उडान महङ्गो भएपछि पुनःरोकियो कर्णालीको आन्तरिक उडान



रमेश रावल
सुर्खेत, २५ फागुन ।
तारा एयरले सुर्खेतबाट कर्णाली तीन हिमाली जिल्लामा हुने उडान बन्द गरेको छ । तारा एयर ९ पुस २०८१बाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको हो । कर्णाली प्रदेश सरकारले सहमतिमा तारा एयरले हिमाली जिल्लामा उडान भर्दै आएको थियो । यात्रु अभावका कारण महङ्गोमा उडान गर्नुपर्नेभएपछिकर्णालीको आन्तरिक हवाई सेवा पुनः बन्द भएको हो ।

हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । हरेक उडानमा नोक्सान व्यहोर्नुपर्ने भएपछि सेवा बन्द गर्नुपरेको हिमाली टुर्स एण्ड ट्राभल्सले जनाएको छ । अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको ट्राभल्सका निर्देशक मिनबहादुर रावलले बताए । ‘हिमाली टुर्स एन्ड ट्राभल्सले तारा एयरको ट्वीनअटर विमानमार्फत उडान सुरु गरेका थियौं,’ उनले भने,‘सहयोग नपाएपछि उडानमा घाटा खाएर काम गर्न सकिने अवस्था रहेन अहिले बन्द गरेका छौं ।’

प्रबन्ध निर्देशक रावलका अनुसार हाल प्रतिउडान जुम्ला र मुगुमा एक लाख ७५ हजार र हुम्लामा दुई लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको थियो । यात्रु नहुँदा यो रकम कम्पनी आफैँले व्यहोर्दै आएको छ । तीन जिल्लामा हुने साताका दुई उडानका लागि भाडादरसमेत तय गरिएको छ । जसमा सुर्खेत–मुगु–सुर्खेत छ हजार पाँच सय, सुर्खेत–जुम्ला–सुर्खेत पाँच हजार पाँच सय र सुर्खेत–सिमकोट–सुर्खेत रुटमा आठ हजार भाडादर तोकिएको छ । यो भाडादर नेपालगञ्जको भन्दा सस्तो हो । अहिले मुगु–नेपालगञ्ज सात हजार पाँच सय भाडादर रहेको छ ।

झण्डै ६वर्षपछि आफूहरूले कर्णालीवासीलाई जहाज चढ्न नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य गरेको भए पनि यात्रुको अभावले चुनौती झेल्नु परेको उनले बताए । कर्णालीको आन्तरिक आकाशमा जहाज उडाउन निजीक्षेत्रको एकल प्रयासले मात्रै नहुने उल्लेख गर्दै रावलले इन्धन र हवाई शुल्कमा सहुलियतको अविलम्ब व्यवस्था गर्नुपर्ने बताए । प्रदेश सरकारले हवाई सेवामा प्रदान गर्ने भनिएको सहुलियत कार्यविधि नबन्दा अघि बढ्न नसकेको उनले बताए ।


अर्थले रोक्यो सहुलियत कार्यविधि

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले भनेका थिए, ‘कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थलमा हुने यात्रु हवाई उडान संख्याका आधारमा हवाई सेवाप्रदायकलाई सहुलियत प्रदान गर्न रकम विनियोजन गरेको छु ।’

सुर्खेत केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने एयरलाइन्सहरूलाई इन्धनमा सहुलियत दिने उद्देश्यले कर्णाली प्रदेश सरकारले उक्त आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँसमेत विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि यही शीर्षकमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ ।तर, हवाई इन्धनमा सहुलियत दिने घोषणा भएर बजेट विनियोजनसमेत भइसकेको अवस्था भए पनि घोषणा कार्यान्वयनका लागि हालसम्म आवश्यक कार्यविधिसमेत बनिसकेको छैन ।

सडक यातायात कठिन रहेका कर्णालीका पहाडी र दुर्गम जिल्लाका नागरिकहरूलाई नियमित रूपमा सहज, सुलभ हवाई सेवा निरन्तर रूपमा गराउने उद्देश्यले प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको थियो । एयरलायन्सहरूलाई इन्धनमा सुविधा दिने घोषणा गर्नुअघि प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकहरूका लागि विमान टिकटमा १ हजार रुपैयाँ सहुलियत दिँदै आएको थियो ।

