बजेट दुरुपयोगमा इन्जिनियरको सेटिङ झुट्टा बिल बनाई ५३ लाख झ्वाम
रकम हिनामिना भएका मुगुका चार वटै योजनामा इन्जिनियर महेश सिंह कठायतको संलग्नता भएको पाइएको छ । इन्जिनियर कठायतकै सेटिङमा चार वटा योजनामा दुई करोड ६३ लाख १० हजार पाँच सय ५१ रुपैंया हिनामिना भएको हो ।
योजनाको रकम हिनामिना गर्ने इन्जिनियर कठायतसहित संलग्न सबै व्यक्ति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
इन्जिनियर कठायत मुगुका जुन पालिकामा गयो त्यहीका योजनामा बजेट दुरुपयोग गर्न सक्रिय देखिएको पृष्टि भएको छ । उनकै संलग्नतामा सोरु गाउँपालिका–९ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माण, छाँयानाथ रारा नगरपालिका–२ मा पार्क निर्माण, छायाँनाथ रारा नगरपालिका ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति र सोरु गाउँपालिका–९ स्थित तन्दवाडा–छडा सिँचाई आयोजनाको रकम हिनामिना भएको हो ।
जसमा एउटा योजनाको काम नै नगरी झुट्टा विलभपाई बनाइ रकम भुक्तानी गरिएको छ । भने अन्य योजनामा कम काम बढि भुक्तानी गरिएको, झुट्टा बिल भपाई पेसगरी भुक्तानी गरिएको लगाएतका गलत कार्य भएका छन् । आयोगका अनुसार इन्जिनियर कठायत र तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे सहित १० जनाको संलग्नतामा सोरु गाउँपालिका–९ स्थित तन्दवाडा–छडा सिँचाई आयोजनाको ८० लाख ४६ हजार ४२ रुपैंया हिनामिना गरेको भएको छ ।
त्यस्तै इन्जिनियर कठायतकै संलग्नतामा छाँयानाथ रारा नगरपालिका–२ मा पार्क निर्माण गर्दा ७२ लाख २९ हजार नौ सय १७ रुपैंया अनियमितता भएको छ । यो योजनामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल सहित ७ जना संलग्न रहेको पाइएको छ ।
यता छायाँनाथ रारा नगरपालिका ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा समेत इन्जिनियर कठायतकै संलग्नतामा ५७ लाख २४ हजार नौ सय १९ रुपैंया अनियमितता गरेको पाइएको छ । यो योजनाको रकम हिनामिना गर्नेमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित १० जना संलग्न छन् ।
योजनाको रकम हिनामिना गरी गैरकानुनी लाभ तथा हानिनोक्सानी र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्दै इन्जिनियर कठायत सहित संलग्न सबै व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा पेश भएका उजुरीका आधारमा आयोगको केन्द्रिय कार्यालयले मुद्दा दायर गरेको हो । यी मुद्दा चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन १२ गतेदेखि चैत १ गतेसम्मका मात्रै हुन् ।
अदालतको फैशलापछि भ्रष्टाचारमा जोडिएका इन्जिनियर कठायत सहित सबै व्यक्तिले बिगो रकम फिर्ता गर्नुका साथै दोषि ठहरिएमा मुद्दाको प्रकृति अनुसार तीन महिनादेखि १० बर्षसम्म कैद सजाय समेत भोग्नुपर्ने कानुनी व्यवस्था छ ।
झुट्टा बिल बनाई ५३ लाख झ्वाम
सोरु गाउँपालिका–९ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माण गर्दा काम नै नगरी झुट्टा विल भपाई बनाएर ५३ लाख नौ हजार ६ सय ७३ रुपैंया हिनामिना भएको छ । इन्जिनियर महेश सिंह कठायतकै संलग्नतामा यो योजनाको काम नै नगरी नक्कली विल भपाई बनाई बजेट भागबण्डा गरी कुम्ल्याएका हुन् । यसमा जिल्ला इन्जिनियर तथा तत्कालीन जिल्ला प्राविधिक कार्यालय प्रमुख देवीप्रसाद पाण्डे सहित सात जना व्यक्ति संलग्न छन् ।
उनीहरुले योजनाको काम सम्पन्नपछि भुक्तानी दिएको भन्दै नभएको कामलाइ भएको भनि नक्कली विल भपाई बनाई रकम भागबण्डा गरेको पाइएको छ । जसमा इन्जिनियर पाण्डे र महेशसिंह, भिमबहादुर रोकाया, सर्जन शाही, उपभोक्ता समिति अध्यक्ष दिपादेवि शाही, सचिव पूर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाही रहेका छन् । गैरकानूनी लाभ तथा हानी गरेको आरोपमा उनीहरु विरुद्ध हाल विशेष अदालतमा भ्रष्टाचार मुद्धा छ ।
यसमा इन्जिनियर तथा कार्यालय प्रमुख पाण्डेले मात्रै १४ लाख १७ हजार नौ सय ३५ रुपैया हिनामिना गरेका छन् । नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार योजनाको नभएको कामलाइ पनि भएको भनि नक्कली विलभर्पाइ बनाइ पाण्डेले १४ लाख १७ हजार नौ सय ३५ रुपैया भुक्तानी दिएका हुन् । तर त्यो रकम उनकै मिलेमतोमा हिनामिना गरिएको हो ।
अदालतमा दायर भएको आरोप पत्रमा भनिएको छ, ‘कार्य सम्पन्न नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुरÞ्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निज देवी प्रसाद पाण्डेलाई १४ लाख १७ हजार नौ सय ३५ रुपैया बिगो कायम गरी कानुन बमोजिम कैद र जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।’
त्यस्तै तत्कालीन प्राविधिक कार्यालयका इन्जिनियर महेश सिंह कठायतले नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार प्रथम, द्धितीय र तृतीय विलबाट १२ लाख ३६ हजार नौ सय एक रुपैंया नभएको कामलाई पनि भएको भनी झुट्टा विल भरपाई बनाई भुक्तानी दिएका थिए ।
उनलाइ पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सो रकम बिगो कायम गरी कानुन बमोजिम कैद र जरिवाना गर्न माग गरिएको छ । कार्यालयका तत्कालीन सव इन्जिनियर भिम बहादुर रोकायाले प्रथम रनिङ्ग विलअनुसार फिल्डमा नभएको कामलाई पनि भएको भनी एक लाख ९१ हजार दुई सय ६ रुपैंया हिनामिना गरेको पाइएको छ ।
कार्याालयका तत्कालीन असिस्टेन्ट सवइन्जिनियर सर्जन शाहीले पनि १० लाख ४५ हजार ६ सय ९४ रुपैंया बराबरको नभएको कामलाई पनि भएको भनी झुट्टा विल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेका छन् ।
साथै, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पुर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीले कार्यालयुसँग गरेको सम्झौता र सोअनुसारको इस्टिमेट बमोजिमको काम नगरी स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्यांकन हुँदा यथार्थ कार्य मूल्यांकनभन्दा १४ लाख १७ हजार नौ सय ३५ रुपैंया बराबरको बढी भुक्तानी लिएका छन् ।
उनीहरुले पनि नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुरÞ्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको कानुन बमोजिम बिगो रकम असुलउपर सहित कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।