२०८१ चैत्र २
×

Now Playing

आगलागीबाट जनधनको क्षति बढ्दै, ४५१ घटनामा ४३ जनाले ज्यान गुमाए


घटना–१
गत चैत २ गते कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी एकै परिवारका बाबु छोरीको मृत्यु भयो । उक्त घटनामा परी घाइते भएका ५० बर्षिय नन्दराम चौलागाईँको उपचारका क्रममा चैत ७ गते दिउँसो मृत्यु भयो । उनकी १२ बर्षिया छोरी हेमन्ती चौलागाईको चैत ५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

घरमुनिको वनमा बाख्रा चराउन गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी छोरी हेमन्ती पनि वनमा लागेको डढेलोमा परेर जलेकी थिइन् ।

आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । घाइते बाबुछोरीलाई चैत ३ गते बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएपनि उनीहरुलाई बचाउन सकिएन । बाबुछोरीलाई चार दिनसम्म सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरेपनि बचाउन नसकिएको अस्पतालका डाक्टर केएन पौडेलले बताए ।

घटना–२
गत चैत २६ गते डोल्पाको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा तीन जना सैनिकको ज्यान गयो । डढेलोमा परेका चार जनामध्ये जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको घटनाको केहिबेरपछि मृत्यु भएको थियो । भने गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्दार गरी छिट्टै अस्पताल पु¥याएपनि बचाउन नसकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार आगो निभाउने क्रममा घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचारपछि गुल्ममा फर्किएका छन् । सुरक्षाकर्मीहरूसँग अग्नी नियन्त्रणका लागि पर्याप्त उपकरण नहुनु र तीव्र गतिमा चलेको हावाका कारण बढी क्षति हुन पुगेको उनले बताए ।

घटना–३
गत चैत २९ गते डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा डढेलोमा परी तीन जना बालबालिकाको मृत्यु भयो । स्कुल बिदाको समयमा गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिकाले आगलागीबाट ज्यान गुमाए ।

उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा मृत्यु भएको थियो । भने १० बर्षिय सुलश बुढाको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडामात्रै १६ लाख ५० हजार रुपैयाँ खर्च भएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

माथिका यी घटना उदाहरण मात्रै हुन् । तर प्राकृतिक तथा मानविय लापरवाहीका कारण कर्णालीमा आगलागीका घटनासँगै ठुलो जनधनको क्षति बढ्दो क्रममा छ । विगत तीन ३ बर्षको अबधिमा मात्रै कर्णालीमा चार सय ५१ आगलागीका घटनामा परी ४३ जनाको मृत्यु भएको छ । भने ५१ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आगलागीबाट पाँच सय दुई घर नष्ट हुँदा सवा ५६ करोड बराबर क्षति भएको छ । प्रहरीका अनुसार चालु आर्थिक बर्ष मात्रै एक सय ४३ वटा आगलागीका घटना भएका छन् । जसमा परी १७ जनाले ज्यान गुमाइसकेका छन् । भने ११ जना घाइते भएका छन् । झण्डै १२ करोडको क्षति भएको आँकडा छ ।

सामान्य लापरवाहीले जान्छ ज्यान
सामान्य लापरवाहीले घरमा आगलागी हुने र मानिसको ज्यानैसम्म जाने घटना हुन थालेका छन् । घरमा बालेको आगो राम्रोसँग ननिभाउने, कोठाभित्र संवेदनशिल स्थानमा आगो बाल्ने, वनमा डढेलो लगाउने जस्ता कार्यले मानिससँगै जीवजन्तुको पनि मृत्यु हुने गरेको छ ।

आगलागीको मुख्य कारण नै असावधानी हो । जसको एक उदाहरण हो हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउका ५५ वर्षीय हर्के ऐडीले आगलागीबाट ज्यान गुमाउनु । गत चैत २८ गते राति गाउँभन्दा झण्डै अढाई घण्टा पैदल दूरीको कुरिल्ला लेकको भेडीगोठमा उनको आगलागीबाट मृत्यु भएको थियो । राती सुत्दा आगो ननिभाइकन सुतेका उनी आगो फैलिँदा उनीसँगै गोठमा रहेका ६० वटा भेडासमेत मरेका थिए ।

त्यस्तै गत बर्ष माघ २३ गते जुम्लाको चन्दनाथ नगरपालिका–१ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको थियो । आगो ननिभाईकनै सुतेका भण्डारी परिवारमा तीन जना घाइते भए । आगो घरको दोस्रो तलाबाट सल्किँदा घरको तेस्रो तलामा सुतेकी बन्दनालाई स्थानीयले बचाउन सकेनन् ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार आगोजन्य वस्तु असावधानीवस वन क्षेत्रमा छोडिदिँदा ठूलो क्षति हुने गरेको छ । कार्यालयले हाल सचेतना फैलाउने र घटनामा संलग्न ठहरिए कारबाहीको दायरामा ल्याउने काम गरिरहेको छ । वन क्षेत्रमा चुरोट खाएर जथाभाबी फाल्दा, आगो लगाएर स्याउला नष्ट गर्न खोज्दा र वनभोज लगायत प्रयोजनमा बालिएको आगो ननिभाउँदा पनि वन क्षेत्र मासिने गरेको छ ।

टुकी ननिभाई सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत् सर्ट हुँदा पनि आगजनी हुने गरेको छ । कर्णालीमा अधिकांश घर काठका हुने र कोठाको उचाई कम हुँदा पनि आगोले छिटो टिप्ने र फैलिने गरेका घटना छन् ।

आगो नियन्त्रण र उद्दारमा ढिलाई
कर्णालीमा हुने अधिकांश आगलागीका घटनामा आगो नियन्त्रण र उद्दारमा ढिलाइ हुने गरेको छ । अधिकांश स्थानीय तहमा बारुण यन्त्र नहुनु, भौगोलिक विकटताका कारण घटना स्थलमा पुग्न ढिलाई हुनु र आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको छ ।

कर्णालीका जिल्ला सदरमुकाममा रहेका दमकलसहित सेना तथा प्रहरीको टोलीसमेत आगलागी हुँदा समयमै पुग्दैनन् । प्रदेश राजधानी सुर्खेतमै आगलागी हँुदा समयमै नत दमकल पुग्छ, नत उद्दार टोली नै । त्यसैमा झन् पानीको चरम अभावले आगो नियन्त्रणमा सकस पर्ने गरेको छ । भने अन्य जिल्ला र गाउँमा हुने आगलागी नियन्त्रण गर्न सजिलो छैन ।
यही बैशाख २ गते दिउँसो वीरेन्द्रनगरमा भएको आगलागी नियन्त्रणमा समेत जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय अभावले ठुलो क्षति भोग्नु प¥र्यो ।

वीरेन्द्रनगर–६ खोर्केखोला नजिकै रहेको ज्वाला टे«डर्सको गोदाममा आगलागी हँुदा भवन रंगरोगन तथा प्लम्बिङका लाखौं मुल्यका सामानसहित गोदामसँगै जोडिएको यज्ञपिस बोर्डिङ स्कुलको तीन कोठे भवन समेत जलेको छ ।

आयो नियन्त्रणका लागि समयमै दमकल तथा तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना लगायत जनशक्ति परिचालन गर्न जिल्ला प्रशासनको समन्वय कमजोर देखियो । सुख्खायाम सुरु भएसँगै हाल कर्णालीका दर्जनौ स्थानमा आगलागीका घटना भइरहेका छन् । आगलागीका घटना हुन नदिन र भइहालेमा आगो नियन्त्रण तथा उद्दारमा ढिलाइ नगर्न सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्न जरुरी छ ।