कर्णाली याक्सले हारे पनि १६ वर्षे ‘विपिन शर्मा’ को उदय
पहिलो संस्करणको नेपाल प्रिमियर लिगले क्रिकेट दर्शकलाई मनोरञ्जन त दिइरहेकै छ, सँगसँगै दूरदराजका नयाँ प्रतिभालाई बाहिर ल्याउने अनि क्षमता देखाउने अवसर पनि दिएको छ । यसरी मौका पाएर आएका नवप्रतिभाले देश–विदेशका नामुद क्रिकेटरभन्दा राम्रो खेलेर आफूलाई अब्बल प्रमाणित पनि गरिरहेका छन् । ट्यालेन्ट हन्टबाट आएर सुदीप अर्याल, वसन्त कार्कीलगायतले राम्रो खेलेका छन् । तर, यीमध्ये सबै अर्थमा सफल छन् सुर्खेतका १६ वर्षे विपिन शर्मा । र, पक्का छ एनपीएलको यो ‘खोज’ ले नेपालको राष्ट्रिय टिमलाई बलियो बनाउन सहयोग पु¥याउनेछ । पहिलो संस्करणको एनपीएलमा कर्णाली याक्स तेस्रो स्थानमै रोकिँदा उनले आफ्नो खुबीलाई सक्दो सदुपयोग गरे ।
नेपाल क्रिकेट संघले उनको खुबी सदुपयोग गर्छ गर्दैन, त्यो हेर्न बाँकी छ । स्पिन बलिङमा विपिनले कमालै गरेर देखाएका छन् । एनपीएलमा आफूले खेलेका सबै खेलमा उनले विकेट लिए । जबकि, सन्दीप लामिछाने, सोमपाल कामीजस्ता बलरबाट जति अपेक्षा गरिएको थियो, त्यति दिन सकेनन् । प्रतियोगिताभर सन्दीपले ५ विकेट लिए, सोमपालले ९ विकेट लिए । तर, विपिनले १३ विकेट लिएर रन पनि कम दिएका छन् । उनको बलमा मार्टिन गप्टिल, माइकल लेभिट, सोहेल तनविर, बेन कटिङ, आन्द्रेस गुस, निकोल लफ्टी इटन, जिमी निसम, मोहम्मद मोसिनलगायत विदेशी खेलाडी सिकार बन्न पुगे ।
मार्टिन गप्टिल कुनै बेला न्युजिल्यान्डको राष्ट्रिय टिमका बबाल ओपनर थिए । एनपीएलमा उनी विराटनगर किंग्सबाट खेलेका थिए । एक वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेदेखि नै माइकल लेभिट नेदरल्यान्डका प्रमुख हतियार हुन् । एनपीएलमा उनले काठमाडौं गुर्खाजबाट खेले । आफ्नो समयका ख्यातिप्राप्त क्रिकेटर पाकिस्तानी सोहेल तनविर चितवन राइनोजबाट खेलेका थिए । लुम्बिनी लायन्सबाट एनपीएल खेलेका बेन कटिङ अस्ट्रेलियाका पूर्व अलराउन्डर हुन् । विपिनले आउट गरेका आन्द्रेस गुस एनपीएलमा शतक प्रहार गर्ने पहिलो अनि एक्ला खेलाडी हुन् । पोखरा एभेन्जर्सबाट एनपीएल खेलेका उनी अमेरिकी विकेटकिपर हुन् । चितवन राइनोजबाट खेलेका निकोल लफ्टी इटन नामिबियाका हुन् । बिहीबार विपिनले जनकपुर बोल्ट्सका जिमी निसमलाई आउट गरेर कर्णालीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर, लक्ष्य नै कम दिएकाले कर्णालीका बलर जनकपुरलाई रोक्न असफल रहे । विपिनले आउट गर्नुअघि निसमले धमाधम छक्का प्रहार गरेर जनकपुरमाथि परेको दबाबलाई कम गरेका थिए । उनी न्युजिल्यान्डका चर्चित क्रिकेटर हुन् । निसम टी– २० क्रिकेटमा विश्वकै राम्रा खेलाडीमा पर्छन् ।
