जुम्लामा १४ औँ राष्ट्रपति ‘रनिङ सिल्ड’ शुरु
जुम्लामा १४ औँ जिल्लास्तरीय राष्ट्रपति ‘रनिङ सिल्ड’ प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको समन्वयमा तातोपानी गाउँपालिकाको ६ नम्बर वडाले आयोजना गरेको हो ।
प्रतियोगिता तातोपानी गाउँपालिकाको हाँकुचौरमा तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका कुल ८ वटा स्थानीय तहमध्ये ६ वटामात्रै पालिकाले सहभागिता जनाएका छन् । तातोपानी गाउँपालिका, तिला, हिमा, सिँजा, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका प्रतियोगितामा सामेल छन् ।
गुठिचौर र पातारासी गाउँपालिकाले प्रतियोगितामा सहभागिता नजनाएको तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले जानकारी दिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले १४ औँ जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
बिहिवार संचालन हुने पुरुष भलिबलको पहिलो खेल तातोपानी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।
बालबालिकालाई खेल क्षेत्रमा आकर्षित र उत्प्रेरित गर्न तथा खेलका माध्यमबाट जिल्ला चिनाउन स्थानीय तहले सोच्नु पर्ने जिल्ला खेलकुद विकास समितिकी सदस्य सचिव संगीता आचार्यले बताइन् । बुधवारबाट शुरु भएको १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा छात्रछात्रा भलिबल, सटफुट, हाइजम्प, लमजम्प, ज्याबलिङ थ्रो, दौडलगायतका विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सट फुटबाट उद्घाटन गरिएको पहिलो खेलमा तिला गाउँपालिकाले छात्रातर्फ पहिलो मेडल जितेको छ ।