कर्णालीलाई सडक दुर्घटनाले सताएको वर्ष–२०८१



ओम शाही
सुर्खेत । कालीकोटमा गएको २५ कार्तिक २०८१ मा बोलेरो जीप दुर्घटनमा प¥यो । पलाता गाउँपालिका–५, खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जीप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।
६ जनाको घटनास्थलमै र गाडी चालकको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । भौगोलिक दृष्टिकोणले कालीकोट सदरमुकाम मान्मदेखि निकै टाढा रहेको दुर्घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि समयमै नपुगेको भए ठूलो क्षति हुने सम्भावना थियो । उत्साहपूर्वक परिवारसँग छुट्टिएकाहरू कोही सदाका लागि नफर्किने भएका छन् भने अधिकांश शारीरिक अपाङ्गगताको सिकार बनेका छन् । सडकबाट झण्डै आधा किलोमिटर तल खसेको उक्त जीप दुर्घटना हुनुको कारण साँघुरो सडकमा तीव्र गति र ओभरलोड रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
गत वर्षको कार्तिकमैदैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा प¥यो । उक्त दुर्घटनमा परी चार जनाले घटनास्थलमै ज्यान गुमाए । ३० जना सामान्यदेखि गम्भीर घाइते भए । सुर्खेतको वीरेन्द्रनगर–१४ को रातानाङ्ग्लानजिकै दुर्घटना भएको गाडीमा ३४ यात्रु सवार थिए । गाडीमा अधिकांश महिला र बालबालिका थिए । यो दुर्घटना हुनुको कारण पनि तीव्र गति र ओभरलोड नै भएको प्रहरी बताएको थियो ।
दैलेख–सुर्खेत सडकखण्डमा चारभन्दा बढी ठाउँमा ट्राफिक र प्रहरी पोस्ट राखिएका छन् । दैलेख बजारबाट यात्रु बोकेर हिँडेको गाडीमा चालकसहित ३४ जना सवार थिए । उल्लेखित दुई घटना कर्णालीमा गत वर्षको कार्तिक महिनामा एक साता अवधिमा ठूलो मानवीय क्षति भएका सडक दुर्घटनाका हुन् । कर्णालीमा भएका यी सडक दुर्घटना पहिलो वा दोस्रो भने होइन । कर्णालीका साँघुरा र जीर्ण, त्यसमा पनि मापदण्ड अनुसारका सडक नहुनु, धेरै घुम्ती, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी त्यसमा पनि तीव्र गति, यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा र रमिते प्रशासनका कारण नागरिकले यात्राकै क्रममा ज्यान गुमाइरहेका छन् ।
दुर्घटनाको केही कारण मानवीय पनि छन् । पहाडको घुमाउरो सडकमा चालकले हर्न नबजाउँदा, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, लामो यात्रामा एउटै चालकले गाडी चलाउँदा, क्षमताभन्दा बढी यात्रु राख्दा, पुराना गाडी चलाउँदा, समय–समयमा गाडीको मर्मत नगर्दा तथा सवारीसाधन अनुमतिपत्र नलिई चलाउँदा दुर्घटना हुने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल बताउँछन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेशमा हरेक वर्ष सडक दुर्घटनामा ज्यान गुमाउने संख्यामा बृद्धि भइरहेको छ । तर, सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायले ध्यान पु¥याउनै सकेका छैनन् । गत वर्षको दसैं–तिहार अर्थात् दुई महिना (असोज–कात्तिक) को अवधिमा मात्रै कर्णालीमा एक सय ६२ वटा सडक दुर्घटना भएका छन् । जसमा २४ जनाले ज्यान गुमाएका छन् भने तीन ३४ जना घाइते भएका छन् ।
सडक दुर्घटनाले सताएको वर्ष
नेपाली नयाँ वर्ष २०८२ सोमबारबाट सुरु हुँदैछ । आइतबार राति १२ बजेबाट विक्रम संवत् २०८१ को अन्त्यसँगै नयाँ वर्ष २०८२ को प्रारम्भ हुनेछ । विगतका वर्षहरु झै २०८१ को वर्षभर कर्णाली प्रदेशलाई सडक दुर्घटनाले सताइ रह्यो । २०८१ सुभारम्भदेखि अन्त्यसम्म कर्णालीमा सडक दुर्घटनाका कारण ठुलो संख्यामा जनधनको क्षति भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा कर्णाली प्रदेशमा २०८१ मा ६ सय २२ सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ९० जनाले ज्यान गुमाउदा एक हजार तीन सय २१ जना घाइते भएका छन् ।
