम्म घमण्ड थियोे । आफुलाई कसैले हराउन सक्दैन । त्यसैको उन्मादमा कार्तवीर अर्जुनको अत्याचार आफ्नो राज्यमा फैलिएको थियोे । तर समयले उनलाई परशुरामको हातबाट बध हुन बाध्य बनायो ।
ज्ञान,सिपलाई अहमको रुपमा कार्तवीर अर्जुनले नबुझेको भए परशुरामको हातबाट बध हुने दिन आउने थिएन । कुनै पनि मान्छेको लागि अहमता दुसपरिणाम युक्त विनास हो । आज नेपालमा जे भई रहेको छ त्यहीँ हर्कतको सारंस हो भन्ने कुरामा कविको मत रहेको छ ।
हिमाल, पहाड र तराईको आकार ग्रहण गरेर बनेको यति सुन्दर देश हुँदाहुँदै पनि देश चलाउने धुन्दुकारीहरुले नेपाललाई देशी तथा विदेशीहरुले शौचालय बनाएको प्रति मुक्तकारले रोष प्रकट मात्रै गरेका छैनन् देशमाथी गरेको उनीहरुको उत्पिडनका बिरुद्ध जनता भोली एकजुट हुन र उनीहरुलाई जरैदेखी उखलेर फाल्ने कुराको पनि चेत खुलाएका छन् ।
यो न तरल हुन्छ, न धुवाँ न धुलो हुन्छ
हेर्दा देखिँदैन तर समस्या भने ठूलो हुन्छ
कस्तो रोग हुर्काइरहेका छौँ हामी देशमा
भ्रष्टाचारको न त कनुै ओखतीमुलो हुन्छ ।
सत्ता बाहिर भएको बेला देशलाई स्विजरल्याण्ड र युरोप बनाएर देखाउने नेताहरुको कमि हाम्रो देशमा छैन । जनताहरु उनीहरुका गफ सुनेर उनीहरुलाई नपत्याएका पनि होइनन् ।
भ्रष्टाचारको जरोलाई जरैबाट उखलेर समृद्ध नेपाल सुखी नेपाली बनाउने नारा नेताहरुले नदिएका पनि होइनन् तर तिनै नेताको इसारामा उनीहरुकै कार्यकर्ताले ललिता निवास, ओम्नी, छालाजुता, वाइडबडी, फर्जी नागरिक बनाएर विदेश पठाउँने जस्ता अनेकौ ठाउँमा नेताहरुको मिलोमतोमा भ्रष्टाचार गरेको देख्दा साहित्यकार समीपको मन कुडिनु सम्म कुडिएको छ । जेलमा सड्नु पर्ने भ्रष्टाचारीहरु निर्वाध फुलमाला लगाएर जेलबाट रिहा हुने परम्पराले देशमा कानुनी राज्यको राज नभएको गुनासो व्यक्त गरेकाछन् ।
सरकारको न विश्वास छ न कुनै आश छ
लाग्छ यहाँ बस्तीभरी अपराधीको बास छ
सुरक्षा भगवान भरोसा भएको यो देशमा
अब त छोरी जन्माउन पनि बडो त्रास छ ।
भागिरथी र निर्मलाका बलात्कारीहरु अझै पक्राउ पर्न नसक्नु र राज्यलाई मुठ्ठी भित्र सिक्का झै अपराधीहरुले कब्जामा लिई पुलिस प्रशासनलाई निरीह बनाएको देख्दा मुक्तककार दीपक समीप वाक्क हुन्छन् । हरेक नागरिकको जनधनको सुरक्षा गर्ने जिम्मा राज्यको दायित्व हो ।
जुन समाजमा शान्ति सुरक्षाको ग्यारेन्टी हुन्छ त्यही देशनै सबल र सफल मानिन्छ । नाबालक नानीबाबुलाई विद्यालय पठाउँदा बलात्कारको सिकार भएर ज्यान गुमाउनु पर्ने अवस्था हुनुले सरकार प्रति साहित्यकारको विश्वासत टुटेकै छ । आफ्नै बस्ती वरिपरि अपराधी रहेको प्रति पनि समीप चिन्तिज छन् ।
सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मीबाट नागरिकको सुरक्षा नभएपछि भगवान भरोसाको मन्त्र जपेर पुकार्नुको बिकल्प नदेखेपछि । छोरी जन्माएर पाप कमाउनु भन्दा छोरीनै नजन्माउने निधोमा पुग्नुले भोली सृष्टि निर्माणको वातावरणमा समेत असर पर्ने भएकोले उहाँको गहन चिन्ता प्रति राज्य चनाखो हुनुपर्ने कुरा मुक्तकारले औंल्याउनु भएको छ ।
