खाद्यन्नमा परनिर्भर प्रतिवर्ष हजार मेट्रिकटन उत्पादन घट्दै
कर्णाली प्रदेशमा प्रतिवर्ष एक हजार मेट्रिकटन खाद्यान्न उत्पादन घट्दै गएको छ । खेतीयोग्य जमिनमा सिँचाई अभाव, खेती छाड्ने प्रवृत्तिले बाँझो जमिन बढ्नु र बालीमा विभिन्न रोग किराको बढ्दो प्रकोप लगायतका कारण खाद्यान्न उत्पादन घट्दै गएको हो ।
आर्थिक वर्ष २०७४÷०७५ मा १८ हजार मेट्रिकटन खाद्यान्न अपुग रहेको कर्णालीमा आर्थिक वर्ष २०८०÷०८१ मा आइपुग्दा २३ हजार मेट्रिकटन खाद्यान्न अपुग छ । यो तथ्यांकलाई हेर्दा खाद्यन्न पूर्ती हुनुको साटो प्रतिवर्ष एक हजार मेट्रिकटन खाद्यान्न अपुग हुने क्रम बढेको छ ।
कर्णालीमा १० वर्षको अबधिमा करिब तीन लाख बढि जनसंख्या बृद्धि भएपनि खासै ठुलो परिवर्तन मानिँदैन । तर खाद्यन्न अपुग हुनेक्रम भने बढ्दो छ । यसको मुख्य कारण नै उत्पादन कम हुनु हो । वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार १३ लाख २५ हजार जनसंख्या रहेको कर्णालीमा २०७८ को जनगणनामा १६ लाख ८८ हजार चार सय १२ मात्रै जनसंख्या पुगेको छ ।
कर्णालीमा प्रतिव्यक्ति दुई सय एक किलो बार्षिक खाद्यान्न आवश्यक छ । तर स्थानीय उत्पादनले खाद्यन्न पूर्ति नहुँदा आयातित खाद्यान्नमा निर्भर हुनुपरेको छ । हाल कर्णालीका दैलेख, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा बार्षिक खाद्यान्न अपुग हुने गरेको छ ।
कृषि विकास निर्देशनालय सुर्खेतको तथ्यांक अनुसार हाल कर्णालीमा २३ हजार चार सय ३४ मेट्रिकटन खाद्यन्न अपुग छ । कर्णालीलाई आवश्यक वार्षिक तीन लाख ४४ हजार तीन सय २४ मेट्रिकटन खाद्यान्नमा २३ हजार मेट्रिकटन अपुग भएको हो ।
यस वर्ष हावाहुरीको कारण मकै बालीमा र केही जिल्लाको धानबालीमा क्षती भएको तथा भुकम्पको कारण भण्डारण भएको खाद्यान्न क्षतीका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक प्रसाद पाण्डेले बताए ।
जसअनुसार रुकुमपश्चिममा एक हजार ६ सय १५, डोल्पामा पाँच हजार ९९, जाजरकोमा चार हजार दुई सय ९९, जुम्लामा तीन हजार पाँच, मुगुमा ६ हजार चार सय ३९ र हुम्लामा आठ हजार पाँच सय ६५ मेट्रिक्टन खाद्यान्न अपुग रहेको अधिकृत पाण्डेले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी कालीकोटमा १० हजार तीन सय १७ मेट्रिकटन खाद्यान्न अपुग छ । यसलाई केलाउँदा साविक कर्णालीका सबै जिल्ला आयतित खाद्यान्नमा निर्भर देखिन्छन् ।
कर्णालीमा खाद्यान्न आयातको अवस्थाबाट मुक्त हुन नसक्नुमा पछिल्लो समयमा विदेशिने युवाको सङ्ख्या बढ्नु, कृषि पेशालाई घृणाका रुपमा हेरिनु, वर्षा कम हुनु, बसाइँसराइ र अव्यस्थित शहरीकरण लगाएतका कारण रहेको उनको भनाइ छ ।
तीन जिल्ला आत्मनिर्भर
आव ०८०÷०८१ मा सबैभन्दा बढि दैलेख जिल्लाले धान गहुँ, मकैलगायतका उत्पादित बाली आफूले खाएर ६ हजार चारसय ५१ मेट्रिकटन सञ्चित गरेको छ । दैलेखलाई आवश्यक वार्षिक ५० हजार तीन सय ६१ मेट्रिकटन खाद्यन्न पूर्ती गरेर ६ हजार चार सय ५१ मेट्रिकटन सञ्चित गरेको हो ।
