२०८१ चैत्र १
×

Now Playing

कोहलपुरमा छैठौं राष्ट्रिय तेक्वान्दो निर्णायक तालिम सुरु


सरला सुवेदी ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित छैटौं राष्ट्रिय निर्णायक पुर्नताजगी तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश समितिको संयोजनमा सम्पन्न यस तालिमले तेक्वान्दो खेल र खेलाडीको विकासमा नयाँ आशा जागृत गराएको छ ।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष महेश्वर फ्युयालले तेक्वान्दो खेललाई बिभिन्न संघहरूको नाममा फैलिएका विकृतिको अन्त्य गर्दै यस खेलको उच्चतम विकास र लोकप्रियताको लागि तेक्वान्दो संघ स्थापना गरिएको जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष फ्युयालले तेक्वान्दो खेलप्रति समुदायको सकारात्मक दृष्टिकोण विकास गर्न आवश्यक रहेको बताए । उनले समाजका सम्पूर्ण खेलप्रेमी र प्रशिक्षकहरूलाई एकीकृत गर्दै खेललाई नयाँ उचाइमा पु¥याउने योजना रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) ले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार संधै प्रतिबद्ध रहेको बताइन् । तेक्वान्दो खेलको विकास र खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन बजेट विनियोजनका लागि आफ्नो पहल निरन्तर रहने प्रतिवद्धता जनाउँदै उनले भनिन् “खेल क्षेत्र राष्ट्रको पहिचान र गौरव हो । पछिल्ला दिनहरूमा राज्यले खेल क्षेत्रलाई प्रेरित गर्ने विभिन्न कार्यक्रम ल्याएको छ, जसले खेलाडीको मनोबल वृद्धि भएको छ ।’’

उनले बाँके जिल्लाका दुर्गम क्षेत्रहरू, जस्तै नरैनापुर र राप्तिसोनारी गाउँपालिकालाई खेलकुदको हब बनाउने प्रयास भइरहेको र केही उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल भएको बताइन् । साथै, कोहलपुरको क्रिकेट मैदानलाई पूर्णता दिनका लागि पनि सरकारको विशेष पहल जारी रहेको जानकारी दिएकि छिन् ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राईको प्रशिक्षणमा लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका ८० जना खेलाडीले सहभागिता जनाएका छन् । प्रशिक्षक राईले खेलाडीको व्यक्तित्व विकास र अनुशासनको महत्त्वमाथि जोड दिँदै तेक्वान्दो खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्रशिक्षकहरूको भूमिका अपरिहार्य रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बुद्धिबहादुर थापाले तेक्वान्दो खेलाडीले राष्ट्रको पहिचान निर्माण गर्न उल्लेखनीय भूमिका खेल्ने भएकाले प्रशिक्षक र खेलाडीहरू अनुशासनमा रही खेल क्षेत्रको विकासका लागि समर्पित हुनुपर्नेमा जोड दिए ।

उनले भने, “खेलाडी भनेको राष्ट्रको सान र पहिचान हो। प्रशिक्षक र खेलप्रेमीहरूले खेल क्षेत्रको निरन्तर विकासमा सक्रिय रहनुपर्छ ।’’ छैटौं राष्ट्रिय निर्णायक पुर्नताजगी तालिमले तेक्वान्दो खेल र खेलाडीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

खेल क्षेत्रलाई राष्ट्र निर्माणको एउटा आधार मान्दै सबै तह र तप्काका व्यक्तिहरूले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि सहयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । तालिमले खेलाडीहरूलाई प्राविधिक ज्ञान प्रदान गर्नुको साथै तेक्वान्दो खेललाई स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म विस्तार गर्ने लक्ष्यलाई थप मजबुत बनाएको छ ।