महिनागत तथ्यांक अनुसार साउनमा ९०, भदौंमा ८६, असोजमा एक सय नौ, कार्तिकमा ७७, मंसिरमा ६६, पुसमा ६०, माघमा ४७, फागुनमा महिनामा ७८ सडक दुर्घटना भएका छन् । सडक दुर्घटनमा परी साउन महिनामा सडक दुर्घटनामा परी पाँचको मृत्यु हुँदा एक सय ७६ घाइते भएका छन् ।
त्यस्तै, भदौ महिनामा ११ को मृत्यु एक सय ८१ घाइते, असोज महिनामा नौ को मृत्यु एक सय ८३ घाइते, कार्तिक महिनामा २५ को मृत्यु दुई सय ४० घाइते, मंसिर महिनामा १५ को मृत्यु एक सय ७६ घाइते भएको तथ्यांक प्रहरीसँग छ । पुस महिनामा पाँच को मृत्यु हुँदा ९५ जना घाइते, माघ महिनामा १३ को मृत्यु एक सय ३३ घाइते, फागुन महिनामा सातको मृत्यु एक सय ४६ को मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक छ ।
सडक अनुसार कर्णालीमा सबैभन्दा धेरै मुख्य हाइवेमा दुई सय ३३ सडक दुर्घटना भएका छन् । त्यसपछि ग्रामिण सडकमा दुई सय सात दुर्घटना हुँदा सहरी सडकमा एक सय ८२ दुर्घटना भएका छन् । कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही हो । एक वर्षको अवधिमा चालकको लापरवाहीले चार सय ६२ सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।
चालकको लापवाही अन्तर्गत तीव्र गतिका कारण तीन सय ७७ सवारी दुर्घटना भएका छन् । यस्तै, ट्राफिक नियम उलङ्घनले आठ, जथाभावी ढोका खोल्दा पाँच, ओभरटेकले १७, माधक पदार्थ सेवन ३१, सवारी चालक अनुमति प्राप्त नभउका चालकबाट २४ र अन्य कारण ३९ सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । यान्त्रिक गढवढीले १३ र ओभरलोडले ६ सवारी दुर्घटना भएका छन् । गत वर्ष सवारी दुर्घटना मात्र नभई अविरल वर्षाका आएको बाढी पहिरोलेकर्णाली राजमार्ग लामो सयमसम्म बन्द हुँदा यात्रुले निकै सास्ती व्यहोर्नु परेको थियो ।
प्रदेशमा राजनीतिक स्थायित्व
२०८१ मा कर्णालीको राजनीतिक वित्तमा ठुलो हलचल आएको थियो । पूर्वमुख्यमन्त्रीका साथै प्रदेशसभाको ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई भ्रष्टाचार मुद्दा लागेको विषयले कर्णाली प्रदेशमा ठुलो हलचल ल्याएको थियो ।
नेपाल वायुसेवा निगमको वाइडबडी खरिदसम्बन्धी मुद्दामा शाहीविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ बिगो कायम गरी गत २२ चैत २०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि शाही प्रदेशसभा सदस्यबाट निलम्वित भएका थिए । २० मंसिर २०८१ मा विशेष अदालतले सफाइ दिएपछि शाहीमाथि लागेको नौ महिने निलम्बन फुकुवा भएको थियो । यस वर्ष राजनीतिकरुपमा प्रदेश सरकार स्थिर रह्यो । यसअघि पटक–पटक सरकार परिवर्तन हुने रोग यस वर्ष कर्णालीमा भएन ।
एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारले एक वर्षसम्म निरन्तरता पाएको छ । २०८० चैतमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कँडेल केन्द्रमा भएको सत्ता फेरबदलका कारण नेपाली कांग्रेस सम्मिलित सरकारको नेतृत्व गरिरहेका छन् । एक वर्षको अवधिमा नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसबाट १२ जना मन्त्री भएका छन् । गत वर्ष कर्णालीमा विकास निर्माणका कामले खासै गति लिन सकेनन् ।
२०८१ मा कर्णाली प्रदेश सरकारको ठुलो लगानीमा खेलको ठुलो पूर्वाधार तयार भएको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि निर्माण सुरु गरिएको कर्णाली प्रादेशिक रंगशाला निर्माण सम्पन्न भएको छ । तर, प्रतियोगिताको मिति भने अनिश्चित बनेको छ ।
२०८१ मंसिरमा तय भएको प्रतियोगिता पूर्वाधार अभाव र तयारीलाई देखाउँदै तेस्रो पटक मिति सार्ने काम भएको छ । जसका कारण खेलकुदको महाकुम्भ १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर कर्णालीले गुमाएको छ । यस्तै, वर्ष २०८१ मा कर्णालीभर आर्थिक समृद्धिको आशा जगाउने ठुला उद्योग तथा कलकारखाना खुलेनन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *