२०८१ फाल्गुन २९
×

Now Playing

भारत पुगेपछि जन्मभूमिमै संघर्ष गर्ने सोच आयो

रामबहादुर खड्का
मार्सल जनरल एण्ड अडर सप्लायर्स/सुर्खेत

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको डौसुरमा जन्मिएका रामबहादुर खड्का अब्बल व्यवसायी हुन् । बाल्यकाल गाउँमै विताएका खड्काको व्यवसायी नै बन्ने लक्ष्य थिएन । मध्यम परिवारमा हुर्किएका उनलाई एसएलसी दिँदासम्म कुनै कुरामा अपुग हुन आमाबुवाले दिएनन् । एसएलसीपछि भारतको सुरतसम्म पुगेका खड्काले जिन्दगीको खास महत्व त्यहीँ बुझे । अर्काको भूमिमा रुपैयाँ कमाउन सहज थिएन् । झण्डै १० महिनाको भारत बसाईँले उनलाई केही गर्ने आत्मबल बढाएपछि उनी कामकै लागि भारत नजाने निर्णय गर्दै जन्मभूमि फर्किए । भारतमा गरेको संघर्षले आज उनी सुर्खेतका एक अब्बल व्यवासयीको पहिचान बनाउन सफल भएका छन् । प्रस्तुत छ आजको जम्काभेटमा मार्सल जनरल एण्ड अडर सप्लायर्सका सञ्चालक खड्कासँग गरिएको कुराकानीका सम्पादित अंश :

बाल्यकालको पढाइ
डौसुरको भैरव माध्यमिक विद्यालयबाट अक्षर चिनेका खड्काले एसएलसीसम्मको अध्ययन गरेका छन् । गाउँकै विद्यालयमा प्राथमिक तहको शिक्षा हासिल गरेका खड्काले निम्न माध्यामिक तहमा जम्बुकाँधमा पढे । गाउँमा ऊबेला माध्यमिक तहको पढाइ नहुने भएपछि एसएलसी सम्मको शिक्षा भने विजया माध्यमिक विद्यालय दुल्लुबाट पूरा गरे । एसएलसी लगत्तै २०५१ मा भारतको सुरत गएका खड्काले जिन्दगीको सार्थक गति थाहा पाए । ‘ फुपु सुरतमै बस्नुहुन्थ्यो, एसएलसीपछिको खाली समय विताउन भारत गएको हुँ’ खड्काले भने, ‘शुरुका दुइ महिना फुपूसँगै बसे पनि पछि होटल क्षेत्रमा आठसय रुपैयाँ तलबमा काम गर्न थालेँ ।’ भारतमा रहँदा उनले आठ महिनासम्म एक हजार पाँचसय रुपैयाँ तलब बुझ्थे । टेबलमा खाना पुरयाउँदा उनको कामको प्रशंसा गर्दै ग्राहकहरुले टिप्स पनि दिन्थे । त्यो पल उनले आफ्नै मेहनतमा कमाएको रकमप्रति गौरव गर्थे । ‘आफूले कमाएको रकमको महत्व बुझ्दै गएँ’ खड्का भन्छन्, ‘भारतमा काम गर्दा खटिने समय र इमान्दारिता जन्मभूमिमा दिँदा केही गर्न सकिन्छ भन्ने आत्मबल बढाउँदै नेपाल फर्के ।’

व्यापारमा लाग्न दाजुको भूमिका
खड्का भारतमै हुँदा उनका दाजुले दैलेखको तल्लो डुंगेश्वरमा व्यापार गरिरहेका थिए । घर फर्किएपछि बाँकी रहेको पढाइ अघि बढाउनुभन्दा दाजुसँगै व्यापार व्यवसायमा होमिने निधो गरे । दाजुकै लगानीमा सञ्चालन भइरहेको पसलमै उनले २०५२ सालदेखि काम शुरु गरे । ‘दाजुले बाहिर काम गर्दा पसलमा म हुन्थे, व्यापार गर्ने तरिका र मालसमानको दररेट बुझ्ने मौका पाएँ’ खड्का विगत सम्झन्छन्, ‘दाजुको योगदानले आज मार्सल जनरल स्टोर्सलाई स्थापित गर्न सफल भएको छु ।’

दाजुसँगै खड्काले झण्डै तीनवर्ष व्यापारमा काम गरे । कर्णाली राजमार्गले गति छिचोल्दै गर्दा उनले २०५६ सालमा रामाघाटमा आफ्नै अगुवाइमा व्यापार शुरु गर्ने निधो गरे । दाजुले पनि उनको योजनामा समर्थन जनाए । राजमार्गकाले आशा जगाइरहेको थियो । त्यही मौकामा उनले ऊबेलाको व्यापारिक हव रामाघाटमा कवि स्टोर्स नै शुरु गरे । विवाहपछि व्यापारमा होमिएका खड्काले व्यापारिक सफलताको श्रेय आफ्नी श्रीमतीलाई दिन्छन् ।

