चिहान घरमा बस्दै : रुपलीको परिवार

क्यान्सर रोगले अभिभावकको निधनपछि परिवार बिचल्लीमा परेको छ । जुम्लाको पातारासी गाउँपालिका–४ रुपली बोहोराका पतिको दुई बर्षअगाडि मृत्यु भएपछि उनी र तीन सन्तानको बिचल्ली भएको हो । दुई वर्ष पहिले उपचार गर्न भारत गएका पति फेरि घर फर्केनन् ।
उनको उपचारको लागि झण्डै सात लाख रुपैयाँ सकियो । त्यो पनि आफन्तहरु र गाउँलेहरुले संकलन गरेका थिए । रुपली आफैँ पनि मेरुदण्डको समस्याले ग्रसित छिन् । उनले भनिन्छ दुई लाख खर्च गरेर उपचार त गरे । तर राम्रोसँग हिडडुल र काम गर्न सक्दिनन् । उनको बस्ने घर निकै जीर्ण छ । चारैतिर भत्किएको छ । ‘के गर्नु, गरिबको कर्म यस्तै रहेछ,’ उनले थपिन् । गरिबीका कारण नयाँ घर बनाउने अवस्था छैन ।
पटक–पटक भत्किँदै गएको घर समेत टालटुल गर्ने सकेकी छैनन् ।’ घर त ८ कोठाको छ । तर के गर्नु जताततै दरार परेको छ । चुहिने छानो छ,’ उनले भनिन्,‘कतिबेला भत्किने हो भन्ने चिन्ताले पिरोल्छ । उनले त आफूहरु चिहान घरमा बसिरहेको बताइरहेकी छन् ।’
‘वर्षायाममा घर चुहिएर भिजाउँछ, हिउँदमा चिसोले सताउँछ,’ उनले भनिन्, ‘जीवन मरणको दोसाधमा उभिएर बाँचिरहेका छौं ।’ उनको दुइ छोरी र एक छोरा छन् । त्यही भत्किएको घरमा बस्छन । रुपलीले भनिन्, ‘म एक्लैको कमाइले घर लगाउँकी, छोराछोरी पालौं ।’ साँझ र बिहानको हातमुख जोड्न पनि निकै गाह्रो छ । सानै भएपनि छोराछोरी यार्सा सिजनमा पाटन पठाउँछिन् ।
स्याउ ओखरको सानोतिनो बगैंचा छ । तर त्यतिले उनीहरुको गुजारा चल्दैन । दुई दशक पहिले स्वर्गीय पतिले निर्माण गरेको जीर्ण घरमा बस्नुपर्दाको पिडा सुनाउँदै उनी भक्कानिन्छन् । भारी वर्षा हुँदा उनको परिवार जाग्राम बस्छ । अलिकति पानी प¥यो कि दुई तलासम्म चुहिने भइसकेको छ । अलि धेरै हावा चल्ने बित्तिकै घर नै हल्लिन थाल्छ ।
उनले धेरैपटक स्थानीय सरकारसँग कथाव्यथाहरु सुनाएकी छन् । तर कसैले वास्ता गरेनन् । पति मात्रै मसँग भइदिएको भए घर नयाँ बनिसक्थ्यो होला । उनले भन्छिन्, ‘क्यान्सरले साहराविहीन बनाइदियो ।’ छोराछोरीहरु एक सिजनमा जडीबुटी संकलनका लागि पाटनमा जान्छन् । उनीहरु सानै भएकोले धेरै कमाउन सक्दैनन् ।
जडीबुटी संकलन गर्न गएको बेला तिनै सन्तानको पढाइ छुट्ने गरेको उनी बताउँछिन् । यता पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जीर्ण घर पुरै निर्माण गर्न नसके पनि स्थानीय सरकारले सक्ने सहयोग गर्न तयार रहेको बताए । ‘घरको अवस्था हेरी सरकारका तर्फबाट सकिने सहयोग गर्न प्रतिबद्ध छौं,’ उनले भने । उनका अनुसार औषधि उपचारका लागि स्थानीय सरकारले नै सहयोग गरेको थियो । घर निर्माणका लागि स्थानीय सरकार तयार छ ।