२०८१ चैत्र ३
×

Now Playing

जुम्लाका प्रत्येक गाउँमा सरकारी अनुदानको नुन

जुम्लाको सिंजा गाउँपालिका–१ का जंगबहादुर रोकाया सरकारी अनुदानको नुन गाउँमै पाएपछि आश्चर्यमा परे । हरेक वर्ष पाँच पोका नुन किन्न न्यूनतम एक हजार रुपैयाँ खर्चेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता बेहोर्दै आएका उनले यो वर्ष पाँच पोका नुन घरमै पाउँदा दंग छन् ।

कोटाअनुसारको नुन नआउने र ढुवानी खर्च नहुँदा गाउँबस्तीमै लिएर बाँड्न सकिने अवस्था थिएन । पछिल्लो समयमा स्थानीय सरकार सञ्चालन भएसँगै जनप्रतिनिधिहरुले नुन वडामै लैजाने गरेका छन् । जसले गर्दा अनुदानको नुन उपभोक्ता गर्नबाट उपभोक्ताहरु बञ्चित हुनु परेको छैन ।

उनीहरुले एक मुष्ट नुन लैजाने र हरेक बस्तीसम्म जनसंख्याका आधारमा पठाइदिने गरेका हुन् । प्रतिव्यक्ति ५ प्याकेट नुन साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जम्लाले उपलब्ध गराउँदै आएको छ । हरेक दसैंमा जुम्लाका अधिकांश बस्तीहरु अलिनो हुने गरेका थिए ।’ कोटाअनुसारको नुन नआउककदा दुर्गम क्षेत्रका सर्वसाधारणहरु महँगो बजारको नुन किन्न बाध्य थिए,’ तातोपानीका रामकृष्ण न्यौपानेले भने, ‘अहिले वडामै लिएर नुन बाँड्ने कार्य सुरु भएपछि निकै राहत मिलेको छ ।’

कार्यालय प्रमुख नगेन्द्र थापाका अनुसार यो दसैंमा नुन अभाव नहुने भएको छ । हरेक स्थानीय तहसँग समन्वय गरेर गाउँबस्तीमै नुन पठाइसकेकोले पनि सदरमुकामको गोदाममा भिडभाड हुने संभावना पनि कमै छ । ‘वडा कार्यालयले घरधुरीको संख्याका आधारमा साल्टट्रेनिङ कर्पोरेशनको कार्यालयमा सिफारिस पठाउने गर्छन्,’ कार्यालय प्रमुख थापाले भने, ‘कार्यालयले सोही सिफारीसका आधारमा नुन पठाउने गरेको छ । जसले गर्दा नुनको दुरुपयोग हुनबाट रोकिएको छ ।

पाँच प्याकेट नुनको ४५ रुपैयाँ तिरेर गाडीभाडा र खानखर्चमा बढी खर्च हुने गरेको थियो । तर अहिले जनप्रतिनिधिसँगको आपसी समन्वयमा हरेक वडामा नुन लैजान थालेपछि निकै सहज बनेको स्थानीयले बताइरहेका छन् । ‘अहिले सदरमुकाम खलंगाको गोदाममा एक हजार १ सय ६० क्वीन्टल नुन मौज्दात छ ।’ गोदाममा नुन प्रयाप्त छ,’ उनले भने, ‘यो पटक नुनकै कारण जुम्लाबासीले भौतारिनुपर्ने अवस्था छैन । यो पटक जुम्लीको दसैं नुनिलो हुने पक्का छ ।’

स्थानीयले सिंजा क्षेत्रका नराकोट डिपो र कनकासुन्दरीको गोरुचौर डिपोबाट नुन लिइरहेका छन् । चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा स्थानीय तहसँगको समन्वयमा हरेक वडामा नुन पठाइसकिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक एक हजार क्वीन्टल र सदरमुकाम खलंगाको डिपोमा ४ हजार क्वीन्टल नुनको कोटा तोकिएको थियो । गत वर्षमा चारहजार कोटा तोकिएको चार हजार ८ सय क्वीन्टल नुन आवश्यक परेको थियो । कार्यालय प्रमुख थापाले जुम्लामा बाँडिएको अनुदानको नुन नासोको रुपमा सुर्खेत,नेपालगञ्ज,कैलाली देखि काठमाडौं सम्म पठाउने गरिएको बताए । अनुदानको नुन जुम्ला बसेकाहरुका लागि मात्र हो, कार्यालय प्रमुख थापाले भने, ‘नासो भन्दै नुन पठाउने गरिएकोले समस्या हरेक वर्ष भइरहन्छ ।’

वर्षेनी एक सय क्वीन्टल नुन जिल्लाबाहिर नासो भनेर पठाउने गरिएको तथ्यांक साल्टट्रेनिङ कर्पोरेशनको कार्यालयको स्थानीय बिर्खबहादुर थापाले अनुदानको नुन बस्तीमै पुग्ने गरेकोले बाहिरको महंगो नुन खरिद गर्नु नपरेको बताए । उनले भने, ‘न लाइन लाग्नु परेको छ । न खलंगामै पुगरे महँगो खर्च बेहोर्नु परिरहेको छ । वडा कार्यालयमै नुन उपलब्ध हुन्छ । प्रति प्याकेट ९ रुपैयाककमै पाइने गरेको छ । यो भन्दा राम्रो त के होला ?’ जुम्लामा एक नगरपालिका,सात गाउँपालिका र ६० वटा वडा छन् ।

सबै वडामा जनप्रतिनिधि र सचिवहरुसँग समन्वय गरेर नुन पठाउने गरिएको कार्यालय प्रमुख थापाले बताए ।