घरमा आगलागीबाट ९४ लाख बराबरको क्षति


गोल्डेन बुढा
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–४ कालढुङी नजिकै एउटा घर आगलागीले पुर्ण ध्वस्त बनाएको छ । ४५ वर्षीया शिवलक्ष्मी न्यौपानेको तीन तले घर जलेर नष्ट भएको हो ।

१२ कोठे ढुंगा र माटोले बनाइएको कच्ची घर आगलागीका कारण घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा,नगद, गरगहनासहित सबै जलेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साझ ६ बजेर ४० मिनेटमा शिवलक्ष्मीको घरमा आगलागी भएको हो ।

स्थानीय, प्रहरी, सशस्त्र, नेपाल आर्मी, नगरपालिका दमकल सुरक्षाकर्मी सहयोगमा घरपरिवारलाई जोगाउन सफल भए पनि घर र घरभित्रका सामानहरु जोगाउन नसकिएको डिएसपी छेदिलाल कामतीले बताए । घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी सहायक निरिक्षक भोजबहादुर पाल, नेपाल आर्मी सेनानी रामेश्वर कार्की, सशस्त्र प्रहरी सहायक प्रहरी निरिक्षक कमल रावत र कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्मका प्रहरी सहायक निरिक्षक कालीबहादुर महत सहितको टोली घटनास्थलमा गएको थियो ।

प्रहरीका अनुसार आगलागीका कारण घरभित्र रहेको खाद्यान्न, नगद, सुन जल्दा ९६ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ । न्यौपानेको परिवारको खाद्यान्न तथा लत्तकपडा सबै जलेपछि उनीहरु समस्यामा परेका छन् । जिल्ला स्थिति सुरक्षा निकाय, चन्दननाथ नगरपालिकाको दमकल र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि सम्भव हुन नसकेको स्थानीयको गुनासो छ ।

यस्तै शुक्रबार शिवलक्ष्मी न्यौपानेको परिवारलाई नेपाल निजामती कर्मचारी संगठन जुम्लाले राहत सहयोग गरेको छ । संगठनका केन्द्रीय सदस्य धर्मराज रावलका अनुसार, जिल्ला अध्यक्ष पदम न्यौपानेले २१ हजार ८ सय रुपैयाँको राहत रकम सहयोग गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *