२०८१ फाल्गुन २९
×

Now Playing

नेपालगंजमा कसरी फैलियो कोराना ? आवागमन ठप्प, मस्जिदमा सिल

नेपालगन्ज, २२ बैशाख ।
बाँकेका थप १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पहिलोपटक शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण देखा परेपछि स्थानीय प्रशासनले पीसीआर पद्धति अपनाई परीक्षण सुरु गरेपछि आइतबार एकै दिन बाँकेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्जमा पहिलोपटक भेटिएका संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्तिमध्येबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरू सबैमा कोरोना संक्रमण देखिएको हो । नयाँ थपिएका संक्रमितमा सात जना महिला र आठ जना पुरुष छन् । महिलाहरू ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । यसैगरी, आठ जना पुरुष १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका छन् ।

उनीहरू सबै नेपालगन्ज–८ जोलाहनपुरवाका हुन् । उनीहरूलगायत ९० जनाको शनिबार मात्र स्थानीय प्रशासनको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । यी सबै पहिलो संक्रमित व्यक्तिसँग अत्यन्तै निकट रहेका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले शनिबार संकलन गरिएको स्वाबमध्ये ५५ जनाको मात्र नतिजा आएको र ३५ जनाको आउन बाँकी रहेको जानकारी दिए । उनले आइतबार थप ४ जनाको स्वाब संकलन गरिएको बताए । अब ३९ वटा सेम्पलको नतिजा आउन बाँकी छ ।

अहिलेसम्म आएको नतिजामा संक्रमित व्यक्तिको घरपरिवार भएको जानकारी आएको छ । उनको घरमा श्रीमती, चार छोरा र एक बुहारी रहेको र तीमध्ये एक छोरा विदेशमा छन् । उनी नेपालगन्ज–७ का बासिन्दा हुन् । कोरोना पृष्टि भएका व्यक्तिलाई उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले संक्रमणको पुष्टि भएका सबैलाई प्रशासनको निगरानीमा उपचारमा लैजाने व्यवस्था मिलाइएको बताए ।

स्थानीय प्रशासनले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिका घर नेपालगन्ज–७ डिएसपी रोड, उनीहरू कार्यरत नेपालगन्ज–८ जोलाहनपुरवाको अन्सारिया मस्जिद र मदरसा इसला मिया फैजुलउलुम भएको स्थानमा प्रशासनले सिल गरी आवगमन बन्द गरेको छ । यसका साथै नेपालगन्ज–१ धम्बोझीचोकमा रहेको मस्जिदमा सिल गरिएको छ । संक्रमितको घर भएको ठाउँ र उनले काम गर्ने स्थानको पहिचान गरी आवागमन ठप्प पारिएको छ ।

त्यसैबीच भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनले भने, ‘संक्रमित व्यक्तिमा कुनै समस्या नभएको र उनी आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा सामान्य अवस्थामै रहेका छन् ।’

बाँकेमा स्थानीय प्रशासनको सहयोगमा पीसीआर र आरडीटी माध्यमबाट ९ सय ५१ जनाको कोरोना जाँच भएकोमध्ये ८ सय ७७ जनाको नतिजा नेगेटिभ, १६ को पोजेटिभ र ३९ को नतिजा आउन बाँकी छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउनकै बेला उदयपुरको धार्मिक संस्थामा आश्रय लिएकाहरूमा संक्रमण फैलिएपछि सरकारले देशभर सबै धार्मिक स्थलमा आश्रय लिएर बस्ने व्यक्तिको अवस्थाको अवलोकन र कोरोना परीक्षण गर्ने नीति लिएअनुरूप बाँकेमा विभिन्न धार्मिक संस्थामा आश्रित व्यक्तिको कोरोना परीक्षण गर्ने क्रममा नेपालगन्जमा कोरोना पुष्टि भएको हो ।

बाँकेका मन्दिर, मस्जिद र मदरसामा बस्दै आएका पुजारी, मौलाना र उनीहरूका सहयोगीको कोरोना परीक्षण गर्ने क्रममा नेपालगन्ज–८ को अन्सारियन मस्जिदमा कार्यरत ती व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी स्थानीय मस्जिदमा ‘अजान’ दिने नमाजको समय जनाउ गर्ने व्यक्ति भएको र मस्जिदमै रहेको मदरसामा समेत पढाउने गरेको कारण उनको सम्पर्कमा धेरै व्यक्ति रहेको पत्ताल गाई पहिलो चरणमा ९० जनाको स्वाब परीक्षणका लागि लिइएको थियो । सोमध्ये ५५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

नेपालगंजमा कसरी फैलियो कोराना ? आवागमन ठप्प, मस्जिदमा सिल

नेकपामा चिनियाँ व्यवस्थापन

Leave a comment

Your email address will not be published. Required fields are marked *