निजि क्षेत्रबाट उत्पादित बिजुली, राष्ट्रिय प्रशारण लाइनमा जोडिने
कर्णाली प्रदेशमा तीन निजि क्षेत्रले निर्माण गर्न लागेका जलविद्युत आयोजनाको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडने गरी सम्झौता भएको छ । निजि क्षेत्रले निर्माण गर्न लागेका तीन आयोजनाबाट उत्पादन हुने नौ सय ९० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले निर्माण गर्ने कर्णाली करिडोर चार सय केभी प्रशारण लाइनमा जोड्ने गरी सम्झौता भएको हो ।
चार सय २० मेगावाटको तिला–२, दुई सय ३५ मेगावाटको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ बाट उत्पादन हुने विद्युत उक्त प्रशारण लाइनमा जोडिने गरी सम्झौता भएको छ । ऊर्जा तिला पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको चार सय २० मेगावाटको तिला–२, रुरु जलविद्युत परियोजना लिमिटेडले निर्माण गर्न लागेको दुई सय ३५ मेगावाटको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ लाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । तिला–२ को फुकोट सवस्टेसन, हुम्ला कर्णाली–१ र हुम्ला कर्णाली–२ हुम्ला सवस्टेशनमा जडान गर्ने गरी सम्झौता भएको छ ।
उक्त समझदारीपत्रमा आयोजना प्रवद्र्धक कम्पनीका प्रतिनिधि रुरु जलविद्युत परियोजना लिमिटेडका अध्यक्ष आशिष सुवेदी र ऊर्जा तिला पावर कम्पनी प्रालिका अध्यक्ष भानुभक्त पोखरेल र ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवाली बिच हस्ताक्षर भएको छ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले हुम्लाको कर्णाली नदीदेखि कालिकोटको फुकोट, सुर्खेतको बेतन हुँदै कञ्चनपुरको दोधारासम्म चार सय केभी कर्णाली करिडोर प्रशारण लाइन निर्माण थालनी भईसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
‘प्रशारण लाइनको लम्बाई एक सय ८१ किलोमिटर हुनेछ । यही लाइनको फुकोट सवस्टेसनमा तिला–२ र हुम्ला सवस्टेसनमा हुम्ला कर्णाली–१, २ आयोजनाबाट उत्पादित विद्युत जोडिनेछ,’ उनले भने । कर्णाली करिडोरअन्तर्गतको एक सय ८५ किलोमिटर राष्ट्रिय प्रशारण लाइन अबको ६ वर्षभित्र अर्थात २०८८ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए । १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रशारण लाइनमध्ये फुकोट हबदेखि तल्लो खण्डको ९५ किलोमिटर लाइन निर्माण सुरु भइसकेको छ ।
त्यस्तै, फुकोटदेखि माथि हुम्ला हबसम्म ९० किलोमिटर लाइनको दुई वर्षभित्र अध्ययन सम्पन्न गरी निर्माणको चरणमा लैजाने योजना रहेको ज्ञवालीले बताए । कालिकोटमा पर्ने तिला–२ को निर्माण सन् २०३० सम्ममा सक्ने लक्ष्य राखिएको छ भने, हुम्लामा पर्ने पाँच सय ७० मेगावाटका हुम्ला कर्णाली–१ र २ को निर्माणसमेत ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
हुम्ला कर्णाली–१ र २ को इआईए प्रतिवेदन तयार हुँदै
दुई सय ३५ मेगावाटको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआईए) अध्ययन थालिएको छ । नेपालको अग्रणी हाइड्रो कन्सल्ट इन्जिनियरिङले आयोजनाको वातावरणीय अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।
चिनियाँ कम्पनीले सर्वे लाइसेन्स पाएको हुम्ला कर्णाली–१ र हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको विद्युत भारतले नकिन्ने घोषणा गरेसँगै यी आयोजना निर्माणको जिम्मा नेपाली कम्पनीले लिएका छन् । दुई सय ३५ मेगावाटको हुम्ला कर्णाली–१ र दुई ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना रुरु जलविद्युत परियोजना लिमिटेडले र कर्णाली वाटर पावर प्रालिले संयुक्तरुपमा आयोजना अघि बढाउन लागेका छन् ।
दुवै आयोजनाको चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । नेपालमा लगानी गर्न नसकिने भन्दै चिनियाँ कम्पनी सिचुवान पछि हटेपछि २०७९ मा रुरु र कर्णाली वाटर पावर प्रालिले निर्माणको जिम्मा लिएका थिए । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ ।
तिला–२ आयोजनाको अनुमानित लागत ४२ अर्ब १० करोड ६६ लाख रुपैयाँ रहेको छ । आयोजनासँग विद्युत खरिद सम्झौताका लागि समझदारी भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए), आयोजनाको विस्तृत अध्ययन (डीपीआर) भइसकेको छ । आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
चार सय केभी प्रशारण लाइनका लागि जग्गा खरिद
कर्णालीमा उत्पादन हुने तीन जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत निकासीका लागि चार सय केभी प्रशारण लाइन निर्माण थालिएको छ । कालिकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत निकासीका लागि चार सय केभी प्रशारण लाइन निर्माण हुनेछ ।
प्राधिकरणले चार सय केभी प्रशारण लाइन जडानका लागि कालिकोटको खाँडाचक्र नगरपालिका–११ रेगिलमा जग्गा खरिद भई लाइन जडानको अध्ययनसमेत भइसकेको जनाइएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत निकासीका लागि चार सय केभी प्रशारण लाइन निर्माणका लागि करिब १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ ।
हुम्ला–कर्णाली, फुकोट–कर्णाली, बेतन–कर्णाली, तिला–१ र २ लगायतका आयोजनाबाट उत्पादित करिब तीन हजार मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा आद्धद्ध गर्ने लक्ष्य राखिएको छ । कालिकोटदेखि कूल एक सय २५ किलोमिटर लामो प्रशारण लाइन आयोजना कर्णाली प्रदेशको कालिकोट रेगिलबाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेशनमा जोडिनेछ ।
त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रशारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । त्यसमा दुई सय ५६ वटा टावर रहने छन् । चार सय केभी डवल सर्किट प्रशारण लाइन निर्माणका लागि भारतीय कम्पनी कल्पतरु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग ११ माघ २०७९ मा आठ अर्ब लागतमा ठेक्का सम्झौता भइसकेको छ । यो आयोजना आर्थिक वर्ष २०८३÷०८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।