दुषित बायुबाट सुरक्षित रहन चिकित्सकको सुझाव
सुर्खेत । गर्मी यामलागेसँगै बढेको बायु प्रदुषणले मानिसहरुमा बढी प्रभाव पार्न लागेपछि सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले गर्मी याममा बन जंगलमा अत्यधिक डढेलो लागेको, गाडी मोटरको धुँवा, खडेरीले धुलो उडेकोजस्ता कारणले वायु प्रदुषण बढेको हुँदा त्यसको असर मानव स्वास्थ्यमा परेकोले सचेत रहन सुझाव दिएका छन् ।
गर्मी लागेसँगै आँखा पोल्ने, ओठमुख सुक्ने, घाँटी दुख्ने, शरीर चिलाउने, ज्वरो आउने, रुखा खोकी लाग्ने जस्ता रोगको संक्रमण बढेको पाइएको छ । विशेषगरी बालबालिका बढी प्रभावित भएका छन् । राजधानी काठमाडौं त अध्यधिक प्रदुषणले गर्दा मानव स्वास्थ्यमा असर पारेको छ, भने कर्णाली प्रदेश राजधानी सुर्खेततिर काठमाडौं जतिको असर नपरेपनि प्रदुषणको सुरुवात भइसकेको छ । अस्पताल तथा निजी मेडिकलतर्फ विरामीहरु बढ्न थालेका छन् ।
सुर्खेतका बालरोग विशेषज्ञ डा। नवराज केसीले सुर्खेतमा पनि प्रदुषण बढ्ने क्रममा रहेको बताए । विशेषगरी बिहान र बेलुका प्रदुषित हावा आकाशमा नगई वायुमण्डलमै रहने भएकोले यसले बढी असर गर्ने उनले बताए । प्रदुषित हावा बढ्दै गएकोले यसबाट सचेत रही स्वास्थ्य सुरक्षा अपनाउन उनले आग्रह गरे ।
यता प्रदेश अस्पतालमा पनि यसका फाट्टफुट्ट विरामीहरु आउने गरेका छन् । अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले प्रदुषित वातावरणका कारण विरामी नआएपनि अवस्था हेर्दा सचेतना अपनाउनुपर्ने बेला आएको बताए । उनले गर्मी लागेसँगै भाइरल ज्वरोका बिरामीहरु बढेको जानकारी दिए । दुषित वायु विशेषगरी काठमाडौंतिर भएपनि यता उताको जस्तो चिन्ताजनक अवस्था नभएको तर लापरबाही गर्न नहुनेमा उनको जोड छ । घर बाहिर निस्कँदा मास्क लगाउने, धुवाँ धुलोमा सकभर नहिँड्ने, सरसफाईमा ध्यान दिने जस्ता स्वास्थ्य सावधानी अपनाउन उहाँले आग्रह गरे ।
दुषित वायुले दीर्घकालीन रोगले पनि सताउने गर्दछन् । डा. केसीले दम रोग, मुटुरोग, क्यान्सरजस्ता दीर्घ रोग बढाउँछ । यस्तै सँधै सिथिल बनाउने, रोग प्रतिरोधात्मक क्षमताको ह्रास, सिर्जनशीलताको कमी र यसबाट अन्य रोगहरु पनि लाग्न सक्ने बनाउने उनले बताए । उनले वायु मण्डललाई दुषित हुनबाट जोगाउन इन्धनबाट संचालन हुने गाडीहरुलाई निरुत्साहित गरी विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्ने, वृक्षरोपण गरी हरियाली बढाउनुपर्ने र स्वास्थ्य सचेतता अपनाउनुपर्ने सुझाव पनि दिए ।