आमाको मन छोरा सम्झी धर्कनु धर्कन्छ
जहानको जीवन झन् सिसा झैँ चर्कन्छ
अब कसरी मन धान्ने भनिदेऊ ए सरकार
जब परिवारको भरोसा बाकसमा फर्कन्छ
कुनै पनि देशको नागरिक रहरले बिदेशीदैन । भोकले नत देश भन्छ नत प्रदेश भन्छ । पापीपेटलाई साँझ विहान दुई छाक नभई गुजरा चल्दैन । जसको मेरुदण्डमा सिङ्गै घरपरिवार अडिएको छ । त्यही छोरा विदेशीनु पर्दा आमाको मन रुनु स्वभाविकनै हो ।
जीवनको सुनौलो सपना बोकेर गएको छोरा काठको बाकसमा फर्किनु पर्दाको पीडा श्रीमतीको लागि सोच्नै नसकिने कुराहो ।युवालाई विदेश निर्यात गरेर विदेशबाट युवाले पठाएको रेमिटान्समा पेटपाल्ने सरकार पिडित परिवारबाट विमुख भएर टाढिएको कुरालाई साहित्यकार समीपले मिहिन रुपले उठान गरेका छन् । चाइदाको भाँडो अचाइदाको ठाँडो पिडित परिवारलाई बनाउनु हुँदैन ।
पिडित परिवारको धुरी खाबो भाँचिए पनि उक्त परिवारप्रति राज्य उदासिन नहोस । पिडित परिवारलाई राज्यले गर्ने कर्तव्यबाट पछि राज्य नहटोस भन्ने कुराको सुझाब सासकहरुलाई ज्ञात गराएका छन्।
नेताले कार्यकर्तालाई दास बनाएर छोडे
आफ्नाहरुलाई मात्रै खास बनाएर छोडे
विकास, समृद्धि अब हाम्रै पालमा भन्थे
जनतालाई चाहिँ उठिबास बनाएर छोडे
उत्पिडनमा परेका मान्छेहरुको पहुँच राज्यको समुचित ठाउँमा पुग्न नसकेका कारण देश एकात्मक शासन प्रणालीबाट देशको शासकीय स्वरुप बदलिएर मुलुक संघीयतामा गएको कुरा दिनको घामझै छर्लङ्ग छ । प्रत्यक्षनिर्वाचन प्रणालीमा पनि अल्पसंख्यक, पिछडा, मधेसी, जनजाति, दलितहरुको भने जति उपस्थिति नीति निर्माण गर्ने ठाउँमा नभएकोले समानुपातिक प्राणीबाट उनीहरुलाई पु¥याउने उद्देश्य लिएर समानुपातिक कोटाको व्यवस्था गरिएको थियोे ।
विडम्बना त्यो तरिकाले पनि उत्पिडनमा परेका मान्छेहरु उक्त ठाउँ जानबाट बञ्चित रहे । उनीहरुको नाम भजाएर त्यहाँ पनि नेताहरुका आफन्त, भाइभतिजा, साला, साली श्रीमती, प्रेमीका र पैसाको आडमा मधेसिको कोटमा विनोद चौधरी जस्ता मान्छेहरु पुग्ने भ¥याङ्ग बन्यो ।
लगनशील पार्टीको कार्यकर्ताको आवाज उसको योगदान सुनुवाई नहुने र गोजीका कार्यकर्तालाई लाभ प्राप्त हुने ठाउँमा भर्ति गरी सोझासिधा कार्यकर्तालाई दास बनाएर घरनघाटको बनाएको प्रति मुक्तकारले नेताहरुप्रति शब्दवाण प्रहार गर्दै चेतावनी समेत दिएका छन् ।
नेता जनता र समाजको भलाईको लागि ऊ चौकीदार हो तर आफुलाई कार्यकर्ताहरुको बा र समाजको मालिक बताउने नेता–नेता नभएर ऊ एक कठोर देशको तानासाह हो ।
यिनिहरुले देशलाई बलिको बोका बनाएर जनताको उठिबास बनाएको कुरा प्रति जसरी फेवाताल आफू अतिक्रमित भएको कुराप्रति आफ्नो छातिमा निलो दह बनाएर गहिरो शोक जताई रहेको छ । साहित्यकार समीप पनि त्यसरीनै नेताहरुको गलत हर्कतलाई ध्वस्त गर्न पार्टी भन्दा माथी उठेर देशप्रति सोच्न र गम्भीरहुन समाजका चेतनशिल नागरिकलाई मुक्तकिलो भाषाको प्रयोगद्वारा खबरदारी गर्नका साथै उत्तिकै चिन्ता प्रकट गरिरहेका छन् ।
भाग्यमा लेखेको जे छ टार्छु भनेर पनि टर्दैन
