२०८१ चैत्र २
×

Now Playing

बाजुराका २९ सडकमा बजेट विनियोजन


सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बाजुरा जिल्लामा २९ सडक योजना समावेश गरेको छ । प्रदेश सरकारले भदौ ३१ गते संसद्मा पेस गरेर आइतबारमात्रै बहुमतले पारित गरेको बजेटमा जिल्लाका २९ वटा सडक योजना परेका छन् । प्रदेश सरकारले जिल्लाका प्रायः सबै पालिकाका विभिन्न ठाउँ जोड्ने साना ठूला गरी २९ वटा योजनाका लागि बजेट विनियोजन गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी र खप्तड–मार्तडी सडक खण्डका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । मार्तडी–कोल्टी–पिलुचौर सडक कालोपत्रे गर्नका लागि समानिकरणबाट पाँच करोड र समपुरक अनुदानबाट १० करोड गरी १५ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै खप्तड–छेडेदह गाउँपालिकाका सबै वडा जोड्ने खप्तड–मार्तडी सडकखण्ड समानीकरणबाट तीन करोड र समपुरक अनुदानबाट सात करोड गरी १० करोड बजेट विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश सरकारले मुगुको झुगलादेखि स्वामिकार्तिक खापर गाउँपालिकाको जेरा वाई साप्पाटा हुँदै कालिकोट सडक २५ लाख, सालीमेला सैदिया साईमाणु हुँदै खडुली सडक स्वामिकार्तिक गाउँपालिकामा २५ लाख, बूढिगंगा नगरपालिकाको बेतालमाण्डौं–टुनिसैन डेल्टा–आटिचौर भौनेरा सडक २५ लाख, बडिमालिका नगरपालिकामा मार्तडी–बडिमालिका सडक २० लाख र आन्तरिक स्रोतबाट पाँच लाख बजेट विनियोजन गरेको छ ।

बूढीगंगा नगरपालिका–७ को सुक्खा खोला चौरा सिमलकोट सडक २५ लाख, हिमाली गाउँपालिका क्युडी–कोट नेतिखोला देउलीसैन सडक २५ लाख, बूढीगंगा–५ को नुवाघर भित्री सडक र पिपलडाली देउलीकोट जय बूढीनन्दा–१ सडक गरी २० लाख, हिमाली गाउँपालिकाको ढोगदिनादेखि दाराल्ना सडक २५ लाख बजेट छुट्याएको छ ।

त्यस्तै बडिमालिका नगरपालिकाको जडांगा कोर्ध हुँदै बडिमालिका लादे पाटन सडक २५ लाख, कर्णाली करिडोरदेखि मनिकाँडा बडिमालिका सडक २५ लाख, सुइजिउलादेखि मुक्तिकोट हुँदै राफाडाँडा सडक २४ लाख, लामारया भलादया राताढुंगा सडक ५० लाख, सेरा आटिचौर थामलेख सडक एक करोड, बडिमालिका–३ रजालीदेखि गौमुलको अम्लिस अन्तरपालिका सडक कालोपत्रे २४ लाख ९० हजार विनियोजन गरेको छ ।

त्यसैगरी बूढीनन्दाको पोरखेदेखि दिउडा बडिमालिका सडक दुई करोड, छतारा स्वास्थ्य चौकीदेखि त्रिभुवनेश्वरी मावि हुँदै लावादुङ सडक दुई करोड ५० लाख, आटिचौर डोगडी सडक दुई करोड ५० लाख, कुवाडी बिच्छ्या हुँदै हिल्सा सडक दुई करोड ५० लाख, गुईगाड बसाली देनबाडा बजेडी सडकमा समानीकरण २० लाख र आन्तरिक स्रोतबाट पाँच लाख गरी २५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै मालागाड सडक पुल निर्माण ५० लाख, बूढीगंगा नदीमा चार वर्षदेखि थन्किएको बेलिब्रिज स्थानान्तरणका लागि २५ लाख, मार्तडी–कोल्टी सडकको रजातोली पक्की सडक पुल निर्माण २५ लाख, अनाई खोला सडक पुल दुई करोड ७० लाख छुट्याएको छ । त्यस्तै कर्णाली ट्रस ब्रिज निर्माण २५ लाख, भौनेरा पक्की पुल निर्माण दुई करोड ५० लाख, डाब बजार हुँदै डुगुरसैन सडक निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।