कर्णाली सरकारप्रति युवाको निराशा
कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार वीरेन्द्रनगनरमा आयोजना गरेको एक कार्यक्रममा करिब ५० जना बढि युवाहरुको सहभागीता थियो । कार्यक्रममा कर्णाली प्रदेशको युवा नीति २०८० को मस्यौदामाथि छलफल भयो ।
तर छलफलका क्रममा युवा नीति बन्न लागेकोमा खुसी हुनुपर्नेमा सहभागी युवाहरुमा भने निराशा बढि देखिन्थ्यो । कार्यक्रममा बोल्ने सबै युवाहरुले खुसी भन्दा निराशाजनक धारणा राखेका थिए । सबै युवाहरुको एउटै भनाइ थियो ‘आफैले ल्याएका धेरैजसो महत्कांक्षि योजना, कार्यक्रम तथा नीति कार्यान्वयन नगर्ने प्रदेश सरकारको हविगत देखेकै छौं । यस्तो बेला युवा नीति कार्यान्वयन हुन्छ भन्नेमा विश्वास लाग्दैन ।’
युवा नीति बन्नु राम्रो कुरा भएपनि कार्यान्वयनको पाटो भने स्पष्ट नभएको भन्दै युवाहरुले निराशा पोखेका हुन् । प्रदेश सरकारको विद्यमान काम गर्ने तरिका र भइरहेका गतिविधि हेर्दा युवा नीति २०८० कार्यान्वयन नहुने युवाहरुको तर्क थियो ।
प्रदेश सरकारले धमाधम नीति बनाएपनि अधिकांश नीति कागजमै सिमित रहेको युवा हरी विष्टले तर्क गरे । ‘नीतिगत रुपमा युवामैत्री बन्न खोजेपनि कार्यान्वयनको पाटो फितलो छ । युवा नीति पनि कार्यान्वयन हुनेमा शंका छ’ उनले भने, ‘युवाहरुलाई राजनैतिक रुपमा लाभ लिने र दिने चलन छ, जबसम्म कामको आधारमा युवालाई प्रोत्साहन गरिदैन, तबसम्म नीतिमात्रै बनाएर परिवर्तन आउँदैन ।’
सहभागी युवाहरुले युवा नीति २०८० को मस्यौदामाथि छलफल गर्नुलाई युवालाई भुलाउने काम मात्रै भएको तर्क गरेक थिए । गाउँमै स्वरोजगार बन्ने वातावरण नभएकोले बैदेशिनु बाध्यता रहेको भन्दै युवाहरुमा निराशा बढ्दै गएको छ । जसले गर्दा प्रदेश सरकारप्रति खासै अपेक्षा पनि युवाहरुको देखिदैन । युवाको सुरक्षा र रोजगारीको जिम्मा प्रदेश सरकारले लिनुपर्ने युवाहरुको भनाइ छ ।
थप नीति बनाएर थुपानुभन्दा बनेका नीतिहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नसके युवाहरु लाभान्वित हुने गणेश डाँगीको तर्क छ । छलफलमा भाग लिदै उनले भने ‘कर्णाली सरकारले पनि युवा नीतिमा प्रमाणपत्र धितो रोखेर ऋण दिने उल्लेख गरेको रहेछ । संघीय सरकारले त यो कुरा कार्यान्वयन गर्न सकेको छैन । यस्ता लागु नहुने कुरा उल्लेख गरेमा नीतिले फेल खान्छ ।’
साथै युवाहरुले कपिपेष्टवाला नीति आएको भन्दै युवा नीतिको मस्यौदा बनाउन ललितपुरको एक संस्थालाई जिम्मा दिएकोमा आलोचना गरेका थिए । नीतिमा अपांगता, अल्पसंख्यक लगाएतका पक्षलाई समेट्नुपर्ने सुझाब छ । कर्णालीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरुको रजगज बढेको भन्दै युवा बर्गिकरण गरी शिक्षा र उपचारमा निशुल्क गर्नुपर्ने कर्णालीका युवाको माग छ । युवाहरुको हकहितका लागि कर्णालीका पालिकाहरुमा पनि नीतिगत व्यवस्था गर्न थालिएको छ ।
हाल दैलेखको गुँरास र डुंगेश्वर गाउँपालिका र सुर्खेतका सिम्ता गाउँपालिका, लेकवेशी र भेरीगंगा नगरपालिकामा युवा नीतिको मस्यौदा तयार भएको छ । उइफ संस्थाले प्रायल परियोजना अन्तर्गत पालिकामा युवा नीति तयार गरेको संस्थाका डण्डिराज उपाध्यायले बताए । पाँच वटै पालिकामा बनेका नीतिहरु कार्यापालिकामा छलफलपछि कार्यान्वयनमा जानेछन् ।
युवालाई गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा र जीवनोपयोगी सिप प्रदान गरी सबै क्षेत्रमा स्वरोजगार र उद्यमशीलताको विकास गर्दै आर्थिक, सामाजिक, मानवीय विकासका माध्यमबाट समृद्ध प्रदेश निर्माण गर्न सामाजिक विकास मन्त्रालयले युवा नीति २०८० को मस्यौदा ल्याएको हो ।
दक्ष योग्य उद्यमशील र सकारात्मक सोचयुक्त युवा तयार गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा युवाको पहुँच अभिवृद्ध गर्ने यो नीतिले महत्वपूर्ण भुमिका खेल्ने मन्त्रालयको अपेक्षा छ । नीति कार्यान्वयनमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको अनुरोध छ ।