भेट हुँदा मुस्कुराइदेऊ तिमी मेरै हुनु नि पर्दैन
फुललाई हेरँ , जूनलाई हेरेँ ती सबै ठिकै लागे
तिमीलाई जति हेरे पनि आँखालाई धीत मर्दैन
माथीको मुक्त अध्ययन गर्दा कतै मुक्तकार समीप प्रेमको घनचक्करमन परेर प्रेम रुपी हथौडाको मार त कतै खाएनन् यस्तै अनुभुती पाठकलाई लाग्ने गर्छ । भोगाईले मान्छेलाई पाको र जिम्मेवार बनाउँछ । हुन त देखेको कुरा कहिल्यै आफ्नो हँुदैन भाग्यमा जे लेखेको छ त्यही आफ्नो हो ।
यतिका समय सम्म छोडेर जाने निर्मोही प्रेमीका प्रति नौनी बनेर पग्लिरहनु र गहिरो प्रेम प्रेमीका प्रति जताई रहनु अमर प्रेमको निशानी हो । इश्वरको लागि मुख्य आभुषण फुल भन्दा अरु केही छैन । जून भन्दा सितल ग्रह अर्को कुनै छैन । नाङ्गा आँखाले जूनलाई जति हेरपनि जूनले आँखाको रोसनीलाई असर गर्दैन ।
फूल र जूनलाई ठिकैको दर्जा दिएर अहिलेसम्म पनि छुटेर गएकी प्रेमीकालाई हेरेर नघाएको कुराले प्रेम गर्ने जोकोहीलाई भावुक बनाउँ छ । यौन प्राप्तिको लागि सम्बन्ध जोड्नु प्रेम होइन प्रेम त निस्वार्थ र निर्भय रुपले एकले एर्कालाई बुझेर सुखदुःखमा सहयोग गर्नु प्रेमहो। प्रेमलाई भौतिक सुखसंग जोड्नु मूर्ख कुराहो भन्ने सन्देश मुक्तकारले चेतना प्रवाह गरेका छन् ।
हिजो जे भयो भोलि के होला बताउन गाह्रो छ
उहिले भएको असमान सन्धि पल्टाउन गाह्रो छ
अहिले छिमेकी देशहरुले गरेको व्यवहार देख्दा
लाग्छ भोलि तिनिहरुसंग देश बचाउन गाह्रो छ
देशको बारेमा केही कुरा माथी नै बोलिसकेको छु । जब जब राष्ट्रियता माथी भारत र चिनद्वारा सिमानामा केही हर्कत हुन्छ तब नेपालका मिडिया, कार्यकर्ता र नेताहरुको भाषण र बोली, बोलेरै चट्टान पगाल्ने भन्दा पनि रापिलो हुन्छ । जब बिषय बस्तु वर्तमान हुँदै भुतकाल मा परिणत हुनपुग्छ बिषय बस्तु सेलाएर सेती नदीको पानी भन्दा चिसो हुन्छ ।
त्यसपछि भविष्य प्रति चिन्ता देखाउने कोही मनुवा हुँदैनन् नत छाती खोलेर बोल्न आँटनै कसैको सडकमा देखिन्छ । सरकार मौसम झै फेरिरहन्छ । राष्ट्रियताको मुद्धामा कुनै पनि सरकारको एकमतको स्थीर नीति छैन । त्यही नीतिको धज्जीया उडाएर भारतले सिमाना विस्तार गरी रहेको छ ।
उता चिनले पनि बेलाबेला हर्कत त देखाइ रहन्छ नेपाल प्रति । राष्ट्रियता प्रति देशका सासकहरु गम्भीर नभएका कारण भारतले नेपालका सिमाना दिनहु मिचि रहेकै हुन्छ । भारतको दादागिरी प्रति सरकार उदासिन देखिनुले छिमेकीहरुबाट भोली देश बचाउन मुस्किल भएको कुरा साहित्यकारले तितोसत्य बिरेचन गरेकाछन् ।
केवल लिन मात्रै खोजे देशलाई कसैले दिनदखोजेनन्
टुक्राटुक्रा बनाए मन, एउटै कित्तमा उभिन खोजेनन्
मलाई त भन्न पनि लाज लाग्छ, सुन्न पनि लाज लाग्छ
देश बदल्न खोज्नेहरु कहिल्यै आफू बदलिन खोजेनन्
राजनीति गर्नुको उद्देश्य समाज र जनताको भलाई को लागि हो । राजनीतिको नाउमा पेट भर्न र कार्यकर्ता भरणपोषण गर्न राजनीति गर्नेहरु बिरुद्ध मुक्तकार क्रोधित छन् । देश बनाउने सपना बोकेर गएकाहरु किकासको नाउँमा बैधानिक अबैधानिक भ्रष्टाचार र बेतिथीमा चुर्लुम्म डुबेको देखेर साहित्यकार वाक्क दिक्क छन् ।
