२०८१ चैत्र ३
×

Now Playing

कर्णालीमा मातृ मृत्यदरको अवस्था डरलाग्दो

 

कर्णाली प्रदेशमा मातृ मृत्युदरको अवस्था डरलाग्दो छ । त्यसैमा झन् शिक्षित महिलाको तुलनामा अशिक्षित महिला उच्च जोखिममा छन् । पढेलेखेका महिलाको तुलनामा कम पढेका वा अशिक्षित महिलाको मातृ मृत्युदर बढी छ । राष्ट्रिय जनसंख्या र आवास जनगणना, २०२१ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रश्रवकालिन मृत्युदरमा प्रति एक लाख जनसंख्यामा एक सय ७२ जना मृत्यु हुने गरेको छ ।

नेपालमा प्रति एक लाख जनसंख्यामा एक ५१ जनाको मृत्यु हुने गरेकोमा कर्णालीमा त्यो जनसंख्याको अनुपातमा मृत्युदर २१ जना बढी हो । उक्त मृत्युदर घटाउन कर्णालीमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य बिषयमा जानकारी हुन आवश्यक रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका बरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईले बताइन् ।

‘नेपालमा सबैभन्दा बढी मातृ मृत्युदर लुम्बिनी प्रदेशमा रहेको छ । जहाँ एक लाखमा दुई सय सात जनाको मृत्यु हुने गरेको छ’ उनले भनिन्, ‘त्यसपछि बढि मृत्युदर कर्णालीमा हुने गरेको छ ।’ जनसंख्या गणना अनुसार कर्णालीमा हरेक बर्ष जिबित जन्म ३१ हजार तीन सय २३ हुने गरेको भएपनि प्रजनन उमेर समूहका ६ सय ५७ जना महिलाको मृत्यु हुने गरेको छ । जसमध्ये कुल मातृ मृत्यु अनुपात एक ७२ जना रहेको छ ।

जिल्लागत मृत्युदर अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये मातृ मृत्युदर अनुपातमा सबैभन्दा बढि सुर्खेतमा रहेको छ । जनसंख्याको अनुपातमा सुर्खेतमा १० जना मृत्युदर रहेको छ । सबैभन्दा कम जुम्ला जिल्लामा मात्र एक जनाको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, डोल्पामा तीन जना, मुगुमा दुई जना, हुम्लामा चार जना, कालीकोटमा ६ जना, दैलेखमा ६ जना, जाजरकोटमा आठ जना रुकुमपश्चिममा ६ जना र सल्यानमा आठ जनाको मृत्यु हुने गरेको छ ।

२० वर्षदेखि २४ वर्षका बढी मृत्यु
कर्णालीमा हुने मातृ मृत्युमा उमेर समूह अनुसार २० बर्षदेखि २४ वर्ष उमेरका बढी मृत्यु हुने गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराई बताइन् । ‘मातृ मृत्यु अनुसार कर्णालीमा २० बर्षदेखि २४ बर्ष उमेर समूहका ३५ प्रतिशत मातृ मृत्यु दर रहेको छ’ उनले भनिन्, ‘यो उमेर समूहको मातृ मृत्यु दर निकै डरलाग्दो अवस्था रहेको छ ।’

त्यस्तै १५ बर्षदेखि १९ वर्ष उमेर समूहका मातृ मृत्यु दर २४ प्रतिशत, २५ बर्षदेखि २९ वर्ष उमेर समूहको मातृ मृत्यु दर २२ प्रतिशत, ३० बर्षदेखि ३४ वर्ष उमेर समूहको मातृ मृत्यु दर १३ प्रतिशत र ३५ बर्षदेखि ३९ वर्ष उमेर समूहको मातृ मृत्यु दर ६ प्रतिशत रहेको निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले जानकारी दिइन् ।

अशिक्षित महिलामा मातृ मृत्यु दर बढी
कर्णाली प्रदेशमा शिक्षितभन्दा कम शिक्षितमा बढी मातृ मृत्यु दर रहेको छ । कर्णाली प्रदेशमा कहिलै विद्यालय नगएको वा थाहा नभएकोहरुमा २८ प्रतिशत मातृ मृत्यु दर रहेको बरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताईन् । ‘१ कक्षादेखि ८ कक्षासम्म पढेका २२ प्रतिशतमा मातृ मृत्यु दर रहेको छ । यस्तै कक्षा ९ देखि १२ कक्षासम्म पढेका महिलामा ५० प्रतिशत मातृ मृत्यु दर रहेको छ ।

