‘कोरोना जाँच्न काठमाडौं आउनु नपरोस्’
काठमाडौं : कोरोना भाइरस (कोभिड १९) बाट हुुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको प्रदेश सरकारहरुले बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मुख्यमन्त्रीहरुले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका हुन् ।
नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्री उपलब्ध नहुने र खरिद प्रक्रिया पनि झण्झटिलो र जटिल भएकाले छोटो विधिबाट खरिद गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका छन् । त्यस्तै स्वास्थ्यकर्मीहरुको बीमादेखि अन्य सामाजिक सुरक्षाका कुराहरु व्यवस्थित गर्नसमेत माग गरेका छन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबाहदुर शाहीले कोरोना संक्रमण परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्थामा देशभर कोरोना भाइरस फैलिएमा नियन्त्रण सम्भव नहुने बताए । उनले प्रत्येक प्रदेशमा एकवटा ल्याबको व्यवस्था गर्न माग गरे । मुख्यमन्त्री शाहीले उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको अभाव भएको र कोरोना संक्रमण भएकालाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।