भ्रष्टाचारको सिनोले देश नै गनाएपछि उनीहरुलाई दण्डित गर्न नागरिकहरु कहिले जाग्ने ? प्रश्न नागरिक प्रति पनि सोझिएको छ । नेताहरु सच्चिने संकेत नभएपछि उनीहरुको हर्कतले ‘ह..भन्दा देख्नेलाई लाज’ भन्ने उखान चरितार्थ भएको छ । भ्रष्टाचारीको मुल जरो जरैदेखी उखलेर निर्मुल पार्नुको विकल्प नरहेको कुरा मुक्तकले मिहिन रुपले उजागार गरेकाछन् ।
मान्छे चिन्न उसको व्यवहार र कामलाई हेर्न सक्छौ
देशको स्थिति कस्तो छसडक जमलाई हेर्न सक्छौ
यहाँ बाध्यता कमजोरी फाइदा सबले लिने रहेछन्
उदाहरण उदाँदै र डुब्दै गरेको घामलाई हेर्न सक्छौ
हुने विरुवाको चिल्लो पात भने झै । मान्छेलाई चिन्ने कसी भनेको उसको व्यबहारनैहो । मीठो कुरा र गोरो छालाले मान्छे चिनिदैन । आफुलाई विद्वत बताउने मान्छेहरु पनि स्खलन भएका तमाम उदाहरण छन् । मन्छेलाई पाको र निपुर्ण बनाउने उसको व्यबहार अकाट्य कुराहो । सोझा–साझा जनताको जनादेश लिएर नेताहरु सत्तामा पुगे तर जनतालाई‘जो जोगी आए कानै चिरेका’ भयो एउटा नेताको कमजोर लिएर अर्को नेता भोट माग्न आउँ छ जनताले उसलाई पत्याएर भोट दिइहाल्छन् । सत्तामा पुगेपछि ऊ पनि पहिलेको भन्दा कमको हुँदैन ।
सहर अस्त व्यस्त र फोहर छ । दुसित हावा फैलाएर मान्छे नै दुसित भईरहँदा राज्य हारेको गोरुझै निरीह देखिन्छ । बिकासका नाउँमा उत्खन भएका बाटा घाटहरु बर्षौसम्म बन्दैनन् । चक्का जामको मारमा परेर यात्रु शास्ती खेपि रहेको हुन्छ सरकार मौनता साँधेर बसिरहेको हुन्छ । बषौँ भयो मुग्लिन पोखरा सडक र बुटवल गैँडाकोट सडक अझै बन्न सकेको छैन्, तर उपलब्धि शून्य छ । धुवाँधुलो र उबडखाबड बाटोको यात्राले यात्रु थकित र यात्रु बिमारी भईहाल्छ । तर ठेकेदार प्रति राज्य ठोस निर्णय गरेर समस्याको समाधान हल गर्न सक्दैन ।
आदि–आदि कुराहरुलाई साहित्यकार दीपक समीपले मुक्तकिए विधाको प्रयोग गरी गहिरो र चोटीलो रुपले हरेक बिषयमा ब्यङ्गे र प्रहार गर्दै सम्बन्धित निकायलाई चोटिलो प्रहार गरी मुक्तहरु लेख्नु भएको छ । ‘अक्षर–अक्षरमा देश’ नेपाली साहित्यको मुक्तक विधामा पर्ने एक प्रतिनिधि कृति हो । मुक्तक तथा साहित्यकार दीपक समीपले हरेक बिषय बस्तुलाई गहिरो प्रकारले दृष्टिगोचर गर्दै धेरै सुन्दर प्रकारले मुक्तकहरु लेख्नु भएको छ । देश सबैको मुटुमा हुन्छ तर उहाँले अक्षरको मुटुमा देशलाई राखेर साहित्य सृर्जना गर्नुभएको छ।
बिएन पुस्तक सन्सारले ‘अक्षर–अक्षरमा देश’ कृतिलाइ प्रकाशन गरी बजारमा ल्याएको छ। कृतिको मूल्य रु दुइसय पचास रहेको छ ।
संग्रहमा १०१ मुक्तकहरु समावेश छन् । एकपटक एक से एक मुक्तहरुको रसपान र आस्वादन गर्न अक्षर–अक्षरमा देश अध्ययन गर्ने सुझाउँदै तपाईंहरु पनि साहित्यकार दीपक समीप ले झै देशलाई यसरीनै प्रेम गर्नु हुनेछ । यो देशका सासकहरुको नजर यो पुस्तकमाथी परोस् ।
यति सुन्दर कृति लेखेर तपाईंको देशप्रति छल्किएको प्रेमलाई पाठकलाई आस्वादन गर्ने अवसर दिनु भएकोमा तपाईंलाई बिशेष आभार ।