प्रतियोगिताको सुरुदेखि नै कर्णाली याक्सको ब्याटिङ कमजोर देखिएको थियो । एलिमिनेटरमा आएर इन्डियाका जयकिशन कोल्सावालाले सानदार ओपनिङ गरेपछि कर्णाली क्वालिफायर २ मा स्थान सुरक्षित गर्न सफल रह्यो । नत्र, त्यसअगाडिका म्याचहरूमा कर्णालीले जितेका खेल बलरकै बलबुतामा थियो भन्दा अतिशयोक्ति नहोला । तर, आज कोल्सावाला पनि चल्न सकेनन् । एनपीएलमा लगातार दुई खेल हारेर कमजोर बनेको कर्णालीलाई तेस्रो खेल जिताउँदा विपिन शर्मा नायक बने । चितवनलाई १ सय ३० रनमा रोक्न विपिनले सर्वाधिक तीन विकेट लिए । निकोल लफ्टी इटन, सोहेल तनविर र अमर रौटेलालाई आउट गरेका विपिन प्लेयर अफ द म्याच बनेका थिए । त्यो म्याचमा कर्णालीले चितवनलाई १ बल बाँकी छँदा ६ विकेटले हराएको थियो । त्यसपछि नै कर्णालीको हौसला बढेको थियो ।
बुधबार चितवनलाई २१ रनले हराएर कर्णाली याक्सलाई एलिमिनेटर विजेता बनाउँदा पनि विपिनको नाममा एक विकेट रह्यो । उनले २४ बलमा २१ रन बनाएर खेलिरहेका राएनोज कप्तान कुशल मल्ललाई आउट गरेका थिए । कुशलले हात फुकाउँदै गएको बेला विपिनले लिएको यो विकेट निकै महत्वपूर्ण थियो । बिहीबार उनले जिमी निसमसहित अमेरिकामा बसेर क्रिकेट खेल्ने पाकिस्तानी मोहम्मद मोहसिन र शुभ कंसाकारको विकेट लिए । एक क्रिकेटरका रूपमा विपिन शर्मालाई भाग्यमानी पनि मान्नुपर्छ, एक खेलमै सही, क्रिकेट लिजेन्ड ब्रायन लारा प्रत्यक्षदर्शी बनेको घरेलु लिगमा उनले शिखर धवनजस्ता दिग्गजसँग मैदान शेयर गर्न पाए । सोहेल तनविर, रवि बोपारा, जिमी निसमविरुद्ध खेले । विकेट लिए । यी किशोरलाई धेरैले ढिलोचाँडो नेपालको राष्ट्रिय टिममा देख्न चाहेका छन् । किनकि, पहिलोपल्ट यति ठूलो प्रतियोगिता खेलेका विपिनले आफ्नो जिम्मेवारी निकै कुशलतापूर्वक पूरा गरेका छन् ।
विकेट लिन नसकेर कर्णालीले जनकपुर बोल्ट्ससँग हारेको पहिलो खेलबाहेक आज बिहीबारसम्म विपिनले ८ म्याच खेलेर १३ विकेट लिए । कर्णालीको दोस्रो खेल अनि विपिनका लागि पहिलो खेलमा उनले ४ ओभरमा मात्र १८ रन लिएर माइकल लेभिटको विकेट लिएका थिए । यद्यपि, त्यो खेल कर्णालीले ३ विकेटले हारेको थियो । तेस्रो, चितवनलाई कर्णालीले जितेको म्याच थियो । चौथो खेलमा विराटनगर किंग्सविरुद्ध कर्णालीलाई जिताउन विपिनले ९ बलमा १९ रन ठोकिसकेका लोकेश बम अनि ४ बलमा ४ रन बनाएर खेलिरहेका मार्टिन गप्टिलको विकेट लिए । त्यो म्याचमा कर्णाली ७ रनले विजयी भएको थियो । कर्णालीले पोखरालाई ७ विकेटले जितेको पाँचौँ खेलमा ओपनर आन्द्रेस गुसले १२ बलमै २५ रन बनाएर कर्णालीको चिन्ता बढाएका थिए । तर, आन्द्रेसलाई विपिनले धेरै चम्किन दिएनन् र तेस्रो ओभरको पाँचौँ बलमा आउट गरेर टिमलाई आइलागेको चुनौती कम गरिदिए ।
