२०८१ चैत्र ३
×

Now Playing

भारतको बद्रीनाथ दर्शन गरेर फर्किए लुवासरका धामीझाँक्री


हुम्ला जिल्लाका लुवासुरका धामी राजबहादुर बोहरा र झाँक्री छत्तबहादुर रोकायाको टोली भारतको बद्रीनाथको धार्मिक पूजाआजा गरी जिल्लामा फर्किएका छन् । जनै (साउने ) पूर्णिमाको अवसर पारी हिन्दूहरूको पवित्र धार्मिक स्थलको पूजापाठ गरेर धामीको टोली जिल्लामा आइपुगेको हो ।

लुवासुर देवताका लागि बद्रीनाथ निकै महत्वपूर्ण र जन्मस्थल भएको कारण धामीको टोलीलाई बद्रीनाथको दर्शन गराएर फिर्ता ल्याइएको सिमकोट गाउँपालिका– ५ को स्थानीय धर्मराज बोहराले बताए ।

उनको टोली साउन १८ गते जिल्लाबाट गएर फिर्ता भएको हो । उनीहरू हुम्लाबाट नेपालगञ्जसम्म हवाई मार्गमा गएका थिए ।

धामीले बद्रीनाथमा पुगेर पुजापाठ गरे सबैतिर राम्रो हुने धार्मिक विश्वासका साथ उनलाई दर्शन गराउने कार्य भएको हो ।
धामीझाँक्रीको सहयोगीका रुपमा स्थानीय जीवन बोहरा र देवीसिंह बोहरा सँगै गएका थिए । धामीको टोली जिल्ला आइपुगेपछि मन्दिर (माडु) मा पूजाआजा चलिरहेको छ । यसअघि लुवासुरका धामी बोहराको टोलीले चीनको मानसरोवर र कैलाशको दर्शन गर्दै पूजापाठ गरिसकेका छन् ।