दाता नभए अलपत्र पर्छन सरकारी लगानी कै आयोजना
बर्दिया जिल्लासँग सीमाना जोडिएको साविकको लेखपराजुल अति विकट क्षेत्र हो । कमजोर भू–बनावट र चुरे पर्वत श्रंखलाका कारण यहाँका दर्जनबढी गाउँमा सडक सञ्जाल पुग्न सकेको छैन । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यी गाउँको दैनिकी कष्टकर छ । केही गाउँमा सडक छिचोलिएको छ । तर, अधिकांश वस्तीहरु सडक सञ्जालसँग टाढा छन् । प्रदेश राजधानीसँगै जोडिएको लेखपराजुलका दुख भनि साध्य छैन ।
स्वास्थ्य र शिक्षाको प्रयाप्त उपलव्धता छैन् । घण्टौं पैदलयात्रापछि बालबालिका अध्ययन गर्न टाढाको विद्यालय धाउनु पर्ने बाध्यता छ । त्यसैमध्यको एक विद्यालय हो भेरीगंगा नगरपालिका–१ माथिल्लो भ¥याङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ।
२०३६ सालदेखि प्राथमिक तहको शिक्षा दिँदै आएको यो विद्यालय निम्न माध्यमिक हुँदै माध्यमिक तहसम्म पढाइ हुन्छ । यहीँ विद्यालयमा वडा नम्बर–१ का दर्जन बढी गाउँका बालबालिकाहरु अध्ययनका लागि पुग्ने गरेका छन् ।
प्रयाप्त भौतिक पूर्वाधारको अभावले खुला चौरमा पढ््न बाध्य विद्यार्थीहरुलाई सहजतका लागि थप दुई कोठे भवन निर्माण सरकारले गरेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिकाले भवन निर्माणको काम अगाडि बढाएको थियो । तर, झण्डै १८ लाख बजेट खर्चिदासमेत भवन पुरा हुन सकेन ।
भवनको पिल्लर र ढलान भयो तर, बाँकी काम सम्पन्न गर्न बजेट अभाव भएपछि अलपत्र प¥यो । सरोकारवाला निकायले भवन निर्माणमा ध्यान दिन सकेनन् । पैसा नभएर अलपत्र परेको उक्त भवन बन्ला भन्नेमा विद्यालयले आश मारिसकेको थियो ।
‘सरकारले वजेट व्यवस्थापन गरेको योजना रकम अभावले रोकिदा बन्छ भन्ने आशा नै थिएन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणकुमार भाट भन्छन्,’ ‘हामी कहाँ गतिला भवन नहुँदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता थियो, सरकारले भवन बनाई दिन लाग्दा खुशी लागेको थियो, तर भने जस्तो भएन ।’
जग हालेर अलपत्र परेको भवन निर्माणका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म धाउदा सम्भव नहुने देखेपछि निराश बनेका अध्यक्ष भाटको सारथी बन्यो एक गैर सरकारी संस्था । जापानी कम्पनी ईगाओको आर्थिक सहयोगमा केयर नेपाल नाम गैर सरकारी संस्थाले सहयोग गरेपछि अहिले उक्त भवन निर्माण सम्पन्न भएको छ ।
उक्त भवन निर्माणका लागि झण्डै १० लाख रकम सहयोग गरिएको थियो । यो एक उदाहरण मात्रै हो । कर्णालीका अधिकांश विद्यालय भवनहरु दाताले हात नथापि दिएको खण्डमा निर्माण हुन असम्भव प्राय हुन्छ ।
‘कक्षा कोठाको अभावका कारण दुई फरक कक्षाका विद्यार्थीहरूलाई वरिपरि पर्खाल नभएको एउटै कक्षा कोठामा बसेर पढ्नु पर्ने बाध्यता थियो,’ छात्रा सञ्जु रावतले भनिन्, ‘विद्यालयमा शौचालय र खानेपानीको अभाव, सेनेटरी प्याड डिस्पोजल पिट नहुँदा थुप्रै छात्राहरुले कक्षा नै छाड्नु परेको थियो । भवन निर्माणसँगै विद्यार्थीहरुलाई सहज भएको छ ।’
यो विद्यालयमा मनिराम काँडा, धनबास, सिमबास, साद्ने, तल्लो भ¥याङ, माथिल्लो भ¥याङ, सिनकाउली र भर्याङ खोरिया गाउँका तीन सय ६२ विद्यार्थीहरु अध्ययनरत छन् । अपूर्ण भवनको वरिपरी पर्खाल निर्माण, प्लाष्टर, बिजुलीको तार तथा रङरोगन गरिएको छ ।
विद्यालयको खानेपानी तथा सरसफाईका सुविधामा सुधारहरू समेत गरिएको केयर नेपालका शिक्षा विशेषज्ञ नवराज शर्माले जानकारी दिए । उनले विद्यालयमा हात धुने स्टेशन र पानीको ट्याङ्की निर्माणसँगै स्वच्छ खानेपानीको सुनिश्चित गरिएको बताए ।
परियोजनासँगै विद्यार्थीहरूलाई खानेपानी तथा सरसफाई र महिनावारी स्वच्छता व्यवस्थापन प्रक्रियासम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । निर्माण सम्पन्न भएको विद्यालय भवन जापानी कम्पनी ईगाओका प्रतिनिधि अकिरा कितानो, भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहोरा, आजाव संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीको टोलीले हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै जापानी कम्पनी इगाओका प्रतिनिधि अकिरा कितानोले शैक्षिक सुधारका लागि आफ्नो कम्पनीले लगानी गर्दै आएको बताइन् । ‘भवन निर्माणपछि विद्यार्थी र विद्यालय परिवारको हँसिलो अनुहार देख्न पाउँदा म खुसी छु,’ अकिराले भनिन्, ‘आगामी दिनमा नेपालका यस्तै दुर दराजमा रहेका विद्यालयहरुमा कम्पनीले खुसी प्रदान गर्न लगानीको हात बढाउने छौं ।’
भेरीगंगा नगरपालिका भित्र रहेका विद्यालयहरुको भौतिक संरचना सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिका गम्भीर भएर लागेको उपप्रमुख धनसरा बोहोराले जानकारी दिइन् । ‘जापानबाट यति विकट बस्तीमा पुगेर विद्यालयको भौतिक संरचनामा सुधार गर्नमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दछु,’ बोहोराले भनिन्, ‘भेरीगंगाको भित्रका भौगोलिक कठिनाइका कारण बस्ती छरिएर रहेकाले नगरपालिकाको बजेटले मात्रै लगानी सम्भव नभएकाले गैर सरकारी संस्थाहरुले यसैगरी थप साथ र सहयोग अपेक्षा हाम्रो छ ।’