स्नातक वा त्योभन्दा माथी पढेका महिलामा मातृ मृत्यु दर शुन्य रहेको अधिकृत भट्टराईले बताइन् । कर्णालीमा २० वर्षदेखि २४ वर्षका उमेरमा विवाह गर्ने ३० प्रतिशत, १८ वर्षको उमेरमा विवाह गर्ने २७ प्रतिशत र १५ वर्षको उमेरमा विवाह ६ प्रतिशत महिलाले गर्ने गरेका छन् ।

यस्तो छ, यौन तथा प्रजनन स्वास्थ्य अवस्था
नेपालमा स्वास्थ्य गणना सन् २०२२ का अनुसार विवाहित किशोरीहरुमा (१५–१९ बर्ष) जम्मा १४.२ प्रतिशतले मात्र आधुनिक गर्भनिरोधको साधनको प्रयोग गर्ने गरेको उल्लेख छ । करिब १४ प्रतिशत विवाहित किशोरीहरु बच्चा पाईसकेका वा गर्भवती भइसकेको र करिब ३०.९ प्रतिशत विवाहित किशोरीहरुमा गर्भनिरोधको साधनको अपरिपुर्त माग गर्ने गरेको निर्देशनालयले जनाएको छ ।

‘उच्च किशोरी प्रजनन दर एक हजार किशोरीहरुमा प्रति ७१ जना रहेका छन्’ वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले भनिन्, ‘वयस्कको महिलाको २० वर्षदेखि २४ वर्ष उमेर समूहको तुलनामा, गर्भधारणको कारण हुने मातृ मृत्यु दर १५ वर्षदेखि १९ वर्षका किशोरीहरुमा दुई गुणा एक्स दुईले बढी हुन्छ । १५ बर्षभन्दा मुनिकामा पाँच गुणा एक पाँचले बढि हुन्छ ।’ मातृ, नवशिशु, बाल मृत्यु स्वास्थ्यको लागि किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यमा लगानी आवश्यक गर्न आवश्यक रहेको अधिकृत भट्टराईले बताइन् ।

मातृ मृत्यु दर घटाउने प्रदेश सरकारको रणनीति
किशोर किशोरी यौन तथा प्रजजन स्वास्थ्यमा कर्णाली प्रदेश सरकारले बिभिन्न नीति तथा रणनीति तयार पारेको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को परिच्छेद ६ मा स्वस्थ्य सेवाको पहुँच बिषयमा बँुदा नं. २७ मा महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितता गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, प्रदेशमा बसोबास गर्ने महिलाहरुलाई प्रचलित कानुन बमोजिम प्राप्त सुरक्षित मातृत्व र प्रजनन, स्वास्थ्यको अधिकारको सुनिश्चितत्ता गरिनेछ भनेर उल्लेख गरेको छ । त्यसैको २. उपदफा १ बमोजिमको अधिकार कार्यान्वयनको लागी मन्त्रालयले नेपाल सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने भनिएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य नीति २०७६ मा पनि बुँदा नं. ६ निति तथा कार्य रणनीतिहरुमा नीति ७.१२ सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, परिवार नियोजन तथा प्रजनन सेवामा विकास र विस्तार गरी पहुँचमा सहजता ल्याइनेछ भनेको छ ।
त्यसैको ७.१२.७ प्रदेशका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्थानीय तहसँगको सहकार्यमा किशोर किशोरी मैत्री सेवा प्रदान गर्न सक्षम बनाइनेछ भन्ने उल्लेख गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए ।

उनले भने, ‘त्यसैको ७.१२.१२ सरोकारवालासँगको सहकार्यमा एक विद्यालय एक नर्सको अवधारणा, स्वस्थ विद्यालय वातावरण, स्क्रिनिङ्ग तथा स्वास्थ्य परीक्षण, किशोरावस्था स्वास्थ्य सेवा जस्ता विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रवद्धन गरिनेछ भनिएको छ ।’ उनका अनुसार स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई समेटने रणनीति २०७७, उद्देश्य १ मा भौगोलिक बिकटका कारण पहुँच बाहिर रहेका समुदायमा स्वास्थ्य सेवाको पहुँच र उपभोग बृद्धि गर्ने र रणनीति नं. ४ मा पहुँच नपुगेको समुदाय र बस्तीलाई प्राथमिकता दिई विद्यालय नर्स कार्यक्रममार्फत स्वास्थ्य सेवाको विस्तार गर्ने व्यवस्था गरिएको छ ।