छैटौँ खेलमा लुम्बिनी लायन्समाथि कर्णालीले ५ रनको रोमाञ्चक जित हात पार्दा विपिनले बेन कटिङको विकेट लिए । सातौँ खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले हारेको थियो । त्यसमा पनि विपिनले आफ्नो जिम्मेवारी भने पूरा गरे । ओपनर विनोद भण्डारीलाई ४ रनमै आउट गरेर उनले सुदूरपश्चिममाथि दबाब बढाएका थिए । बिहीबार जनकपुरविरुद्ध उनले ४ ओभरमा १७ रन दिएर सर्वाधिक ३ विकेट लिए । विपिनको ब्याकग्राउन्डबारे जानौँ । त्यसपछि कर्णालीमा उनी कसरी आबद्ध भए, त्यसको चर्चा गरौँ ।
विपिनले स्वदेशी अनि विदेशी दिग्गजलाई आफ्नो बायाँ हाते स्पिनको सिकार बनाउने विपिनले १२ वर्षकै उमेरदेखि क्रिकेट खेल्न थालेका हुन् । सुर्खेत भेरीगंगा नगरपालिकाका उनी स्कुल बिदा हुनासाथ आफ्ना दाइसँग मैदानमा पुग्थे । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढिरहेका उनले खेल र पढाइलाई सँगसँगै अघि बढाइरहेका छन् । उनका बुबा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा होटल चलाउँछन् । विपिन बुबाआमालाई होटलमा पनि सघाउँछन् । अनि यसो फुर्सद निकालेर क्रिकेट सिक्न पनि जाने गरेका छन् । प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेतबाट खेलेर उनी दुईपल्ट म्यान अफ द म्याचसमेत भएका थिए । सुर्खेतलाई च्याम्पियन बनाउँदा उनको टाइट बलिङ निकै महत्त्वपूर्ण थियो ।
विपिन शर्मा सुर्खेतबाट खतरा खेलेर वा स्टार खेलाडीका रूपमा चिनिएर एनपीएलसम्म आइपुगेका भने होइनन् । एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज टिममा एक स्थानीय आइकोनिक प्लेयर राख्नुपर्ने हुन्छ । त्यसैले आठवटै टिममा एक जना ‘लोकल ब्वाई’ परेका छन् । प्रत्येक टिमले परीक्षणपश्चात् स्थानीय खेलाडीहरू छानेका हुन् । कर्णालीमा विपिन त्यसरी नै अर्थात् ट्यालेन्ट हन्टबाट छानिएर आएका हुन् । ९३ खेलाडी सहभागी ट्यालेन्ट हन्टमा उनी उत्कृष्ट पाँचभित्र परेका थिए ।
उनका लागि ट्यालेन्ट हन्ट किन पनि महत्त्वपूर्ण छ भने, राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी, गुल्सन झा, देव खनालदेखि भारतका पूर्वक्रिकेटर शिखर धवन, ओमानका अलराउन्डर जिसान मक्सुदजस्ता ख्यातिप्राप्त विदेशी खेलाडीलाई आफूले खेलेको पहिलो ठूलो प्रतियोगितामा उनले टिममेटका रूपमा पाए । उनीहरूको अनुभवबाट लाभान्वित हुने अवसर पाए । जारी एनपीएलमा लगातार खेल्न पाउने विपिन एक मात्र आइकोनिक प्लेयर हुन् । टिम तेस्रो भए पनि कर्णालीका यी बलर पहिलो भएका छन् । समग्रमा धेरै विकेट लिने नेपाली खेलाडीमा उनी दोस्रो स्थानमा छन् । त्यसैले कर्णालीले हारे पनि विपिनले धेरैको मन जितेका छन् । कुनै बेला ट्यालेन्ट हन्टबाटै आएका रोहितकुमार पौडेलले अहिले राष्ट्रिय टिमको कप्तानी गरिरहेका छन् । विपिनजस्ता खेलाडीलाई पनि मौका दिने हो भने गरेर देखाउँछन् भन्ने कुरा एनपीएलबाट संकेत मिलिसकेको छ ।