गाउँपालिकामा आएको बजेट रोक्न वडाध्यक्षले लेखे संघीय सरकारलाई पत्र



रमेश रावल
कालीकोटको पलाँता गाउँपालिकाका एक वडा अध्यक्षले पालिकाको विकास बजेट कार्यान्वयन नगर्न माग गर्दै शहरी विकास मन्त्रालयलाई पत्र लेखेका छन् । पालिकाका विभिन्न आयोजनाहरुका लागि छुट्याइएको बजेट कार्यान्वयन नगर्न भन्दै वडा नम्बर ९ का वडा अध्यक्ष मानसिंह बमले शहरी विकास मन्त्रालयलाई पत्राचार गरेका हुन् ।

वडा अध्यक्ष बमको उक्त कदमले नागरिकको घरदैलोमा रहेर सेवा प्रवाह गर्ने तथा विकास निर्माणको जिम्मेवारी पाएका जनप्रतिनीधि नै जे मन लाग्यो त्यहीँ गर्नतर्फ उद्दत रहेको पाइएको छ । वडा अध्यक्ष बमले लेखेको पत्र २०८१ साल असोज २ गते शहरी विकास मन्त्रालयमा दर्ता भएको छ । वडा अध्यक्ष बमले मन्त्रालयलाई पत्र लेख्दै योजनाहरुमा कमिशनको खेल भएको आरोप लगाएका छन् ।

पूर्व शहरी विकास मन्त्री धनबहादुर बुढाको सल्लाहकार रहेका पलाँता गाउपालिका–७ का मनसिंह धामीले कमिसनको खेलमा व्यक्ति केन्द्रीत बजेट पारित गराएको भन्दै उक्त बजेट रोक्का गर्नुपर्ने वडा अध्यक्षको माग छ । वडा अध्यक्ष बमले योजनाहरू व्यक्ति विशेषका आधारमा विनियोजन भएको आरोप लगाउँदै बजेट रोक्का गर्न मन्त्रालयसँग माग गरेको बताए । ‘यी योजनाहरु व्यक्तिले हालेका हुन् । ति योजनाहरु जनताको हितमा नभई विनासमा बढी छन्,’ उनले भने, ‘त्यसैले मैले योजना रोक्का गर्न गत असोजमा पत्र लेखेको हुँ । तर, मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन् ।’

डोल्पाका प्रतिनीधिसभाका सांसद धनबहादुर बुढा मन्त्री हुँदा उनका स्वकीय सचिव मनसिंह धामीले एकलौटी गरेको आरोप बमको छ । उनले मन्त्रालयबाट पलाँता गाउँपालिकामा पाँच करोड ८० लाखका १० वटा योजना पारेका थिए । मन्त्रालयको दबावका कारण योजना पारिएको दावीसहित वडा अध्यक्ष बमले मन्त्री परिवर्तन भएपछि ती योजना कार्यान्वयन नगर्न पत्र लेखेका हुन् । यता वडा अध्यक्षले राजनीतिक पूर्वाग्राहका कारण पत्र लेखेको बताउँदै आयोजनाहरु कार्यान्वयनमा गइसकेको पूर्व मन्त्री बुढाका स्वकीय सचिव धामीले बताए । ‘साना आयोजनाहरु गाउँपालिकाले ठेक्कामार्फत गराउने भएको छ,’ उनले भने, ‘ठुला आयोजना ठेक्का प्रक्रियामा गइसकेका छन् ।’

विकासमा राजनीति गरेको आरोप
वडा अध्यक्ष बम कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् भने गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षलगायत अधिकांश वडाहरुमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि छन् । राजनीतिक पूर्वाग्रहका कारण वडाध्यक्ष बमले विकास योजनाहरुमा अवरोध सिर्जना गर्न खोजेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायको आशंका छ ।

अघिल्लो सरकारको पालामा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का नेता धनबहादुर बुढा शहरी विकास मन्त्री थिए । उनी मन्त्री रहेका बेला पलाँता गाउँपालिका–७ का मनसिंह धामी उनको जनसम्पर्क सल्लाहकार थिए । उनको र गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायको पहलमा पलाँता गाउँपालिकाका विभिन्न आयोजनाहरुमा बजेट बिनियोजन भएको हो । तर, अहिलेको सरकारमा कांग्रेस नेता प्रकाशमान सिंह शहरी विकास मन्त्री छन् ।

