जन आक्रोश

उमालाल अाचार्य

राणा शासनको थिचोमिचो सहेका र व्यहोरेका मानिसहरू समाजमा निख्रदै गए । राणाको अत्याचार हामीले भोगेका होइनौं पुस्तकमा पढेका हौं । पञ्चायतकालको शासन पनि पछिल्लो चरणको मात्र अनुभूत छ । राजा वीरेन्द्रकी रानी ऐश्वर्यको दबदबा बढ्दा राजा निरह जस्तै भएका कारण दरबारमा बदनामको गन्ध चलेको हो भनिन्थ्यो । २०४६ साल पछिको पुनः प्रजातन्त्रले र २०६३ पछिको गणतन्त्रले राजा महेन्द्रलाई मुख्य दोषी करार गरे पनि जनता पूरापूर पत्याइदिन तयार छैन, किनभने व्यवस्था कु गरेका कारण निरंकुशको आँखाले मात्रै हेर्ने राजनीतिक पार्टीले महेन्द्रको देश विकास   र राष्ट्र प्रेमलाई कहिल्यै कतै समर्थन गरेको पाइँदैन । खास २०४६ सालको परिवर्तन देशका लागि हुनुपर्ने थियो तर कोही अभिजात वर्गले खोसेर आफ्नो बपौती बनायो । महाकाली  र टनकपुर काण्डमा जनता झुक्याएको मामिला मात्रै होइन मनोगत स्वार्थले निर्वाचित संसद विघटन गरेर मध्यावधिमा जाने कुसंस्कार  लादेको पनि कसैले बिर्सन सक्दैन । धमिजा  र लाउडा काण्डका फाइलहरु अख्तियारमा माकुराले जालो लगाए पनि, कोही मरेर गए पनि कलंक सित्ती  मेटिने छैन । प्रजातन्त्र कालमा समेत जनताको असन्तुष्टि अरु थपिदै जादा देशले अर्को परिवर्तन माग्यो । साध्य लडाउँने धमास दिंदै क्रान्तिकारीको बिल्ला भिरेर नयाँ पार्टी आयो, तर भाषण आश्वासन र कार्यशैलीका कारण  फोहोर माथी दुर्गन्ध थपियो । पञ्चायत र प्रजातन्त्रलाई उछिनेर गणतन्त्र जनतामा अत्यन्त बदनाम साबित भैरहेको छ । आज देश निरन्तर लुटिएको छ  भ्रष्टाचारको दलदलमा फसिरहेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय न्यायीक निकाय र सूचाङ्कहरुले प्रष्ट देखाइरहेका छन तर सत्ताले त्यो हुँदै होइन, म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नको  फलाको हाल्दै जनतालाई मूर्ख बनाइ रहेकोे छ । जनताको मनमा घृणा फैलिने र वितृष्णा भरिने ठूला साना थुप्रै घटनाहरु छन । सबैको व्याख्या सम्भावना छैन ती मध्ये केही घटनाको चर्चा गरौं ।

एकजना बहालवाला मन्त्रीले सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिद प्रक्रियामा ७० करोड कमिसन मागेको अडियो रेकर्ड सामाजिक सन्जालमा आयो । रेकर्डमा मोलमोलाइ गरेको र कर्मचारीलाई अपशब्द बोल्दै तिनलाई सुइँको नदिन भनिएको पनि  प्रष्ट सुनिन्छ । नैतिकताले भन्दा पनि पार्टीको दबाबका कारणले राजीनामा बाध्यकारी भयो । गोप्य अडियो रेकर्ड गर्ने 

मोलमोलाइका अर्का व्यक्ति एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिंदै भण्डाफोर गरिदिए तर वास्तविकतामा  छानबिन गरिएन उल्टै ती व्यक्तिको खोजी गरियो । अडियो सात ठाउँमा जोडेर नक्कली  रेकर्ड बनाइएको भनी आरोपित व्यक्तिले खण्डन मात्रै गरेनन् अर्का व्यक्तिलाई मुद्दा पनि हाले । अख्तियारको अनुसन्धानबाट जोगिने उपायले अदालतमा मुद्दा अल्झाएको भनी जनमानसमा टिकाटिप्पणी भैरहेको थियो । कार्यशैलीले प्रश्न उब्जाएपछि पार्टीले कारबाही गर्नुको सट्टा उल्टै पुरस्कार स्वरूप निर्वाचनमा टिकट दिइयो । आरोपको प्रभावबाट झिनो मतान्तरले चुनाव जितेर संसदमा छिरेपछि फेरि तिनै व्यक्तिले आदर्श छाँटेर नैतिकताको पाठ पढाउन थाले, मानौं उनी दूधले नुहाएका हुन । जनता  रमिता  हेर्न अभिसप्त थिए किनकि  गणतन्त्रको कुशासन प्रभावकारी भैरहेको थियो । 

देशले १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेको थियो । एकजना सपूत उज्यालोका अभियन्ताले लोडसेडिङको जरो उखेल्दै लगे । विभागीय मन्त्रीको भागमा पनि त्यसको केही जस पर्न गयो । राम्रो कामको खुलेर प्रशंसा गरिनुपर्छ किनकि देशलाई विकास चाहिएको हो भाषण होइन । उर्जा विभागीय मन्त्री अर्को कार्यकालमा अर्थमन्त्री भए । कुनै एकव्यापारीको अमेरिकाबाट करिब १४ करोड ?  रकम आएकोमा राष्ट्रबैंक बाट रोकिएको अवस्था थियो । अर्थमन्त्रीले निकास दिन पहल गरिरहँदा बैंकले छानबिन गर्ने अडान लिएको थियो । अर्थमन्त्री र गभर्नरको टसल बढ्दै जाँदा पत्र लेखेर गभर्नरलाई हटाइयो । गभर्नर अदालतबाट स्टे अर्डर लिएर आए । अब नैतिकताले राजिनामा दिने पालो अर्थमन्त्रीको थियो, राजीनामा नदिएपछि आलोचना मात्रै बढेन, सम्बन्धित मन्त्रालयका लागि मन्त्रीको ज्ञान सीप र योग्यताको बारे पनि निरन्तर प्रश्न पनि उठिरह्यो । 

मन्त्रीले एउटा टेलिभिजनलाई आवासमा बोलाई अन्तरबार्ता दिएका थिए । योग्यता सम्बन्धिको प्रश्नमा भित्ताको चित्रमा औंल्याउँदै योग्यता जान्दैन मैले यी गरिब  जनतालाई पढेको छु, यिनकै पक्षमा काम गर्छु भन्ने ढंगको मन्त्रीको उत्तर थियो । गतिलो कुनै तर्क नपाएपछि मान्छेले भावना बेचेर पनि आफ्नो कुरा माथिपार्न खोज्नेरहेछ भन्ने आसय अन्तरबार्तामा बुझियो 

भित्तामा टाँसिएका चित्रमा ग्रामीण भेकका विपन्न वर्ग जस्ता मानिसहरूको तस्बिर थियो । टेलिभिजन अन्तर्वार्तालाई नै ध्यानमा राखेर तस्बिर टाँसिएको पो होकि भन्ने भान हुन्थ्यो । होइन भने अर्थ मन्त्रालयका कैयन प्राविधिक पक्षलाई त्यसरी भावनाले पेल्न खोजेर साध्य लाग्ने कुरै हुँदैन । बजेट निर्माण गर्दा अर्थमन्त्रालयमा कोही बिचौलिया बोलाएर करको दरमा फेर बदल गरिएको भनी मन्त्रीलाई आरोप लाग्यो । बदनाम गर्न कथा जोडिएको हो, करको दरमा फेर बदल भएकै छैन भनी मन्त्रीले प्रतिवाद गरिरहे । अर्थमन्त्रालयको  सिसिटिभी फुटेज खोजियो तर त्यही दिनकै फुटेज मात्रै भेटिएन । त्यो नभेटिनु  भनेको कैफियत छर्लङ्ग हुनु हो । आरोपले उनको मन्त्री पद गयो । काले काले मिलेर खाउँ भाले भने झैं छानबिन गर्ने समितिले कर्मकाण्ड पुर्‍यायो फुटेज नभेटेपछि पनि ऊनी फेरि अर्थमन्त्रीमा नियुक्ति पाए । उपासकहरुले उत्सव मनाए । यो दुर्दशा पनि जनताले भोगेकै हो ।

