पूर्वराजा ज्ञानेन्द्रले महानगरलाई जरिवानास्वरुप सात लाख ९३ हजार तिर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको भन्दै ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
महानगरले पूर्वराजाका नाम उल्लेख गरेर आठवटा छुट्टाछुट्टै पत्र काटेको छ । फरक–फरक शीर्षकमा फरक–फरक जरिवाना रकम तोकिएको छ ।
महाननगरले कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
महानगरले आगो निभाउन प्रयोग भएको न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा गरेर तोडफोड गरेको भन्दै एक् लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
यस्तै राजावादीले कार्यक्रम आयोजना गरेको तीनकुने क्षेत्रका रुख, विरुवा र रेलिङ भाँचेवापत ४० हजार र तीनकुनेकै आइल्यान्ड तोडफोड गरेवाफत २३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।