अस्थायी व्यापार यात्रा
राजमार्गले गति बढाउँदै गर्दा व्यापार पनि विस्तारै सार्नु पर्ने बाध्यता थियो । किनकी रोड निर्माणको काम अघि बढ्दै जाँदा व्यापारलाई पनि समायानुकुल बनाउनु बाध्यता थियो । तीन वर्ष रामाघाटमा गरिएको व्यापार उनले टुनीवगर सारे । व्यापार राम्रो बन्दै गएको थियो । तर बाध्यता कच्ची खनिएको सडकमा वर्षात्मा सामान पु¥याउन निकै चुनौती थियो । सुख्खा सिजनमा टुनीवगरसम्म सामान ढुवानी गर्न सहज भए पनि वर्षात्मा सामान पु¥याउन निकै कठिन थियो । ‘कयौं रात विस्कुट खाएरै सामान टुनीवगर पुरयाउनु पथ्र्यो’ खड्काले भने, ‘घामपानी न भ न े र व्यापारलाई िज व न् त राख्न धेरै चुनौतीको सामना गरेर अघि बढाउनु परेको थियो ।  तर विचलित भने कहिल्यै भइँन ।’ दुईवर्ष टुनीवगरमा व्यापार गरेका खड्काले त्यसपछि राकमकर्णालीमा एकवर्ष व्यापार गरे । सडक सञ्जालको गति अघि बढ्दै जाँदा पछि खिड्कीज्यूलामासमेत व्यापार सारेर एकवर्ष त्यहीँ विताएको खड्का बताउँछन् ।

यसरी भयो सुर्खेत प्रवेश
राजमार्ग खुल्दा व्यापारिक हव रामाघाट, टुनीवगर, राकमकर्णाली र खिड्कीज्यूला थिए । सडक सञ्जाल कालिकोट हुँदै जुम्लातर्फ पुग्दै थियो । ति क्षेत्रमै व्यापार गरिरहँदा दिगो हुने संकेत नपाएपछि खड्काले सुर्खेतमै व्यापार गर्ने निधो गरे । झण्डै एक दशकको व्यापार यात्रा गरिसकेका खड्काले सुर्खेतका कयौं ठूला व्यापारिसँगको सम्वन्ध स्थापित गरिसकेका थिए । त्यसैले उनले सुर्खेतमा केही गर्ने योजना अनुसार सुर्खेत झरे । २०६४ सालमा सुर्खेत फर्किएका खड्काले मार्सल जनरल एण्ड अडर सप्लायर्सको दर्ता गरेर व्यवसाय आरम्भ गरे । व्यापारसँगै उनले वीरेन्द्रनगर २ स्थिति रेडियो नेपाल आर्दश टोलमा गुराँस फोल्टीफर्म सञ्चालन गरिरहेका छन् । अण्डा उत्पादन गर्ने उदेश्यले उनले झण्डै ५१ लाखको लगानीमा फर्म सञ्चालन गरिरहेका जनाए ।

श्रीमतीको सहयोग
व्यापारको सुरुवातदेखि आजसम्म सफल बनाउन उनकी श्रीमती मोतीकला खड्काको ठूलो योगदान छ । ‘व्यापार एक्लै गर्न सकिदो रहिन्छ’ खड्का भन्छन्, ‘एकजना नियमित व्यापार कुर्ने हुनुपर्छ, अर्को आवश्यक सामग्रीको प्रवन्ध गर्ने व्यक्ति भएमात्रै व्यापारलाई दिगो बनाउन सकिन्छ । त्यसैले व्यापारिक यो यात्रामा मेरो श्रीमतीको योगदानले स्थापित भएको हो ।’ व्यापारमा उनकी श्रीमतीले सबै कामको जिम्मेवारी लिएकी छन् । उनको व्यवसायमा प्रत्यक्ष रुपमा २८ जनाले रोजगारी पाएका छन् । दैनिक उनले आफ्ना सवारीमार्फत सुर्खेतबाट बावियाचौर, दैलेखको दक्षिण क्षेत्रका व्यापारिक क्षेत्र, कालिकोट, जुम्ला, मुगु, सल्यानको सल्लीबजार र अछामको विनायक तथा कमल बजारमा खाद्य सामग्री ढुवानी गर्दै आएका छन् ।

र अन्त्यमा,
व्यापारलाई समायानुकुल बनाउन आवश्यक रहेको बताउने खड्का उद्योग सञ्चालन गर्ने योजनामा छन् । उद्योग सञ्चालन गर्न सहज छैन् । तर कच्चा पदार्थ र जनशक्तिको परिपूर्ति सुर्खेतमा भएमा यसलाई पूर्णता दिने तयारीमा रहेको उनको भनाइ छ । ‘व्यापार पनि समय अनुसार सञ्चालन गरेन भने सफल भइँदैन’ खड्का भन्छन्, ‘लक्ष्य भेटाउन एउटै काममा लगाव राखे सफलता कही हरण हुँदैन । एकैपटक सफलता मिल्दैन, तर लक्ष्य चुम्न एउटै काममा जस्ता अवरोह आए पनि सामान गरेर अघि बढ्ने शाहस राख्न जरुरी छ ।’ खड्काले आफ्नै गाउँमा रहेको भैरव मन्दिर तीन लाखमा पुनर्निर्माण गरेको बताउँदै आगामी दिनमा सामाजिक क्षेत्रमा थप काम गर्ने बताउँछन् । (२०७७ बैशाख २६ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

भारत पुगेपछि जन्मभूमिमै संघर्ष गर्ने सोच आयो

YUGAAWHAN NATIONAL DAILY (2077-01-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *