२०८१ चैत्र ३
×

Now Playing

‘पढाइ कुना’ले सुधार्दैः सिकाइस्तर


जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ आभास कार्कीको पढ्ने बानीमा अहिले धेरै परिवर्तन आएको छ । स्थानीय मालिकमा माध्यमिक खिच्चने विद्यालयमा कक्षा–१ मा अध्ययनरत आभासको विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पढ्ने बानी पटक्कै थिएन ।

अहिले घरमा ‘पढाइ कुना’ बनाएपछि कार्कीको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको हो।आभासको घरमा अहिले एक कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइएको छ । आभासको पढाइ कुनामा कापी, कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट घर फर्केपछि कार्कीले झोला र विद्यालय पोसाक व्यवस्थित तरिकाले राख्ने गरेको आमा जीवन कार्कीले बताइन् ।

“पहिले घरमा पढ्ने बानी थिएन, पढाइ कुना बनाएपछि छोराको घरमै पढ्ने बानी परेको छ”,जिवनले भनिन्, “हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन, सरहरुले सिकाएर बनाउन लगाउनुभयो, अहिले धेरै राम्रो भएको छ ।” यस्तै सोही गाउँपालिका–६ स्मृति पछाई हरेक दिन विद्यालयबाट घर फर्किएपछि सरासर पढाइ कुना भएकै कोठामा गएर गृहकार्य गर्न सुरु गर्छिन् । उनी त्यही कोठामा पढ्छिन् ।

“पहिले घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन, आजभोलि नियमित पढ्न मन लाग्छ”, स्मृति भन्छिन्, “पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ, पढौँ पढौँ लाग्छ, पहिले घरमा पढ्नै मन लाग्दैन्थ्यो, विद्यालयमा मात्रै पढ्ने हो जस्तो लाग्थ्यो, अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन लाग्छ ।” पढाइ कुनामा रहेका बालबालिकालाई घरमा बुबाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्ने गरेका छन्।

यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको कनकासुन्दरी गाउँपालिका–६ स्थित आधारभूत विद्यालय गोरुचौरका प्रधानाध्यापक गणेशप्रसाद आचार्यले बताए।पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको आचार्य बताउँछन् ।

यस्तै सिंजा गाउँपालिका –३ कै कृतिम रेग्मीको घरमा पनि पढाइ कुना छ । उनी हरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिक सामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन् ।

त्यही कोठामा पढ्छिन्।यता हिमा गाउँपालिका – १ बड्की गाउँकि सृजना शाहीको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन् । आजभोलि नियमित पढ्छिन् । उनले भनिन्छ अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी बढ्न मन लाग्छ ।’ आभास,स्मृति,कृतिम र सृजनाको घरमा मात्र होइन । सिंजा क्षेत्रका तीन गाउँपालिकाका ३ सय घरधुरीमा पढाइ कुना निर्माण गरिएको छ।कनकासुन्दरी गाँउपालिका र प्लान इन्टरनेश्नल नेपाल, पेश नेपाल जुम्लाको साझेदारी सञ्चालित र कनकासुन्दरी गाँउपालिकाको समन्वयमा आधार परियोजना अन्तर्गत एक घर एक पढाईकुना कार्यक्रम सुरु गरिएको पेश नेपाल जुम्लाका सुपरिवेक्षक विर्ख बिष्टले बताए ।

हिमामा,१ सय २०,सिंजामा ६० र कनकासुन्दरी गाउँपालिकामा ९३ गरि कुल करिब दुई सय ७३ वटा पढाइ कुना निर्माण गरिएको उनी बताउँछन् ।

“विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुआत गरेका छौँ”, पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले भने, “पढाइ कुनाले अहिले बालबालिकाको घरमा पढ्ने बानी बस्नाका साथै दैनिक क्रियाकलाप नै फेरिएको छ ।”

सिंजा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर धितालले पढाइ कुनाले बालबालिकाको सिकाइस्तरमा सुधार आउनाका साथै अभिभावक पनि बालबालिकाको पढाइप्रति सचेत भएको पाइएको बताए ।