प्रदेश सरकारले सुर्खेत केन्द्र हुँदै हवाईजहाजबाट कर्णालीका अन्य जिल्ला जाने र आउने ज्येष्ठ नागरिकका लागि प्रत्येक टिकटमा १ हजार रुपैयाँ सहुलियत दिने गरेको थियो । कर्णालीका दुर्गम भेगका नागरिकको विमान टिकटमा सहुलियत कार्यक्रममा पहुँच नै कम हुन थालेपछि कर्णाली प्रदेश सरकारले सुर्खेत केन्द्र बनाई विमान उडान भर्ने एयरलाइन्सलाई नै इन्धनमा सहुलियत दिने कार्यक्रमको घोषणा गरिएको थियो । तर, त्यो घोषणामै सीमित भएको छ ।घोषणा भएको लामो समयपछि बनाइएको सहुलियत कार्यविधि कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले रोकेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले इन्धन सहुलियतको विषय मन्त्रालयले अपनत्व लिएसँगै कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको बताउँछन् । तर,अर्थ मन्त्रालयले सहमति नदिएर फाइल फिर्ता गरेको उनले बताए । ‘नीति तथा कार्यक्रममा समेटिएको विषयलाई सहमति दिनुपर्ने दिनुपर्छ भनेका छौं,’ उनले भने,‘पुनः सहमतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाएका छौं ।’

कर्णाली प्रदेश सरकारले कर्णालीमा हवाई उडानलाई निरन्तरता दिनएयरलाइन्सहरूलाई आकर्षित गर्ने घोषणा गरे पनि पहाडी जिल्लामा नियमित हवाई उडान नहुँदा यात्रीहरूको समस्या ज्युँका त्युँ नै छ । सडक सञ्जालले नछोएका कर्णालीका उच्च पहाडी र हिमाली जिल्लाहरूमा यातायातको एक मात्र साधन भनेकै हवाई सेवा मात्र हो । तर पनि महँगोमा टिकट किन्नुपर्ने, किन्न खोजे पनि समयमा टिकट नपाइने र पाए पनि जहाज निर्धारित दिन र समयमा नउड्ने समस्या कर्णालीवासीले वर्षौंदेखि झेल्दै र भोग्दै आइरहेका छन् ।

यतीको परीक्षण उडान
वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाईन्सले कर्णाली र सुदुरपश्चिममा सेवा विस्तारका लागि परीक्षण उडान गरेको हो । यती एअरलाईन्सको एन–एएमएन एटीआर ७२ सिटे विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको यति यएरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

‘नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो सवा १२ बजे अवतरण गरेको थियो । भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो,’ उनले भने, ‘परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए ।’

परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनीधिहरुको टोली साथमा रहेका थिए ।यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य यती एअरलाईन्सले परीक्षण उडान गरेको जनाएको छ ।यती एअरलाईन्सले सात वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।

संघीयताअघि सुर्खेत विमानस्थलमा सीता, तारा, यतीलगायतका निजी हवाई सेवाप्रदायक कम्पनीका ट्वीनअटर विमानहरू दैनिक सुर्खेती आकाश भएर कर्णालीका माथिल्ला जिल्लाहरूमा उडान भर्थे । यात्रुवाहक तथा कार्गो विमान तथा हेलिकोप्टरले खाली नहुने विमानस्थलमा अहिले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत दैनिक चार उडान मात्र गर्ने गरेका छन् ।देश संघीयतामा गएसँगै साविक कर्णालीका चार जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँचबाहिर छन् ।

२०७४ अघि साविक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित रूपमा हुँदै आएका उडानहरू त्यसयता भने नेपालगञ्जबाट हुँदै आएका छन्, जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यतामा नागरिकहरू छन् ।

प्रदेश राजधानी भएसँगै सुर्खेत राजनीतिक, प्रशासनिक, आर्थिक तथा शैक्षिक हब बनेको वीरेन्द्रनगर दशवटै जिल्लाका नागरिकको रोजाइ बन्दै गएको छ । सुर्खेत विमानस्थलबाट नियमित रूपमा हिमाली र पहाडी जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा अध्ययन, रोजगारी, औषधी उपचार प्रशासनिक कामकाजका लागि वीरेन्द्रनगर आउजाउ गर्ने नागरिकले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ ।काठमाडौं–सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन ।

अझ नेपाल वायु सेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको छैन । उतिबेला सुर्खेतबाट माथिल्ला जिल्लाहरूमा यात्रु तथा कार्गो उडान हुँदा सरकारले लगाउने हवाई शुल्क महँगो पर्ने भन्दै निजी हवाई कम्पनीहरूले आफ्ना उडानहरू नेपालगञ्ज स्थानान्तरण गरेका थिए ।त्यसयता कर्णालीको आन्तरिक आकाशमा न सरकारले आफ्ना जहाज उडाउने प्रयास गरेको छ, न त निजी सेवाप्रदायक कम्पनीलाई नै जहाज उडाउन प्रोत्साहन गरेको छ । सञ्चालन खर्चका कारण सरकारी स्वामित्वको वायु सेवा निगम नै कर्णालीमा आन्तरिक उडान भर्न नसकिने जवाफ दिँदै आएको छ ।

उडान महङ्गो भएपछि पुनःरोकियो कर्णालीको आन्तरिक उडान

सम्पादकीय: गणतन्त्रको विकल्प राजतन्त्र होइन

उडान महङ्गो भएपछि पुनःरोकियो कर्णालीको आन्तरिक उडान

वीरेन्द्रनगर बजारमा ग्यास पड्किँदा होटलमा आगलागी पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *