जाजरकोट भूकम्पः तीन घाइते, घरहरुमा क्षति
जाजरकोट । भूकम्पपछि भागदौड मच्चिँदा तीन जना घाइते भएका छन् । केही घरको पर्खाल भत्किएको छ ।
घाइतेमध्ये भेरी नगरपालिका–२ रिसाङकी ४९ वर्षीया कमला कार्की छाती र दाहिने हातमा घाइते भएकी छन् । उनी जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि डिस्चार्ज भएकी हुन् । यस्तै, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठको बाँया हातमा चोट लागी चार टाँका लगाइएको छ । नलगाड नगरपालिका–१२ का २२ वर्षीय बिरेन्द्र भण्डारीको दाहिने खुट्टामा सामान्य चोट लागेको र उनले स्थानीय मेडिकलमा उपचार गराएका छन् ।
भूकम्पका कारण भेरी नगरपालिका–१० की कमला गोसाईंको एकतले पक्की घरको पश्चिमपट्टि रहेको कोठाको भित्री पर्खाल भत्किएको छ । यद्यपि मानवीय क्षति नभएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
भूकम्प गएलगत्तै जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेको थियो। बैठकमा विभिन्न पक्षका महत्त्वपूर्ण निर्णयहरू गरिएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । ‘भूकम्पपछि नागरिकहरू डरले घरबाहिर बसिरहेका थिए,’ उनले भने, ‘त्यसकारण चोरी, डकैतीजस्ता घटनाबाट धनजनको सुरक्षाको लागि प्रहरी परिचालन गरी निगरानी बढाइएको थियो । साथै, सबै स्थानीय तहहरूलाई तत्काल क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको छ ।’
उनका अनुसार स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्न र आवश्यक औषधिसहित स्वास्थ्यकर्मी स्ट्यान्डबाइ राख्ने निर्णय समेत बैठकमा गरिएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, भूकम्पको धक्का जाजरकोटसँगै सल्यान, रुकुम पश्चिम, दैलेख र सुर्खेतमा समेत महसुस गरिएको थियो । केन्द्रले सम्भावित परकम्पको जोखिम कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।