आफ्नै पार्टीको नेता मन्त्री भएकाले कांग्रेस वडा अध्यक्षले बजेट रोक्न भन्दै मन्त्रालयमा पत्राचार गरेको हुनसक्ने पालिका अध्यक्ष रोकायको आशंका छ । त्यस्तै, गाउँपालिकाको केन्द्र वडा नं. ९ को थिर्पु रहेकोमा अहिले सैन भन्ने ठाउँमा सारिएको विषयमा असहमति राख्दै आएका कारणले पनि वडा अध्यक्षले पत्र लेखेको गाउँपालिकाको आंशका छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्र कहाँ बनाउने भन्ने बिषयमा थिर्पु र अन्य गाउँका बासिन्दाका बीच विवाद रहेको छ । अहिले गाउँपालिकाको केन्द्र सैनमा नै छ । पहिलो कार्यकालका जनप्रतिनीधिहरुले थिर्पुबाट प्रकाशकीय केन्द्र चलाउँदै आएकोमा रोकाय अध्यक्ष भएपछि बहुमत जनप्रतिनीधिले सैनमा कार्यालय सारेका थिए ।

स्थानीय विकास योजनाहरुलाई लिएर दलहरूबीच आरोप–प्रत्यारोप हुनु नौलो होइन । तर, विकास बजेट रोक्न पत्राचार गर्ने वडाध्यक्षको नियत ठिक नभएको स्थानीयको बुझाई छ । ‘यदि बजेटमा कमिशनको खेल भएको हो भने प्रमाणसहित सार्बजनिक गरेर पत्राचार गर्नु उपयुक्त हुन्छ तर प्रमाण केही देखिन्न, एउटा जनप्रतिनिधिले राजनीतिक प्रतिशोधकै कारण विकास रोक्न खोज्नु गम्भीर समस्या हो,’ मन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार सिंहले भने, ‘यो यहाँका जनतामाथीको कुठाराघात हो । म त मानहानीको मुद्दा हाल्न लागेको थिए । पछि किन गरौं भनेर रोकिए । चेतनास्तरको कुरा पनि हुन्छ नि ।’

शहरी विकास मन्त्रालयले अहिलेसम्म बजेट रोकिएको जानकारी गाउँपालिकालाई नगरेको अध्यक्ष रोकायले बताए । ‘वडा अध्यक्षले लगाएको आरोपको कुनै अर्थ र प्रमाण छैन । यदि मन्त्रालयले वडा अध्यक्षको पत्रलाई गम्भीर रुपमा लिएर बजेट रोक्यो भने, पलाँता गाउँपालिकाको विकास प्रभावित हुनेछ,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो पत्र आएको छैन् । बजेट कार्यान्वयनमा गइसकेको छ ।’

यी हन् रोक्का गर्न माग गरिएका योजना
वडा अध्यक्ष बमले गाउँपालिकामा शहरी विकास मन्त्रालयबाट आएको पाँच करोड ८० लाख बराबर बजेट रहेका १० वटा योजनालाई रोक्ने प्रयास गरेका छन् । जसमा वडा नं. ७ मा २० लाख लागतको जीर धामी स्मृति भवन, २० लाख लागतको चुकबारी–गडबाली–तल्ला–कुला–बाँध तटबन्धन, वडा नं. ७ मा २० लाख लागतको जोखिन्द्र दुदेसिल्लो पार्क, २० लाख लागतको बझाङ्गपरे स्याउ फर्म घेरबार र वडा नं. ४ मा २० लाख लागतको सुर्जालेख मेहेल्ने खानेपानी आयोजना रहेका छन् ।

त्यस्तै, वडा नं. १ देखि ६ सम्ममा एक करोड लागतको पुलाहा–धौलागोह हुँदै खिन सडक स्तरोन्नति, वडा नं. ३ मा एक करोड लागतको रानीबिसौना–घोचायाबाडा हुँदै माछापातिहाल्ना सडक, वडा नं. ४ मा एक करोड लागतको मेहेल्ने धनै हुँदै तल्सेरी कृषि सडक, ५० लाख लागतमा सैन नयाँ शहर स्थापना डीपीआर अध्ययन र ५० लाख लागतको शिक्षा तथा स्वास्थ्य सुधारका लागि प्रविधि, पूर्वाधार निर्माण रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *