खाजा खर्च जुटाउन खेलाडीको मिल सञ्चालन
गोल्डेन बुढा
जुम्ला । जुम्लामा एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले कुटानी–पिसानी मिल सञ्चालन गरेका छन् । खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी–पिसानी मिल सञ्चालन गरिएको हो ।
विगत ७ वर्षदेखि कुटानी पिसानी मिल सञ्चालनमा छ । मिल सञ्चालन गरेदेखि खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन सहयोग पुगेको छ । मिलमा धान कुट्ने, पिठो पिस्नेदेखि सबै सेवा गरिन्छ । कर्णाली स्पोर्ट्स क्लबले जुम्लाको चन्दननाथ नगरपालिका–५ रानीपोखरीनजिकै २२ लाख रुपैयाँ लागतमा मिल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
यसअघिका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान राखेका जुम्लाका एथलेटिक्स खेलाडीले भोग्नुपरेको आर्थिक संकट हटाउन मिल सञ्चालन गरिएको क्लबका अध्यक्ष सरोज शाही बताउँछन् । मिलबाट प्राप्त आम्दानी नयाँ खेलाडी उत्पादन तथा खेलाडी व्यवस्थापनमा खर्च गर्न टेवा पुगेको छ । ‘नियमित प्रशिक्षणका क्रममा खाजा, पोसाक, जुत्ता र यातायात खर्च नहुँदा हाम्रा खेलाडी निरुत्साहित छन्’ उनले भने,‘अब त्यो समस्या अन्त्य गरी कर्णालीको खेलबाट नेपाललाई विश्वसामु चिनाउन दक्ष खेलाडी उत्पादन तिर जोडिएकाछौँ ।’
यता एथलेटिक्स प्रशिक्षक तथा विश्व कृतिमानी धावक हरिबहादुर रोकायाले मिल सञ्चालन गर्न झन्डै ३५ लाखबराबरको जग्गा सहयोग गरेका छन् । उनकै नाममा रहेको हरिबहादुर फाउन्डेसनबाट एक लाख ५० हजार नगद सहयोग गरेका थिए । ‘भोकै प्रशिक्षण गराउँदा र अरूसँग सहयोग माग्न जाँदा खेप्नुपरेको तिरस्कारको पीडा हामीलाई मात्रै थाहा छ’,धावक रोकायाले भने, ‘त्यसैको अन्त्यका लागि मिल सञ्चालनमा सहयोग गरेको हुँ । यो खेलाडीको हितमा छ ।’
‘राज्यलाई खेलाडीले चिनाउँदै आएका छन् । तर राज्य खेलाडीको संरक्षणमा खासै लगानी गर्न सकेको छैन्, धावक रोकाया भन्छन्,‘ खेलाडीको अवस्था विश्लेषण गरेर आफ्नै मिल स्थापना गरेर जीवन चलाइ रहेका छौँ ।’
मिल आफै धावक हरिबहादुरले चलाइरहेका छन् । ‘छुट्टै कर्मचारी व्यवस्थापन गर्न समस्या छ,’ उनले भने । जुम्लाका खेलाडी खेल क्षेत्रमा निकै अब्बल छन् । जुनसुकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर पदक ल्याएर आउँछन् । तर, घरको आर्थिक अवस्थाले अगाडी बढ्न सक्दैनन् । धावक रोकायाले उत्पादन गरेका खेलाडी अहिले भारतीय सेना, नेपाली सेना र प्रहरीमा छन् । राज्यलाई खेलाडीले चिनाउँछन् । राज्य खेलाडीको संरक्षणमा खासै लगानी गर्न सकेको छैन्, धावक भन्छन्, ‘कर्णाली खेलकुद क्लबमार्फत उत्पादनमा खेलाडी लागेका हुन्,’ उनले भने,‘कुटानी–पिसानी मिल सञ्चालनका लागि १२ किलोवाटको सोलाहार जडान गरिएको छ ।’
उक्त सोलाहार ग्रिड इन्टरनेसनल काठमाडौले सहयोग गरेको थियो । ग्रिड इन्टरनेसनल काठमाडौले १४ लाख, राधा पौडेल फाउन्डेसनले २५ हजार र चन्दननाथ नगरपालिका–५ वडा अध्यक्ष अर्जुनसिंह कठायत (गोल्डेन)ले दुई लाख रुपैयाँ सहयोग गरेका थिए । अध्यक्ष शाहीका अनुसार भवन निर्माण गर्दा ७ लाख ५० खर्च भएको छ । पुर्व खेलाडी तथा जागिर खाएका खेलाडी १ लाख सहयोग गरे। चन्ददननाथ–२ का दया खत्रीले गिट्टी, ढुवानी खर्च नगरपालिका–६ का रवि थापा उनी अहिले (चन्दननाथ नगरपालिका ६) का वडा अध्यक्ष छन् । यस्तै, डोजर खर्च नगरपालिका–१ का धर्मेन्द्र महताराले सहयोग गरेका थिए । कर्णाली स्पोर्ट्स क्लबका खेलाडीले मिल निर्माणमा श्रमदान गरेका छन् । यो भन्दा पहिला एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले २५ सय वर्गमिटर क्षेत्रफलमा फापर खेती सुरु गरेका थिए । तरकारी, सिमी खेती पनि गरिएको थियो ।