२०८१ चैत्र ३
×

Now Playing

पहाडमा साम्राज्य जमाउँदै विद्युतीय सवारी


कर्णालीका सडकमा गुड्ने सवारी साधनहरु डिजेल र पेट्रोलबाट चल्थे । सडक सञ्जाल पुगेका ठाउँसम्म पुग्नु पर्ने अन्तिम विकल्प नै डिजेलबाट चल्ने सवारी हुन् । कर्णालीका प्रायः जिल्लाहरुमा पुग्ने डिजेल सवारीको नै प्रभुत्व हो । तर वातावरण अनुकुलित सवारीहरुको संख्या दिनानुदिन बढीरहेको छ ।

तराईका क्षेत्रमा मात्रै गुड्ने विद्युती सवारीहरु अचेल कर्णालीका पहाडी जिल्लाहरुमा पुग्ने गरेका छन् । नेपालमा विद्युतीय सवारी भित्रिएको विं.सं. १९७८ मै हो । त्यो बेला हेटौंडा–टेकु रोपवे चलाइएको थियो भने २०३२ सालमा काठमाडौंका सडकमा गुडेका ट्रली बस सञ्चालनमा ल्याइएको थियो । विभिन्न आरोह अवरोह झेल्दै २०६६ सालसम्म जेनतेन चलेको ट्रली बस त्यसपछि पूर्ण रुपमा बन्द भयो ।

यो बिचमा काठमाडौंकै सडकमा सफा टेम्पो सञ्चालनमा ल्याइए पनि यसले पूर्ण प्रतिस्पर्धा गर्न नसक्दा ओझेलमा थियो । पछिल्लो पटक सरकारले आर्थिक वर्ष २०७३÷०७४ को नीति, कार्यक्रम तथा बजेटमा विद्युतीय सवारीको आयात सहज बनाइएपछि यसको संख्या अहिले बढ्दो क्रममा छ । प्रायः निजि प्रयोजनका लागि प्रयोग गरिँदै आएका विद्युतीय सवारीहरु पछिल्ला वर्षमा सार्वजनिक यातायातमा भित्रिने संख्या बढोत्तरी छ ।

नेपालगञ्ज–सुर्खेत रुटमा दैनिक छिटपुट सञ्चालन हुने विद्युतीय सवारीहरु अहिले सुर्खेतबाट दैलेख, जाजरकोट सदरमुकाम तथा रुकुम पश्चिममा समेत सञ्चालन छन् । कर्णालीमा विद्युतीय सवारीमा बस भने सञ्चालनमा छैनन् । तर ११ देखि १७ सिट क्षमताका साना सवारीहरु नियमित रुपमा सञ्चालन भइरहेको यातायात व्यवसायी बताउँछन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मात्रै सार्वजनिक सवारीका रुपमा प्रयोग गरिने विद्युतीय सवारीको संख्या ५० बढी छ । नेपालगञ्जबाट मात्र दैनिक ३० बढी सवारी वीरेन्द्रनगर आएर फर्किने गरेका छन् ।

कालोपत्रे गरिएका सडकहरुमा सञ्चालनमा कुनै समस्या नहुने भएकाले डिजेल गाडीको विकल्पका रुपमा विद्युतीय सवारीहरुमा व्यवसायीको आकर्षण बढेको छ । आर्थिक र वातावरणीय रुपमा राम्रो देखिएपछि डिजेल गाडीलाई विस्तारै विद्युतीय गाडीले विस्थापित गरिरहेको छ ।

कर्णालीका पहाडमा कुनै बेला एकछत्र साम्राज्य बनाएका बसहरुलाई फोर्स गाडीले विस्थापित गरिरहेको बेला विद्युतीय गाडीमा व्यवसायीहरुले लगानी बढाइरहेका छन् ।

‘डिजेल सवारीभन्दा विद्युतीय सवारीमा यात्रा गर्दाको अनुभूति नै बेग्लै छ,’ यात्रु धनराज रावलले भने, ‘डिजेलबाट चल्ने गाडीहरुमा यात्रा गर्दा गन्ध आउने र ठूलो आवाजले कष्टकर जस्तै यात्रा लाग्थ्यो । तर विद्युतीय सवारीमा आवाज नआउने र शान्त रुपमा यात्रा गर्दा मनै प्रफूलित बनाउने रहेछ ।’

