गमगाड खोलामा गाडी तर्न लाप्काकै भर
गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत छायाँनाथरारा नगरपालिका–१, अल्कासाँघु भन्ने स्थानमा गाडीहरू काठको लाप्काको भरमा ओहोर दोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।
मुगुको सदरमुकाम गमगढीबाट मुगुम कार्मारोङ गाउँपालिका छाइलसम्म गाडी आउने जाने भएपनि गमगाड खोलामा पक्की पुल नहुदा लाप्को बाटखोला पार गर्नु पर्ने बाध्यता रहेको छ ।
सडक डिभिजन कार्यालय, जुम्लाले अल्का साँघु भन्ने स्थानमा पक्की पुल बनाउने भनेपनि हालसम्म पुल बनाउने तिर कसैको ध्यान नगएको स्थानीय बासिन्दाले बताएका छन् ।
वर्षाको समयमा गमगाड खोलामा पानीको बहाव बढ्ने हुनाले त्रासपूर्ण वातावरणमा स्थानीयले लाप्को तरेर खोला पार गर्ने गर्दछन् । पशुचौपाय, समेत जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता रहेको छ ।
गाई बस्तु मात्र हैन साना स्कुले बालबालिकाहरू समेतलाई स्कुल आउजाउमा समस्या हुने गरेको अभिभावकहरू बताउछन् ।
गत बर्ष गमगाड खोलामा विनाशकारी बाढी आउँदा गमगाड खोलाका विभिन्न ठाउँका दर्जनौँ काठे र बिराचौर र चाट्टेबगरका गरी दुई वटा झोलुङ्गे पुल, दर्जनौँ पानी घट्ट बाढीले बगाएर क्षति पु¥याएको थियो ।
गमगढी आउन र जान समस्या भएपछि अल्का साँघुमा भने छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको अगुवाइमा स्थानीय युवा नगर प्रहरी सरकारी कर्मचारीले जनश्रमदान गरि काठको साँघु बनाएका थिए ।
केही दिन काम चलाए पनि टिकाउ नभए पछि पुन छायाँनाथ रारा नगरपालिका मुगुको आर्थिक सहयोगमा खोलामा काठका लाप्का राखेर गाडी आवत जावत गर्ने कामचलाउ खाले योजना निर्माण गरिएको थियो । हाल साना गाडीहरू त्यही लाप्को तरेर मुगुको सदरमुकाम गमगढी आउजाउमा सहजता भएको छायाँनाथरारा नगरपालिका वडा नं १ का अध्यक्ष पद्मराज मल्लले बताए ।
यथाशीघ्र गमगाढ खोला अल्का साँघुमा पक्की पुल निर्माणका लागि काम अघि बढाउन स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
सडक विभागको पुल महाशाखा काठमाण्डौले कालिकोट देखि मुगुसम्म १० वटा पुल निर्माणका लागि आर्थिक बर्ष २०७७-०७८ मा नै टेण्डर आह्वान गरेको सडक डिभिजन कार्यालय, जुम्लाका सूचना अधिकारी इन्जिनियर चित्रा चौलागाईले बताइन् ।
१० वटा पुल बनाउने जिम्मा एउटै कम्पनीको भएकाले गाँठे बाहेक अन्य स्थानका पुलहरूको निर्माण अघि बढिसकेको र गमगाड खोलामा पर्ने अल्का साँघुको पुल निर्माण प्रक्रिया केही हप्तामै सुरु हुने पनि सूचना अधिकारी चौलागाईले बताइन् ।
करिब तीन करोड रूपयाँको लागत रहेको पुल निर्माणका लागि हिम सगरमाथा निर्माण कम्पनीले जिम्मा लिएको बताइएको छ ।
टेण्डर भएको तीन वर्षमा १० वटै पुल निर्माण गरिसक्नु पर्ने भएका कारणले डिजाइनमै बढी समय लागेको कारण पुल निर्माणको काम अलि ढिलो भएको पनि चौलागाईले बताइन् ।
कालिकोट र जुम्लाको सिमाना कालिका खेतदेखि मुगुको भ्यारी खोला, गमगाड खोला र गाँठेमा गरी १० वटा पुलहरू निर्धारित समयमा नै निर्माण कार्य पूरा गरिने सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले जानकारी दिए ।