एसओएसद्वारा स्वास्थ्य उपकरण सहयोग
सुर्खेत । एसओएस बालग्राम सुर्खेतले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बालग्रामले ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसर पारेर कोभिड–१९, संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
सहयोग सामाग्री सोमबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वीपना–७, नम्वर वडाअध्यक्ष धुब्रकुमार चपाई लगायतको उपस्थितिमा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सहयोग सामाग्री ग्रहण गर्दै वीनपाका प्रमुख सुवेदीले एसओएस बालग्रामले वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापनाका लागि गरेको पहल सराहनिय भएको बताउनु भयो ।
उहाँले वीरेन्द्रनगर कोभिड अस्पतालमा तत्कालै कम्तिमा ५ शैयाको बालमैत्री वार्ड स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयो । निर्देशक गिरीले एसओएस परिवार सवलीकरण कार्यक्रम अन्तर्गत करिब २ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरिएको बताउनु भयो । ‘निकट भविष्यमै कोभिड–१९, को तेस्रो लहर आउन सक्ने र उक्त लहरमा बालबालिकाहरु बढी जोखिममा पर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ,’ उहाँले भने, ‘विज्ञहरुको सुझावलाई आधार मानेर वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापना गर्नका लागि दुई वटा मनिटर सहयोग गरेका हौं ।’
उहाँले कोभिड–१९, महामारीले बालबालिकामा पर्ने सक्ने जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा कम्तिमा ५ शैयाको बालमैत्री वार्ड स्थापना गर्नु सुझाव समेत दिएको बताउनु भयो । आगामी दिनहरुमा पनि बालबालिकाको संरक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरि अस्पताललाई थप सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
उहाँका अनुसार एसओएस बालग्राम विगत ३५ वर्षदेखि कर्णाली प्रदेशसँगै लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लाका अभिभावकको संरक्षण गुमाएका तथा गुमाउने जोखिममा रहेका बालबालिकालाई विभिन्न कार्यक्रम मार्फत संरक्षण गर्दै आईरहेको छ । हाल एसओएस बालग्राम सुर्खेतले ५ सय ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य, शिक्षासँगै संरक्षण गर्दै आईरहेको निर्देशक गिरीको भनाइ छ ।