विद्युतीय सवारीमा पेट्रोल पम्पबाट डिजेल–पेट्रोल हाले जस्तै चार्जिङ स्टेसनबाट विद्युत चार्ज गर्नुपर्छ ।
हाल बजारमा उपलब्ध आधुनिक विद्युतीय गाडी एक पटक पूर्ण चार्ज गरेपछि करिब ६४० किलोमिट चल्ने गरेको व्यवसायीहरु बताउँछन् । विद्युतीय सवारीका सञ्चालनमा सहजतका लागि चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टर लगायत पूर्वाधारको विकास गरिएको छ । नेपाल विद्युत प्राविधिकरणले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा फास्ट चार्जिङ स्टेसन निर्माण गरिदिएको छ ।

डिजेल सवारीकै भाडादर
विद्युतीय सवारीको संख्या बढेपनि भाडादर भने डिजेल गाडीकै सरह छ । विद्युतीय सवारीलाई एक पटक चार्ज गरेपछि झण्डै ६ सय किलोमिटरसम्म गुड्छ । डिजेलबाट चल्ने गाडीले लिइरहेको भाडा विद्युतीय सवारीले यात्रुबाट लिने गरेका छन् ।

विद्युतीय सवारीमा आकर्षण बढेपनि खरिद निकै महंगो भएकाले भाडादर घटाउन नसकिएको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्का बताउँछन् । ‘विद्युतीय गाडी खरिद गर्दा ४५ लाखदेखि ६५ लाखसम्म मूल्य पर्छ तर डिजेलबाट चल्ने फोर्स गाडीको करिव ४५ लाख मूल्य छ,’ खड्का भन्छन्, ‘मूल्य महंगो भएकाले व्यवसायी साथीहरुले भाडादर कसरी घटाउने भनिराख्नु भएको छ ।’

सरकारले विद्युतीय सवारी सञ्चालनको विषयमा स्पष्ट नीति नल्याएका कारण पनि भाडादर घटाउनमा व्यवसायीमा अन्यौल देखिएको सचिव खड्काको तर्क छ । सरकारले बनाएको चार्जिङ स्टेशनभन्दा नीजिमा गाडी चार्ज गर्दा महंगो शुल्क तिर्नुपर्ने गुनासो व्यवसायीको छ ।

‘डिजेल गाडीभन्दा विद्युतीय सवारीमा खर्च छैन् । चार्ज गरे पुग्छ,’ खड्काले थपे, ‘सरकार नै अस्थिर छ । व्यवसायी अनुकुल नीति ल्याउनै चुकिरहेको बेला व्यवसायीले लगानीअनुसार भाडा नघटाउनु स्वभाविक हो ।’

नियमन गर्न विधेयक दर्ता

प्रदेश भित्र सञ्चालन हुने यातायातहरुको नियमन गर्ने जिम्मा प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । तर मन्त्रालयले हालसम्म विद्युतिय सवारी सञ्चालन ऐन ल्याउन नसक्दा यातायात सञ्चालन सम्बन्धी प्रक्रिया संघकै कानुनका आधारमा चलिरहेको छ । मन्त्रालयले प्रदेश यातायात विधेयक तयार गरी प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदी बताउँछन् ।

यातायातसँग जोडिएका सबै विषयलाई सम्बोन्धन गर्नेगरी ऐन नै बनाएर लागू गर्नेगरी मन्त्रालयले विधेयकको तयार गरेको हो । ‘विधेयकमा विद्युतीय सवारीको विषयमा समावेश गरिएकाले पारितपछि भाडादर र यातायातका अन्य विषयमा देखिएको जटिलता सम्बोन्धन हुनेमा विश्वास लिएका छौं,’ सुवेदी भन्छन्, ‘विधेयक पारित हुँदासम्मका लागि प्रदेश यातायात कार्यविधिलाई अन्तिम रुप दिँदैछौं ।’

विद्युतीय सवारी खरिद दर उच्च रहेकाले व्यवसायीहरुले भाडादर घटाउन नहुने विभिन्न समयमा राय राख्दै आएको मन्त्रालय स्रोत बताउँछ । डिजेल गाडीको तुलनामा विद्युतीय सवारीको भाडादर कम हुनुपर्नेमा व्यवसायीले तत्काल घटाउन समस्या रहेको विभिन्न छलफलमा बताएको यातायात व्यवस्था कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

‘यात्रुले नै विद्युतीय सवारी खोजेपछि भित्र्यायौं’

रमेश सापकोट, अध्यक्ष सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.

