२०८१ चैत्र ३
×

Now Playing

अपाङ्गता भएका व्यक्तिलाई अवरोध नै अवरोध

कर्णालीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि अवरोधको अवस्था न्यूनिकरण हुन सकेका छैनन् । सडक, सार्वजनिक भवन, विद्यालय, सञ्चारलगायतका स्थान अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिलाई अवरोध सिर्जना भईरहेको छ । सार्वजनिक सेवा लिन, पढ्न एवम् न्यायको पहुँचमा पुग्न समेत अपाङ्गता भएका व्यक्तिलाई सकस नै छ ।

सिम्ता गाउँपालिकाका चेतन सुनारले अपाङ्गता भएका व्यक्तिहरु सामाजिक गतिविधिबाट टाढा हुनुपरेको गुनासो गरे । दृष्टिविहिन अपाङ्गता रहेका उनले खासगरी भौतिक अवरोधकै कारण औपचारिक शिक्षा हासिल गर्न नपाउनु, उपचारमा समस्या र न्यायको पहँुचमा समेत समस्या सिर्जना भएको जनाए ।

लोकसेवा आयोगबाट उर्तिण भएर सिफारिस हुदाँ समेत सो स्थानमा अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक स्रोतसाधन र उपयुक्त भौतिक संरचनाको व्यवस्था नै नहुँने गरेको उनको गुनासो छ ।

भेरिगंगा नगरपालिका–१२ का शेरबहादुर वली पनि दृष्टिविहिन हुन् । चेतन सुनारको जस्तै समस्या उनलाई पनि छ । विकासको क्रममा सडक फराकिलो बनाइएको भएपनि अपाङ्गता भएका व्यतिmहरुको लागि अपाङ्गतामैत्री सडक भने नभएको उनको गुनासो थियो । अपाङ्गता भएकै कारण विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्नबाट समेत वञ्चित हुनुपरेको उनले गुनासो गरे । विहिवार वीरेन्द्रनगरमा आयोजित दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा नेपाल नेत्रहिन संघ, सुर्खेतद्वारा आयोजित अन्र्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोध अझै नहटेको उनीहरुले बताएका हुन् ।

नेपाल नेत्रहीन संघ, सुर्खेतका सह सचिव उत्तम विकले अपाङ्गता भएका व्यक्तिको मुद्धाका सवालमा आवाज उठाउनुपर्ने बताए । कतिपय स्थानमा अपाङ्गता भएका व्यक्तिहरुको काम गर्ने इच्छा हुदाँहुदै पनि अवसर नै पाउने नगरेको उनले बताए । अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र, स्वास्थ्य परिक्षण गर्ने व्यवस्था लगायतका सवालमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार कर्णालीमा नौं हजार सात सय ३९ जना दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति छन् ।

दृष्टि सम्बन्धी तथ्यांकमा पुरुषको संख्या भने चार हजार सात सय ८१ जना र महिलाको संख्या भने चार हजार नौं सय ५८ जना रहेको छ ।

यसमध्ये कर्णालीमा न्यून दृष्टि युक्त भएकाको संख्या सात हजार चार सय ७१ जना रहेको छ । न्यून दृष्टि सम्बन्धी अपाङ्गता हुनेहरुमा पुरुषको संख्या तीन हजार ६ सय ४९ र महिलाको संख्या तीन हजार आठ सय २२ जना रहेको छ ।

यसैगरी पूर्ण दृष्टिबिहिन भएका व्यक्तिहरुको संख्या भने दुई हजार दुई सय ६८ जना छ । यसमा पुरुषको संख्या एक हजार एक सय ३२ र महिलाको संख्या एक हजार एक सय ३६ जना रहेको छ ।

कर्णालीमा अझैपनि दृष्टिविहिन सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक पूर्वाधार र यातायात प्रणालीहरुमा प्रायः श्रव्य तथा ब्रेल संकेत लगायतका पहुँचयुक्त सुविधाहरुको अभाव छ ।

यस अवस्थाले दृष्टिविहिन अपाङ्गता रहेका व्यक्तिहरुलाई स्वतन्त्र रुपमा आवागमन गर्न र सार्वजनिक सेवाहरुको प्रयोग गर्न समेत कठिलाई उत्पन्न हुन्छ ।

‘आयआर्जनमा जोड्दैछौ’

कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी भने अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जन सम्बन्धीका कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरिरहेको बताउछन् ।

चालु आर्थिक वर्षमा उनीहरुलाई जिविकोपार्जन, सहायता सामागी्र उत्पादन लगायतका व्यवसायिक कार्यक्रमहरु प्रदेश सरकारले बजेटमा समावेश गरेको उनले बताए ।

प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि लक्षित गरी सबै मन्त्रालयबाट लक्षित वर्ग विशेष कार्यक्रम बनाउने निति नै लिएको उनले बताए ।

‘कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुका लागि गत वर्षमा जति गनुपर्ने कार्यक्रमहरु थियो, त्यति कार्यक्रमहरु सम्बोधन हुन सकेनन्’, मन्त्री जिसीले भने, ‘यो वर्ष भने उहाँहरुका लागि जिविकोपार्जन कार्यक्रमलाई आयआर्जन केन्द्रित बनाउने सोचमा प्रदेश सरकार छ ।’

अहिले आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट पनि शिक्षा क्षेत्रको कार्यक्रम विशेष सिकाईको माध्यम होस् भनेर प्रविधि हस्तान्तरणको माग गरेको उनले बताए । वन पर्यटन मन्त्रालयबाट सीपमुलक कार्यक्रमहरु संचालन समेत भइरहेको उनले जनाए ।

अपाङ्गता भएका व्यक्तिलाई अवरोध नै अवरोध

YUGAAWHAN NATIONAL DAILY (2080-08-15)