जनतामाझ गरिएका प्रतिबद्धता कार्यान्वयनमा निकै ठूलो अवसर : प्रधानमन्त्री दाहाल
काठमाडौँ ,२६ पाैष ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा भएको अपार विश्वासको वातावरणले आफूलाई जनतामाझ गरिएका प्रतिबद्धताहरु कार्यान्वयनमा निकै ठूलो अवसरको अनुभूत भएको बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार संसद्मा बोल्दै दाहालले सत्ता साझेदार दलको समर्थन सहजै अनुमान गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत पाउने परिस्थितिले प्रतिबद्धता कार्यान्वयनको ठूलो अवसर प्राप्त भएको बताएका हुन् ।
’सत्ता साझेदार दलहरुबाट विश्वासको मत प्राप्त गर्ने त सहजै अनुमान गर्न सकिने भए तर प्रमुख प्रतिपक्षी दल र अन्य प्रायः सबै दलहरुको समर्थन हुने कुरा एकातिर आउने दिनमा जनताका अगाडि गरेका प्रतिबद्धताहरु र र यो संसद्मा आज पेस गरेका प्रतिबद्धताहरु कार्यान्वयनमा निकै ठूलो अवसर प्राप्त भएको अनुभूत गरेको छु,’ उनले भने, ’यो विश्वासलाई सही तरिकाले व्यवस्थापन गर्ने, न्यायोचित तरिकाले अगाडि बढाउने कुरा निकै ठूलो जिम्मेवारी रहेको छ र मैले यो जिम्मेवारी बोक्न सक्ने हो कि होइन भन्ने बोध भइरहेको छ ।’
उनले अगाडि भने, ’एकातिर आफू निकै गौरवान्वित भएको छु, राष्ट्रिय सहमतिको केन्द्रविन्दुमा भएको महसुस भएको र अर्कोतर्फ निकै नै चुनौती र जिम्मेवारी थपिएको छ । के हुने होला, कसरी जाने होला । यो अपारविश्वासलाई न्यायपूर्ण ढंगले सम्बोधन गर्न सकुँला या नसकुँला मलाई निकै नै तरंगित पनि बनाइराखेको छ ।’
कान्तिपुर