कर्णाली एक्सपो सञ्चालन गर्न बाटो खुल्यो
तेस्रो कर्णाली एक्सपो सञ्चालनको विषयमा देखिएको विवाद समाधान भएको छ । बहुचर्चित र विवादित महोत्सव सञ्चालनका बारेमा यसअघि उच्च अदालत सुर्खेतमा परेको रिटमा अदालतले सोमबार दिएको आदेशपछि एक्सपो सञ्चालनको बाटो खुलेको हो ।
अदालतको आदेशले कर्णाली एक्सपो सञ्चालन गर्ने बाटो खुलेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिए । सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुन बमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको उनले बताए ।
‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट यसअघि भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानुन बमोजिम गर्नू ।’ आदेशमा भनिएको छ ।
यसअघि अधिवक्ता प्रकाशबाबु ऐडीले वीरेन्द्रनगर नगरपालिकालाई विपक्षी बनाएर तेस्रो कर्णाली एक्सपो–२०८० सञ्चालन नगर्न अन्तरिम आदेश माग गर्दै रिट हालेका थिए । उक्त रिटमा फागुन ११ गते उच्च अदालतले महोत्सव रोक्न अल्पकालिन आदेश जारी गरेको थियो ।
सोमबारको ईजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरु दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीता कुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए । रिट निवेदनमा विपक्षी बनाईएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुबकुमार श्रेष्ठ र उत्तमप्रसाद आचार्यले बहस गरेका थिए ।
मंगलबार उद्घाटन हुने
अदालतको आदेशपिछ महोत्सव मंगलबार उद्घाटन हुने भएको छ । महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने आयोजकले जनाएका छन् । बिहान ११ बजे मंगलगढी चोकबाट झाँकीसहित शोभा यात्रा हुने बताइएको छ ।