गणतन्त्रको आवरणमा देशका नागरिकलाई पशु झैं बेचेर धन कमाउने धन्दा भित्रभित्रै निकै फस्टाएको रहेछ । नक्कली भुटानी शरणार्थी  काण्डमा गणतन्त्रका पूर्व उपप्रधानमन्त्री खोरमा थुनिएका छन । सोही प्रकृतिका आरोपी पूर्वगृहमन्त्री पार्टीको प्रतापमा थुनामुक्त भै बाहिरबाटै मुद्दा लड्ने सौभाग्य पाएका छन । तिनका विरुद्ध पुनरावेदन नगर्नका लागि सत्ता ले महान्यायाधिवक्तालाई दबाब दिएको कुरा मिडियामा नै प्रसारण भएको थियो । पार्टी सभापतिकि धर्मपत्नीलाई पनि यो काण्डले बेर्‍यो । सिंगापुर, जापान र भारततिर भागाभाग बनायो । थुनामा रहेका कुनै व्यक्तिले उनलाई करोडौं रुपैयाँ दिइसकेको भनी अर्का व्यक्तिलाई गरेको फोन वार्ता मिडिया मा सार्वजनिक भयो । मेरो बदनाम गर्न झुटो अडियो बनाइ प्रसारण गरिएकोले छानबिन गरि दोषीलाई कारबाही गरिपाउँ भन्ने ढंगको उजुरी प्रहरी अनुसन्धानमा दिइयो । उच्च प्रविधि बाट छानबिन गर्न प्रहरीले सिंगापुर हङकङ ? पठाएको थियो ।  थुनामा भएका व्यक्तिकै स्वराङ्कन भएको र थुनामा रहनु भन्दा अगावैकै तिथि मितिमा रेकर्ड गरिएको व्यहोरा बुझिन आयो । प्रहरीले मिडियामा सूचना चुहाएको भनी अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई सरुवा गरियो छिन्नभिन्न पारियो । संविधानको भावना र मर्म विपरीत छिद्र खोजेर एकैचोटि समानुपातिक कोटाबाट संसद भवन छिरेर राजनीति गर्ने सपना पतिपरमेश्वरको  दयादृष्टी र कृपाले पूरापूर बनायो।

नक्कली भुटानी शरणार्थी काण्डका सर्वाधिक संदिग्ध व्यक्ति बेचन झा पक्राउ परेपछि सत्ता समीकरण बदलियो । प्रमाण सबै कार्पेटमुनि हालेर मन्त्रीको राजकीय पदमा जाने सौभाग्य मिल्यो । काण्ड उहि अभियोजन उही अभागी अभियुक्त कोही खोरमा प्रभावशाली कोही खोर बाहिर शक्तिशाली सभापतिकी भाग्यशाली श्रीमती मन्त्रीमा नियुक्त । यसरी व्यक्तिपिच्छे फरक फरक हुँदोरहेछ कानुन भन्ने कुरा मात्र होइन,गणतन्त्रमा कथनी र करनी पनि निकै अन्तर रहेछ भनी चाल पाए जनताले ।

देश बर्बाद पार्ने यस्ता धेरै दृष्टान्तहरु छन गणतन्त्रसँग । देशमा सुशासन छ जनता सुखी छन भन्छ नेतृत्व, तर यहाँ अदालत फैसला गर्न हिच्किचाउँछ । महान्यायाधिवक्तालाई केहि मुद्दा नचलाउनका लागि निर्देश गर्छ, त्यस उपर पनि मुद्दा चल्छ तर अदालतले नै खारेज गरिदिन्छ । ललिता निवास जग्गा काण्ड होस या वाइडबडी जहाज खरिद काण्ड, नेतृत्वले अदालतलाई औंलो ठड्याएर आफ्ना उपल्लास्तरका नेता जोगाएको छ । टिप्पणी उठाउने कर्मचारी जाकिने र टिप्पणी सदर गरेर भाग हसुर्ने प्रधानमन्त्री र मन्त्रीहरु उम्कने परिपाटी नै त्यो आरोपको पुष्टि हो, त्यसैले गणतन्त्रमा अदालत पनि अदालत जस्तो छैन । सत्ताले धेरै राम्रा काम भएको भन्ने रटान लगाउँछ । जनतामा भ्रम छर्न पार्टीका कार्यकर्ता हावी भैरहेका छन । १८ वर्ष सम्म जनपक्षीय काम हुन सकेको छैन । बेपत्ता छानबिन आयोग र सत्यनिरूपण आयोग तलब खान बाहेक माखो मार्न सकेका छैनन् । ती आयोगलाई सत्ता बार्गेनिङको टुल्स मात्र बनाइए को छ । पार्टीको आफ्नो  विचार सिद्धान्त निष्ठा र आदर्शलाई फोहरमा फालेर उत्तर दक्षिणतिर नाक फर्केका दुई  छुट्टाछुट्टै पार्टीलाई खिचडी बनाएर जनलाई झुक्याइएको मात्र होइन  चुनावमा कार्यकर्तालाई पनि बेइमानी काम गर्न बाध्य पारियो । गणतन्त्रको सत्ता उन्माद र चरम अकर्मण्यताका कारण निराश जनता आक्रोशित बन्दै गएका छ्न । यतिखेर देशमा राजा कि गणतन्त्र भन्ने बहस सघन रूपमा चलिरहेको छ । आक्रोशित जनताले राजाको साथ दिएर गणतन्त्र ढल्न पुग्यो भने त्यसको पूरापूर जिम्मेवार मैमत्त भएका  पार्टी प्रमुखहरूको नै हुनेछ र बाँकी दिन पछुताइ रहनुपर्ने छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *