किन ढिलाई भइरहेको छ भेरी–बबई डाइभर्सन आयोजनाको काम ?


भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो । जसले भेरी नदीको पानीलाई सुरुङमार्फत बबई नदीमा लैजाने लक्ष्य राखेको छ । यो आयोजना धेरै महत्वाकांक्षी भए पनि काममा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।

यो आयोजना नेपाल सरकारको सिँचाइ विभाग अन्तर्गत सञ्चालन भइरहेको र परियोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी, चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) सँग सम्झौता भएको थियो । सम्झौताअनुसार सुरुङ बोरिङ मेसिन (टिकिएम) को प्रयोग गरिएको थियो । जुन नेपालमा पहिलो पटक यस्तो प्रविधि अपनाइएको थियो ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ २०७६ वैशाख ३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सुर्खेतको भेरीगंगास्थित बबईतर्फको हात्तिखालदेखि भेरीतर्फको चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ खनिसकिएको छ ।

सुरुङ निर्माण गर्ने चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले सम्झौता मिति अगावै काम सकेको थियो । २०७४ कात्तिक २० गतेदेखि सुरुङको काम सुरु गरेको निर्माण कम्पनीसँग २०७६ चैत १५ सम्म काम सक्ने सम्झौता थियो । तर कम्पनीले एक वर्षअघि नै सरकारलाई सुरुङ हस्तान्तरण गरेको थियो ।

निर्माणका सुरुको चरणमा चाडै सम्पन्न हुने अपेक्षा गरिएको आयोजना अहिले लागत बढ्नुका साथै निर्माणमा ढिलाई भइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा नै सम्पन्न हुने भनेर चर्चामा रहेको यो आयोजनाको अहिलेसम्म जम्मा भौतिक प्रगति जम्मा ६६ प्रतिशत मात्रै रहेको छ ।

सुरुङ निर्माणको कार्य निकै छिटो सकिए पनि त्यसपछिका कार्य निर्माणमा ढिलाइ भएको हो । सम्झौता अनुसार आयोजनाले निर्धारित समयमै काम पूरा गर्नुपर्ने भए पनि विभिन्न कारणले यो म्याद पटक–पटक सरेको छ । आयोजना सुरु हुँदा अनुमानित लागत ३३ अर्ब नेपाली रुपैयाँ तोकिएको थियो । लागत समयसँगै बढेको छ । हाल यस आयोजनाको कुल लागत ४५ अर्ब रुपैयाँभन्दा बढी पुग्न सक्ने आंकलन गरिएको छ ।

सुरुङ निर्माणको लागि करिब १० अर्ब, सिँचाइ संरचनाको लागि करिब ३० अर्ब, ४८ मेगावाट जलविद्युत उत्पादनको लागि ५ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यो आयोजना समयमै निर्माण भएको हाल बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरभन्दा बढी जमिन सिँचाइ पुगेको हुने थियो । बर्षैभरी बबई नदीमा पानीको मात्रा बढ्ने र जसले कृषि उत्पादनमा ठूलो प्रभाव पार्ने उद्देश्य रहेको थियो । तर, कहिले बजेट अभाव त कहिले प्राविधिक समस्याका कारण यो आयोजना सम्पन्न हुन अझै कति समय लाग्ने हो यकिन छैन ।

आयोजनाको म्याद थप जारी
आर्थिक वर्ष २०६८/६९ बाट सुरु भएको परियोजना २०७७/७८ मा सम्पन्न हुने गर्ने ल्क्ष्य राखिएको थियो । कार्यतालिका अनुसार काम नभएपछि २०७९/८० सम्मका लागि म्याद थप भयो । म्याद थप भएको उक्त समयमा काम नसकिएपछि अहिले म्याद थप भएर २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त मितिमा पनि परियोजना सम्पन्न हुनेमा आंशका छ ।

सरकारी तवरबाट आवश्यक सहयोगलगायत विविध कारण उक्त मितिमा पनि आयोजना सकिन समस्या हुने भेरी–बबई बहुउद्देश्यीय परियोजनाका सूचना अधिकारी इन्जिनियर पवन अधिकारी बताए । ‘पहिला डिजाइनकर्ता (परामर्शदाता) इरानी कम्पनीलाई काम गरे अनुसार पैसा दिन नसक्दा ठेक्का तोड्यो,’ उनले भने,‘पैसा हाम्रोबाट गए पनि उसले अझै लिन सकेको छैन । पैसा दिन नसक्दा एक वर्ष त्यसै अलमल भयो । उसले राम्रो काम गर्दागर्दै पनि ठेक्का तोड्नुपर्ने अवस्था भयो ।’

आर्थिक वर्ष २०७२/७३ बाट सुरु भएको आयोजनामा टनेल निर्माण कार्य शतप्रतिशत, सिभिल निर्माण कार्यमा ५५ प्रतिशत, हाइड्रोमेकानिकल ३९ प्रतिशत, इलेक्ट्रोमेकानिकल ३० प्रतिशत र प्रसारण लाइनको पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।

यी कारणले समयमा पूरा भएन
आयोजना समयमै पूरा नहुनुमा मुख्य कारणहरुमा पहिलो आयोजना निर्माण प्रक्रिया नै ढिलो सुरु हुनु, द्राश्रो सुरूङपछि मात्र बाँध बनाउन थाल्नु भेरी–बबई डाइभर्सन आयोजना लम्बिनु, तेस्रो कारण कोरोना महामारी र लकडाउनका कारण काम रोकिनु, चौथो कारण यसमा काम गरिरहेको विदेशी कम्पनी कालोसूचीमा पर्नु हो ।

२०७० सालमा सुरु हुनुपर्ने काम २०७२ सालमा बल्ल निर्माण कम्पनीसँगको सम्झौताले अन्तिम रुप लियो । त्यसपछि पनि झन्डै एक वर्ष सुरुङ खन्ने काम सुरु नै भएन । सुरुङको काम गरेको कोभेकलाई ठेक्का पर्नुअघि अनुभव नभएको कम्पनीलाई जिम्मा दिन लागेको भन्दै विरोध भएपछि समयमै सम्झौता हुन सकेन । अन्तिममा २०७२ सालमा सरकारले कोभेकसँगै सम्झौता गरेको थियो । भनेको बेलामै सुरू भएको भए २०७५ साल मध्यसम्म सुरुङ बनिसक्थ्यो । अनि बाँध निर्माणको ठेक्का हुन्थ्यो ।

कारण कोरोना महामारी र लकडाउनका कारण काम रोकिएका कारणले आयोजनाको काम करिब दुई वर्षपछि धकेलिएको हो ।
कोरोनाअघि बाँध लगायतका काम गर्ने गरी ग्वाङडोङ युयानटियान रमण जेभी र आयोजनाबीच सम्झौता भएको थियो । २०७६ साउन ३० गते चार वर्षभित्र काम सक्ने सम्झौता थियो । तर, कोरोनाका कारण निरन्तर काम हुन सकेन र दुईपटक म्याद थप भयो । पछिल्लो पटक थपिएको म्याद अनुसार २०८२ असोज १ गतेभित्र काम पूरा गर्ने उल्लेख छ ।

काम गरिरहेको विदेशी कम्पनी कालोसूचीमा पर्नु हो । केही वर्ष अघिसम्म भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा परामर्शदाताका रुपमा काम गरिरहेको इरानी कम्पनी कालोसूचीमा पर्दा आयोजनाले सम्झौता रद्द गर्नुपरेको थियो । यो कम्पनीले आयोजनासँग तीन वर्ष काम गरेको थियो ।

२०७६ असोजमा इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनियरिङ (एमजिसिई) सँगको सम्झौता २०७९ माघमा रद्द भएको थियो । तत्कालीन समयमा अमेरिकाले इरानलाई आतंकवादको सूचीमा राख्दै आफ्नो कोष विभाग अन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालय मार्फत एमजिसिईलाई कालोसूचीमा राख्यो । सो कम्पनीको खाता कुनै पनि बैंकले नखोलिदिएपछि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आयोजनाले सम्झौता रद्द गरेको थियो ।

भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख रणबहादुर बमले विविध कारणवश आयोजना लम्बिएको बताए । ‘यसका कोरोना महामारी लगाएतका अन्य प्रशानिक सम्झौता बिभिन्न कारणले ढिलाई भएको हो,’ उनले भने,‘आयोजनाको काम लम्बिदै जाँदा स्वंत अन्य काममा असर गर्छ नै ।’

अहिले बाँधतर्फ बनाउनुपर्ने ६ वटा ढोकामध्ये दुइको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख बमले बताए । ‘दुई वटा ढोकाको काम पुरा भएपछि अन्य चार वटा ढोकाको काम सुरु हुन्छ,’ उनले भने,‘गत सातको बाढीले बाध भत्काएका कारणले पनि ढिलाई र लागत बढेको हो ।’ त्यस्तै, चिप्लेमा बाँधको कामबाहेक बबईतर्फको हात्तिखालमा विद्युत गृह बनाउन सुरु भएको र पुस पहिलो साताभित्र विद्युत गृहको जग खनेर सकिने आयोजना प्रमुख बमले बताए ।

किन ढिलाई भइरहेको छ भेरी–बबई डाइभर्सन आयोजनाको काम ?

YUGAAWHAN NATIONAL DAILY (2081-08-28)