दैलेखमा युवावीच झडप हुँदा एकको मृत्यु
गएराती दैलखको भैरबी गाउँपालिका–४ सिलङ्गी बजारमा युवा बिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यू भएकोे हो ।
प्राथमिक उपचारपछि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएका बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक कमल आचार्यले जानकारी दिए । झडपको क्रममा घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पु¥याएकोमा सामान्य उपचार गरी फर्किएका र किशोर बुढा क्षेत्रीलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो प्रहरी निरीक्षकले भने ।
भैरबी गाउँपालिका–५ सैनचौरस्थित सुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाहीले सिलङ्गीबजारमा मोटरसाइकल गालीगलौज गर्दै हिंडेको विषयमा स्थानीय युवाहरुसंग विवाद झडप परिणत भएको स्थानीयले बताएका छन् ।
किशोरको ससुराली र घटनास्थल ८–९ किलोमीटर दूरीमा पर्दछ । ‘साँझको सयम पारिवारिक जमघट घएको बेला एउटै मोटरसाइकलमा चढेका चार जनाले महिलाहरु देख्यो कि अपशब्द बोल्ने गरेकाले स्थानीयले सम्झाउन खोज्दा झडप भएको स्थानीयबासी शान्ती रिजालले बताए ।
प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल नियन्त्रणमा लिई सिलङ्गी प्रहरी चौकीमा राखेको छ । ज्यान जाने गरी झडपमा संलग्नहरुको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्याले दैलेखले जनाएको छ ।