दुर्घटना र सर्पदंश उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना र सर्पदंशका बिरामीहरूको उद्धारलाई सहज बनाउन सशस्त्र प्रहरी बल नेपाल न–४२ रिजर्भ गण, हेड क्वाटर शम्शेरगञ्जलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि एम्बुलेन्स हस्तान्तरण भएको हो । अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्सलाई सडक दुर्घटना र सर्पदंशका बिरामीहरूको उद्धारका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा सञ्चालन गर्न सहज हुने बताए । उनले पालिकामा ७–८ वटा एम्बुलेन्स भए तापनि जनशक्तिको अभावका कारण सर्पदंश केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालन गर्न सशस्त्र प्रहरीसँग सम्झौता गरिएको उल्लेख गरे ।
कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले विपद्को बेला उद्धार कार्यमा सहयोग पु¥याउन आवश्यक उपकरणहरू उपलब्ध गराउन इच्छुक रहेको बताए । उनले राप्तीसोनारी गाउँपालिकाको कदमलाई सशस्त्र प्रहरी बललाई सुदृढ बनाउन सहयोगी कदमको रूपमा प्रशंसा गरे ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विपदमा उद्धारका लागि एम्बुलेन्स उपलब्ध गराउनु आपतकालीन अवस्थामा राहतका लागि महत्वपूर्ण हुने बताए । सशस्त्र प्रहरी उपरिक्षक क्षेत्रीले पूर्वपश्चिम राजमार्गमा हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्यका लागि एम्बुलेन्सको ठुलो योगदान हुने धारणा व्यक्त गरे ।
यस कदमले राप्तीसोनारी गाउँपालिकालाई विपद व्यवस्थापनमा सशक्त बनाउने विश्वास गरिएको छ ।