शुरुमा नेपालगञ्जका यातायात व्यवसायीले सुर्खेतका लागि दैनिक विद्युतीय सवारीहरु पठाउने गर्नुभएको थियो । दैनिक एक/दुई हुँदै यो संख्या अहिले नेपालगञ्जबाट सुर्खेत आउने विद्युतीय सवारीको ३० बढी पुगिसकेको छ । विस्तारै विद्युतीय सवारीको संख्या एकतर्फी रुपमा बढेपछि हामीले पनि किन सुुरुवात नगर्ने भन्ने निचोडमा पुग्यौं ।

जसरी फोर्स गाडीले बसलाई विस्थापन गरे त्यसैगरी विद्युतीय सवारीले डिजेल गाडी विस्थापित गर्छन् है भन्ने व्यवसायी साथीहरुमा लाग्यो । हाम्रा व्यवसायी साथीहरुसँगको यो विषयमा छलफल पनि गरियो । रोचक पक्ष के छ भने नेपालगञ्जबाट सुर्खेत बसपार्कमा आएका विद्युतीय सवारीमा नै यात्रुहरु चढ्न खोजेका दृष्यहरु देखियो । पहिला पहिला यात्रुहरु सुरुमा छुट्ने सवारीमा जानुपर्छ भन्ने हतार गर्नुहुन्थ्यो ।

तर परिदृष्य अहिले बदलिएको छ । यात्रुहरुले नै विद्युतीय सवारीको नम्बर कति बेला छ भनेर कुर्ने माहोल बनेको देखियो । सुर्खेत–नेपालगञ्ज–सुर्खेत रुटमा दिउँसो १२ बजेसम्म यताबाट हाम्रा र नेपागञ्जदेखि बाँकेमा रहेका समितिका सवारीहरु छुटाउने गरिन्छ ।

यात्रुहरुको आकर्षण विस्तारै विद्युतीय सवारीतर्फ मोडिएपछि हाम्रो प्रा.लि.ले विद्युतीय सवारी भित्र्याएको हो । अहिले सुर्खेत काँक्रेविहारसँग २० बढी विद्युतीय सवारी छन् । यो संख्या बढ्दो क्रममा छ । सबै समितिसँग झण्डै ५० बढी विद्युतीय सवारी छन् । कालोपत्रे गरिएका सडकहरुमा विद्युतीय सवारी चलाउन कुनै समस्या छैन् । कच्चि सडकमा भने गुडाउन सकिदैन् ।

पक्की सडक भएकै कारण सुर्खेत काँक्रेविहारले दैनिक सुर्खेत–दैलेख–सुर्खेत, सुर्खेत–जाजरकोट–सुर्खेत, सुर्खेत–बोटेचौर–नेपालगञ्ज र सुर्खेत–नेपालगञ्ज–सुर्खेत रुटमा नियमित सवारी छुटाइरहेको छ । अन्य यातायात प्रा.लि.हरुलेसमेत जिल्ला भित्र र जिल्ला बाहिरका ठाउँसम्म विद्युतीय सवारीबाट सेवा दिइराख्नु भएको छ । जाडोयाममा चार्जिङ गर्न कुनै समस्या छैन् तर गर्मी सिजनमा विद्युतको लो भोल्टेजका कारण चार्जिङको समस्या छ ।

डिजेल खर्च पूरै बच्ने भएकाले व्यवसायी साथीहरुको रोजाई अहिले विद्युतीय सवारीतर्फ बढ्दो छ । सरकारले विद्युतीय गाडी प्रवद्र्धनका लागि करमा छुटसँगै रातीको समयमा चार्ज गर्दा छुट दिने, विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याउनुपर्छ ।

पहाडमा साम्राज्य जमाउँदै विद्युतीय सवारी

चरम निराशा