२०८१ चैत्र १
×

Now Playing

कार्यसम्पादन मूल्यांकनमा अब्बल बन्दै सिमकोट


कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका अब्बल बन्दै गएको छ । यो कार्य सुरु भएको तीन आर्थिक वर्षमा दुई वर्ष पहिलो स्थान हुन सफल भएर सिमकोट गाउँपालिका कर्णाली प्रदेशमै अब्बल देखिएको हो ।

कर्णालीका ७९ स्थानीय तहमध्ये हुम्ला जिल्लाको सिमकोट गाउँपालिका सबैभन्दा प्राकृतिक स्रोत तथा वित्त आयोगले निकालेको सूचनामा ०७९÷८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा सिमकोट कर्णालीमा उत्कृष्ट भएको थियो ।

कर्णाली प्रदेशका सबै स्थानीय तहमध्ये सिमकोट गाउँपालिकाले सबैभन्दा बढी ४८ दशमलव ३३ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएको गाउँपालिका उपाध्यक्ष गाउँपालिका उपाध्यक्ष सुशीला रोकायले बताइन् । ‘यो नतिजाले काम गर्न प्रेरणा मिलेको छ । सूचक नम्बर १४ र १६ मा केही अपडेट गरेर पठाएको भए पनि आयोगले त्यो नहेरेको कारण नम्बर कम आएको छ ।’ उनले भनिन्, ‘अब गाउँपालिका त्यसको विवरण सात दिनभित्र पठाएको भएको कारण हाल प्राप्त गरेको नम्बर वृद्धि हुनेछ ।’

आयोगले संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्छ । आयोगले स्थानीय तहले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेको रहेका छन् ।

त्यसैगरी, असार १० भित्र बजेट ल्याए नल्याएको, असार ३० भित्र बजेट पास गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए नदिएको आधारहरूको पनि आयोगले मूल्याङ्कन गर्छ ।

त्यसैगरी संघीयतामा संघ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्ट रुपमा समानीकरण अनुदान दिन आधार तयार गरेर मूल्याङ्कन गर्ने गर्छ ।

स्थानीय पाठ्यक्रम परीक्षण गरिँदै
स्थानीय पाठ्यक्रम हाम्रो सिमकोटलाई सिमकोट गाउँपालिका सबै विद्यालयमा एक वर्ष परीक्षण रुपमा लागू गर्ने भएको छ । गाउँपालिकाका सवै विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा तयार भएको स्थानीय पाठ्यक्रमलाई एक वर्ष पाठ्यक्रमका आधारमा विद्यालयनमा परीक्षणका रुपमा पठनपाठन गरिरहेको छ ।

सिमकोट गाउँपालिकाको यो रचनात्मक कामले सकरात्मक सन्देश गएको उपाध्यक्ष रोकाया भामले जानकारी दिइन् ।
‘स्थानीय पाठ्यक्रम तयार भएको र अब विद्यालयमा पठनपाठन सुरु भएपछि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयहरुमा पढाई सुरु गरेका छौं’ उनले भनिन्, ‘विद्यालयमा पठनपाठन हुने र त्यसक्रममा आएको सुझाव तथा सल्लाहलाई अर्को शैक्षिक सत्र पाठ्यपुस्तक तयार पारिनेछ ।’

पाठ्यक्रमले समेटेका विषयमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भासिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना बिकास, स्थानीय परम्परागत खेल, पेशा, ब्यवसाय र प्रविधिसँग परिचित, घर भित्र र बाहिर हुने बिपदको पहिचान र स्थानीय कृषिसँग परिचित छन् ।

त्यसैगरी कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहाँसिक, साँस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेशा व्यवसाय, प्रबिधि प्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असरहरु बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रहरुको पहिचान र स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक बिबिधताको पहिचानका आधार कक्षामा पठन पाठन गर्न सकिनेछ ।

त्यसैगरी कक्षा छदेखि आठको स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अबस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्स, भेषभूषा चाडपर्व, रीतिरिवाज, सस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरुको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेशा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, संभावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक बिबिधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र ब्यवस्थापनमा सहयोग, बन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालहरुको पहिचान र महत्व रहेका छन् ।

एकल तथा विपन्न महिला स्वास्थ्य बीमा
गाउँपालिकाका दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । स्वास्थ्य उपचारमा सहजताका लागि गाउँपालिकाले स्वास्थ्य बिमा गरेको हो ।

सिमकोट गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए ।

गाउँपालिकाको वडा नम्बर १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ वडा सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए । त्यस्तै वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा एक, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिएको संयोजक भण्डारीले बताए ।

प्रति व्यक्ति लाग्ने बिमित रकम तीन हजार पाँच सय रुपियाँ गाउँपालिकाले तिरी दिएको गाउँपालिका उपाध्यक्ष रोकाया भामले बताइन् ।

‘स्वास्थ्य बिमा कार्यक्रमले लक्षित परिवारका सदस्यहरुलाई अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,’ उनले भनिन्, ‘आगामी आर्थिक वर्षबाट दिर्घरोगीका बिरामीको समेत निःशुल्क स्वास्थ्य बीमा गरिनेछ ।’ निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रममा समेटिने गाउँपालिकाले जनाएको छ । असारपछि दलित विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष, महिलालाई निःशुल्क स्वास्थ्य बिमामा समेटिँदै जाने गाउँपालिकाले जनाएको छ ।

कुपोषण पहिचान घर कार्यक्रम
गाउँपालिकाले पालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘कुपोषण पहिचान घर कार्यक्रम’ सुरु गरेको छ । कुपोषित सहजै पत्ता लगाउनका लागि १ देखि ८ नं वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको हो ।

६ महिनादेखि २३ महिनासम्मका बालबालिका बढी कुपोषण हुने भएकाले कुपोषण पहिचान गरी ‘मध्यम शीघ्र कुपोषण’को घरमा पहेंलो र ‘कडा शीघ्र कुपोषण’ भएका बालबालिकाको घरमा रातो झण्डा राख्ने कार्य सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका भण्डारीले बताए ।

शाखाले १ देखि ८ नं. वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १९ जनामा कुपोषण भएको पाइएको छ । गाउँपालिका मातहतका स्वास्थ्य चौकीअन्तर्गतका सबै वडामा गरी १९ बालबालिका कुपोषित रहेको पाइएपछि उनीहरुको घरमा दुई किसिमको झण्डा राखिएको उनले बताए ।

कार्यसम्पादन मूल्यांकनमा अब्बल बन्दै सिमकोट

YUGAAWHAN NATIONAL DAILY (2081-02-13)