२०८१ चैत्र ३
×

Now Playing

कर्णालीका ६ गेमचेन्जर आयोजना समावेश हुँदै


संघीय सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डले आयोजना गर्न लागेको उक्त लगानी सम्मेलनका लागि सोकेसमा प्रस्तुत गरिने एक सय ३५ परियोजनाको सूची तयार भएको छ ।

अर्थ मन्त्रालयले तयार पारेको सूचिमा एक सय २८ सरकारी र सात निजी परियोजना प्रस्तुत गर्ने तयारी लगानी बोर्डले गरिरहेको जनाइएको छ । लगानी सम्मेलनका लागि कर्णालीका ६ वटा गेमचेन्जर परियोजनाहरु समावेश भएका छन् । कर्णालीको समृद्धिका लागि गेमचेन्जर मानिएका मुगु कर्णाली जलविद्युत, वेतन कर्णाली जलविद्युत परियोजना, नलगाड जलविद्युत परियोजना, जगदुल्ला अर्धजलासययूक्त जलविद्युत परियोजना, हुम्ला कर्णाली जलविद्युत आयोजना र बबई–छिन्चु सुरुङमार्ग आयोजना लगानी सम्मेलनका लागि छनौंट भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

‘सम्मेलनका लागि अहिले परियोजनाको अवस्था र नेपाललाई फाइदा हुने विषयलाई मार्केटिङ गर्नका लागि तयारी गरिएको छ,’ उनले भने, ‘बोर्डले तयार पारेका परियोजनामा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका र डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरु पनि राखिएका छन् ।’

उनका अनुसार कर्णालीबाट लगानी सम्मेलनका लागि समावेश भएका परियोजनाहरु केही नयाँ छन् भने अधिकांश जलविद्युत् आयोजना तथा सुरुङमार्ग रहेका छन् ।

सम्मेलनमा छानिएका परियोजना
लगानी सम्मेलनका लागि समेटिएको मुगु कर्णाली जलविद्युत आयोजना अहिलेसम्मकै सबैभन्दा धेरै मेगावाट विद्युत उत्पादन गर्न सकिने परियोजना हो । कर्णालीमा अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । यो आयोजना बाट एक हजार नौ सय दुई मेगावाट विद्युत उत्पादनको क्षमता राख्ने यो आयोजना लगानी सम्मेलनमा राखिएको छ ।

आयोजनाको इन्जिनियरिङ प्रतिवेदन एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार गरेको थियो भने यसको सम्भाव्यता अध्ययन नेपाल विद्युत् उत्पादन कम्पनीले गरेको हो । आयोजनाले तीन जिल्ला मुगु, हुम्ला र बाजुरालाई छुनेछ ।

चार खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको यो आयोजना निर्माण भएको खण्डमा वार्षिक पाँच हजार आठ सय ८३ दशमलव १० गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ असारमा विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई सर्वे लाइसेन्स प्रदान गरेको थियो । लाइसेन्स पाएसँगै कम्पनीले पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको थियो । अहिले उक्त आयोजनाको क्षेत्र निर्धारणको काम भइरहेको छ ।
त्यस्तै लगानी सम्मेलनका लागि छनौंट भएको बेतन कर्णाली जलविद्युत आयोजना कर्णाली प्रदेशकै गौरवको आयोजनाको रुपमा लिइएको छ । चार सय ३९ मेगावाट क्षमताको अर्धजलासययुक्त आयोजना सुर्खेतको चौकुने गाउँपालिकादेखि अछामको ढकारी गाउँपालिकामा निर्माण हुनेछ ।

अछाम खण्डबाट आयोजनास्थलमा पुग्न सडक निर्माणको काम सम्पन्न भइसकेको छ । सुर्खेत खण्डमा भने अहिले आयोजना स्थलसम्म सडक निर्माणको काम चलिरहेको छ । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट बाँधस्थलसम्म १४ किलोमिटर सडकको ट्याक खन्ने काम जारी रहेको छ ।