ज्ञान, सिप तथा नेतृत्व विकास गरी युवालाई विकासको मूल प्रवाहमा ल्याइने उनले बताए । मन्त्री भण्डारीका अनुसार वैज्ञानिक खोज, अध्ययन–अनुसन्धान तथा अन्वेषण अनुकूल वातावरण र अवसर सिर्जना गरी युवालाई वैज्ञानिक खोज गर्न सक्ने जनशक्ति तयार पार्ने योजना छ । कर्णाली प्रदेशमा युवाको सङख्याको अनुपातमा युवामा युवाको कार्यक्रम बजेट नभएको अवस्था छ । कर्णाली प्रदेशमा नेतृत्व तहमा युवाको आवश्यक मात्रामा लक्षित नीति हुन सकिरहेको छैन । युवाका लक्षित रोजगारीको अवसर नहुँदा भारत लगायत अन्य देशमा जानु पर्ने बाध्यता छ ।
कर्णालीमा युवाको अवस्था
युवा विकास सूचकाङ्कमा कर्णाली प्रदेश पछि परेको छ । प्राविधिक एवम् जीवनोपयोगी शिक्षा, नेतृत्व विकास, सशक्तीकरण, सिप र उद्यमशीलता विकासमार्फत् युवालाई प्रदेशको विकासमा अग्रसर गराउनु पर्ने देखिन्छ । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा युवाहरू दिन प्रतिदिन विदेश पलायन हुने क्रम बढिरहेको छ ।
यदि यस्तो अवस्था रहिरहेमा भविष्यमा देश युवा विहिन हुन सक्ने सम्भावना देखिन्छ । वैदेशिक रोजगारमा गएका युवा पनि विभिन्न किसिमका जोखिम वहन गर्न बाध्य छन् । भारत र खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि गएका कर्णालीका युवाहरू चुनौतीपूर्ण काम गर्न बाध्य छन् ।
तर प्रदेश सरकारमा युवालाई सिपमूलक तालिमको व्यवस्था गरी स्वरोजगार तर्फ आकर्षित गरी आर्थिक उत्पादन गर्न सकिएको छैन । नीति, निर्माणमा युवाहरुको सहभागिता हुन सकिरहेको छैन् । भने खेलकुदका पूर्वाधारको अभाव र प्रशिक्षकको व्यवस्था कमी हुँदा युवाहरू खेलकुदमा आकर्षित हुन सकेका छैनन् ।
समस्या र चुनौती
युवा सम्बन्धी समयसापेक्ष नीति तथा कानुनको अभाव, युवाको विकास र रोजगारीका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले प्राथमिकता दिएर बजेट तथा कार्यक्रम व्यवस्था गर्न नसक्नुले पनि युवाहरु पछि परेका छन् ।
त्यस्तै कर्णाली प्रदेश विकट हिमाली र पहाडी क्षेत्र भएको भौगोलिक अवस्था हुनु, शिक्षा स्वास्थ्यलगायत विकासका सूचकमा पछाडि हुनु, कर्णाली प्रदेशको आन्तरिक आय कम हुँदा युवा लक्षित कार्यक्रम ल्याउन नसक्नु, प्राविधिक एवम् व्यावसायकि शिक्षामा पहुँचको कमी, उत्पादन र उत्पाकदत्वको कमी, रोजगारीका अवसरको कमी, सिप र उद्यमशीलतामा युवालाई जोड्न नसक्नु पनि मुख्य समस्या हो ।
प्रदेशभित्र अवसरको अभावमा युवाहरू अरु प्रदेश एवम् विदेशतिर पलायन हुनु, युवालाई उत्पादन र अध्ययन–अनुसन्धानमा लगाउन नसक्नु, युवामा सकारात्मक सोचको कमी, राजनीतिक अस्थिरता र भ्रष्टाचारले युवामा वितृष्णा जागृत हुनु, राजनीतिक नेतृत्व तथा कर्मचारीतन्त्र युवाका विकासमा उदासिन रहनु, युवाको सिप विकास र स्वरोजगार प्रर्वद्धनमा न्यून लगानी, स्वदेशमा रोजगारी, उद्यमशीलता र आयआर्जनका पर्याप्त अनुकूल वातावरण नहुनु, समाजमा कुनै न कुनै रूपमा अशान्ति कायम रहनु, उद्यमशीलताका लागि लगानीको व्यवस्था नहुनु जस्ता समस्या रहेको युवा नीतिको मस्यौदामा उल्लेख छ ।
अवसर र सम्भावना
कर्णाली प्रदेश सबैभन्दा ठूलो भूगोल भएको र सबैभन्दा कम जनसंख्या भएको प्रदेश हो । यहाँ युवाको जनसंख्या पर्याप्त मात्रामा हुनुले आर्थिक विकास, सामाजिक, सांस्कृतिक रूपान्तरण एवम् भौतिक विकासका गतिविधि प्रभावकारी बनाउन युवाको सहभागिता गराउन सकिने अवस्था छ ।
मस्यौदामा भनिएको छ, ‘जल जमिन जङ्गल जडिबुडीको उपयोग गर्नु, पर्यटन उद्योगको सम्भावना भएको हुँदा यसतर्फ युवालाई आकर्षित गर्नु, वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान सिप र क्षमतालाई प्रदेशको विकासमा उपयोग गर्नु, कृषि फलफुल खेति र पशुपन्छी पालनमा उपयुक्त हावापानी र भौगोलिक वातावरण भएकोले युवाको सक्रिय सहभागिता र परिचालन गरी मानवीय, आर्थिक र भौतिक विकास तीव्र गतिमा गर्न सकिने, आन्तरिक उत्पादन बृद्धि गरी आयात कम गर्न सकिने, विज्ञान–प्रविधिको खोज अनुसन्धानमा युवाहरूलाई सहभागिता गराउन सकिने, समुत्रत र समृद्ध समाज निर्माणको अभिलाषा सहज पूरा गर्न युवाको सहभागिता गराउन सकिन्छ ।’