२०८१ चैत्र १
×

Now Playing

कर्णालीमा ३ महिनामा ४ प्रतिशत पूँजिगत खर्च

कर्णाली प्रदेश सरकारले तीन महिनाको अवधिमा चार प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को असोज महिनासम्ममा प्रदेश सरकारले पूँजिगत गर्त चार दशमलव शून्य पाँच प्रतिशत बजेट खर्च गरेको हो ।

त्यसैगरी चालु तर्फ आठ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको हो । समग्रमा कर्णालीले असोज मसान्तसम्ममा कुल पाँच दशमलव ८३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतले जनाएको छ ।

तीन महिनाको अवधिमा मुख्यमन्त्रीको कार्यालय र कानून मन्त्रालयले एक प्रतिशत पनि पूँजिगत बजेट खर्च गर्न सकेका छैनन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २०८०/०८१ का लागि कुल नौं करोड ६ लाख २९ हजार रुपैयाँ पूँजिगत बजेट विनियोजन भएको थियो ।

कानून मन्त्रालयले असोज महिनासम्ममा पूँजिगत तर्फ बजेट खर्च गरेकै छैन ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले समेत पूँजिगत तर्फ एक प्रतिशत सम्म पनि खर्च पुर्याएको छैन । हालसम्म मुख्यमन्त्री कार्यालयले पूँजिगत तर्फ शुन्य दशमलव ११ प्रतिशत मात्र बजेट खर्च गरेको छ । २०८०र०८१ मा मुख्यमन्त्री कार्यालयका लागि पूँजिगत तर्फ एक अर्व ३० करोड चार लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

मन्त्रालयगत रुपमा पूँजिगत खर्च प्रतिशत ।

मन्त्रालयगत रुपमा हेर्दा पूँजिगत तर्फ सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ ।

दुई अर्व ७६ करोड ३५ लाख ५९ हजार पूँजिगत बजेटमा सामाजिक विकास मन्त्रालयले हालसम्म २८ करोड ४१ लाख १७ हजार ६ सय १६ रुपैयाँ बजेट खर्च गरेको हो । मन्त्रालयले असोज मसान्तसम्ममा १० दशमलव २८ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मिलनकुमार शर्माले जानकारी दिए ।

पूँजिगत तर्फ आर्थिक मामिला तथा योजना मन्त्रालयले ६ दशमलव ६५ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन दशमलव शून्य पाँच, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले दुई दशमलव ५६ प्रतिशत बजेट खर्च गरेका छन् ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक दशमलव शून्य एक र भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन दशमलव ८४ प्रतिशत बजेट खर्चगरेको कार्यालयले जनाएको छ ।

प्रदेश व्यवस्थापिकाले समेत हालसम्म पूँजिगत तर्फको बजेट खर्च गरेको छैन । प्रदेश लोक सेवा आयोगले १७ दशमलव ३३, मुख्य न्यायाधिवक्ताको कार्यालयले १९ दशमलव ११ पूँजिगत बजेट खर्च गरेका छन् ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगले समेत असोज मसान्तसम्ममा पूँजिगत तर्फ कुनै बजेट खर्च गरेको छैन ।

७९ करोड पूँजिगत खर्च भयो

असोज मसान्तसम्ममा कर्णालीले कुल ७९ करोड रुपैयाँ बढी पूँजिगत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेश सरकारले १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ पूँजिगत तर्फ बजेट विनियोजन गरेको थियो ।

यस मध्ये हालसम्ममा ७९ करोड २९ लाख ९९ हजार आठ सय सात रुपैयाँ पूँजिगत बजेट खर्च भएको हो ।

कुल बजेट ५ प्रतिशत खर्च

चालु आर्थिक वर्षका लागि कर्णालीमा ३३ अर्व ३७ करोड रुपैयाँ बढी बजेट विनियोजन भएको थियो । असोज मसान्तसम्मका कुल बजेटको पाँच दशमलव ८३ करोड रुपैयाँ बजेट खर्च भएको छ । चालु र पूँजिगत गरी हालसम्ममा कुल एक अर्व ९४ करोड ६६ लाख रुपैयाँ बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

मन्त्रालयगत रुपमा हेर्दा कुल बजेटमा धेरै खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ । यस मन्त्रालयले हालसम्म १६ दशमलव २३ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

मन्त्रालयगत रुपमा असोज मसान्तसम्म बजेट खर्च प्रतिशत ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयले १२ दशमलव ३५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आठ दशमलव ३८ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँच दशमलव ७५ प्रतिशत बजेट खर्च गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले चार दशमलव २६, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले तीन दशमलव ६७ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दुई दशमलव २२ प्रतिशत बजेट खर्च गरेका छन् । कुल बजेट खर्चमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालसम्म एक दशमलव ९६ प्रतिशत मात्र बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कर्णालीमा ३ महिनामा ४ प्रतिशत पूँजिगत खर्च

रारालाई नजरअन्दाज किन ?