त्यस्तै आयोजनास्थलमा विद्युत विस्तारको प्रक्रिया पनि सुरु भएको छ । कैलालीको सुगरखालदेखि ३३ केभिए विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढेको हो । सुगरखालबाट आयोजनास्थल करिव ३० किलोमिटर टाढा पर्छ । यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनीयरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो ।

यो आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पु¥याइने छ । स्थानीयले १० प्रतिशत शेयर पाउने छन् । आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं. ७ र अछामको ढकारी गाउँपालिकाको वडा नं. ६ र तुर्माखाँद गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडाका बासिन्दा प्रभावित हुनेछन् ।

लगानी सम्मेलनमा अघि सारिएको चार सय १७ मेगावाटको नलगाड जलविद्युत आयोजनाको लागत १ अर्ब ४२ करोड लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ । जलासययुक्त आयोजना भएका कारण जलासय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने भएको हो ।

बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म आठ दशमलव पाँच किलोमिटर लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । पाँच सय मिटर लम्बाई र दुई सय ४८ मिटर अग्लो ड्याम बन्नेछ । जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

त्यस्तै हिमाली जिल्ला डोल्पामा बन्न लागेको जगदुल्ला अर्धजलासययूक्त जगदुल्ला जलविद्युत आयोजना पनि लगानी सम्मेलनका लागि छनौंट भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका हुँदै बग्ने जगदुल्ला नदीमा निर्माण हुने आयोजनाबाट एक सय ६ मेगावाट विद्युत उत्पादन हुनेछ ।
आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुने छ । जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत विद्युत गृहमा पानी खसालिने छ । सुरुङ ६ दशमलव १ किलोमिटर लामो हुनेछ ।

यहाँबाट उत्पादन भएको विद्युत सिधै रुकुम–पश्चिमको नेपाल विद्युत प्राधिकरणको बाँफिकोट सबस्टेशनमा जोडिने छ । राष्ट्रिय प्रणालीमा जोड्नका लागि करिब ४५ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ । आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको बाँफिकोट सबस्टेसनसम्म प्रसारणलाइन निर्माण गरिनेछ । यसको लागत झण्डै २० अर्ब बढी हुने जनाइएको छ ।

लगानी सम्मेलनमा समेटिएको ६१ दशमलव दुई मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना हुम्ला जिल्लाको नाम्खा गाउँपालिका भएर बग्ने हुम्ला कर्णाली नदीमा निर्माण गर्न लागिएको आयोजना हो । प्रस्तावित आयोजनाको लागि हुम्ला कर्णाली नदीको वारपार १० मिटर उचाईको बाँध निर्माण गरी नदीको पानीलाई करिब ६ हजार नौ सय ४१ दशमलव ६५ मिटरको लामो सुरुङ र चार सय ९१ दशमलव ३६ मिटर लामो पेनस्टक पाइपको माध्यम बाट नाम्खा गाउँपालिका वडा नम्बर ४ को सात सय मिटर माथि कर्णाली नदीको भु–सतहमा अवस्थित विद्युत गृहमा खसालिनेछ ।

त्यस्तै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको दुरी छोट्याउन अघि सारिएको बबई–छिन्चु सुरुङमार्गसमेत लगानी सम्मेलनका लागि छनौट भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले अगाडि बढाउन लागेको बबई–छिन्चु सडक सुरुङ मार्ग निर्माणको योजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेका थिए । केन्द्रलेले सुर्खेतमा पर्ने सडक खण्डमा पर्ने सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिसकेको छ ।

घुमाउरो र जटिल प्रकृतिका सडकमा सहज यात्राका लागि सुरुङ मार्ग निर्माण गर्ने सरकारको नीति अनुसार बबई–छिन्चु सुरुङ मार्गलाई लगानी सम्मेलनमा राख्न लागिएको हो । त्यसै अनुसार देशभर १० वटा सुरुङ निर्माण गर्ने योजना ल्याएको हो । सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत सुरुङ मार्ग निर्माणलाई प्राथमिता दिँदै आएको छ ।