त्यस्तै सुर्खेतले चार हजार आठ सय ६७ मेट्रिकटन खाद्यान्न सञ्चित गरेको छ । सुर्खेतलाई आवश्यक वार्षिक ८६ हजार एक सय ६६ मेट्रिकटन खाद्यन्न पूर्ती गरेर चार हजार आठ सय ६७ मेट्रिकटन खाद्यान्न सञ्चित गरेको हो ।
सल्यान जिल्लाले आफुलाई आवश्यक वार्षिक ४७ हजार सात सय ८८ मेट्रिकटन खाद्यबाली पूर्ती गरेर चार हजार पाँच सय ८६ मेट्रिकटन खाद्यन्न सञ्चित गर्न सफल भएको छ ।
कर्णाली प्रदेशको कुल खेतीयोग्य दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर जमिनमध्ये हाल दुई लाख १६ हजार आठ सय ८० हेक्टर जमिनमा खेती भइरहेको छ । तर खेतीयोग्य जमिनमा पनि अपेक्षाकृत उत्पादन हुँदैन ।
तीन वटै तहका सरकारले कर्णालीमा कृषि उत्पादन बृद्धि गरेर खाद्यन्नमा आत्मनिर्भर बन्ने कसरत जारी राखेका छन् । तर कार्यक्रम कार्यान्वयन पक्ष भने फितलो छ । कृषि क्षेत्रमा दिइने अनुदान तथा सहयोगका कार्यक्रमबाट वास्तविक किसान लाभान्वित हुननसक्दा पनि खाद्यन्न उत्पादन बृद्धि हुन नसकेको हो ।
कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले प्रदेशस्तरमा खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा विश्लेषण गरी प्रदेश सरकारलाई पृष्ठपोषण दिने काम भएरहेको बताए । उनले भने ‘कृषि बालिबस्तुको विकास एवं विस्तारका लागि आवश्यक नीति तय गर्नुका साथै व्यवसायिक योजना तर्जुमा गरि कार्यान्वयन गर्नमा सहजिकरण गर्ने काम भइरहेको छ ।’
प्रदेशस्तरमा खाद्य सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण वालीवस्तुहरूको पहिचान गरी विकास एवं प्रबर्द्धन गर्ने काम पनि जारी रहेको निर्देशक रोकायाको भनाइ छ । ‘प्रदेशस्तरको बजार तथा अन्य कृषि पूर्वाधार विकास नीति तर्जुमा गरि कार्यान्वयन गर्ने काम भइरहेको छ’ उनले भने, ‘अब प्रदेशस्तरमा कृषि यान्त्रीकरण प्रवर्द्वन गरि व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि पेशाको विकास गर्न आवश्यक छ ।’
६ महिनामा एक अर्ब ९६ लाखको निर्यात
गत वर्ष एक अर्ब ७८ लाख २१ हजार बढिको कृषि तथा फलफुल जन्य वस्तु निर्यात गरेको कर्णालीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै एक अर्ब ९६ लाख सात हजार बढिको निर्यात गरेको छ । जसमा खाद्यन्न बालीतर्फ मकै, मार्सी, मार्से, कोदो, कागुनो, चिनो र फापर निर्यात हुदाँ पाँच करोड ४२ लाख ८९ हजार रुपैंया भित्रिएको छ ।
त्यस्तै २६ करोड ४१ लाख २० हजार रुपैंयाको तरकारी निर्यात भएको छ । भने तीन करोड ८८ लाख ५० हजारको तरकारी वीउ निर्यात भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै २० करोड २० लाखको सुन्तला र ५० करोड ७५ लाख ९५ हजार रुपैंया बराबरको स्याउ निर्यात भएको छ ।
त्यस्तै ६६ करोड ७४ लाख ६३ हजारको अदुवा, तीन करोड ९१ लाख ५० हजारको बेसार, तीन करोड ५८ लाखको सिमी, तीन करोड १९ लाख २० हजारको मह र ११ करोड ९५ लाख ७० हजारको बर्षे आलु निर्यात भएको छ । कर्णालीबाट निर्यात भएका खाद्य, तरकारी तथा फलफुल बालीहरु देशभित्रका नेपालगंज, चितवन, बुटवल, दाङ, काठमाडौं र छिमेकी देश भारत र जर्मनमा बिक्रि भएका हुन् ।